मौद्रिक नीति असार २१ पछि मात्र आउने

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको तेस्रो सातामा मात्र आउने भएको छ । स्थानीय तहको बजेट धमाधम आइरहेको र सोही बजेटको पनि अध्ययन गर्नुपर्ने भएकाले तेस्रो साता धकेलिएको हो । मौद्रिक नीतिको तयारी काम भइरहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए । सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य र मुद्रस्फिती साढे ६ प्रतिशत राख्ने गरी मौद्रिक नीतिका नीति तथा कार्यक्रम आउने छन् ।

कृषि विकास बैंकको आईएस अडिटका लागि सम्झौता

काठमाडौं । कृषि विकास बैंक र डिल्लीबजारको रिआनडा बिज सर्भ प्रा.लिबीच आईएस अडिटका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट सामान्य सेवा विभागका विभागिय प्रमुख दिर्घबहादुर अर्याल र बिज सर्भको तर्फबाट म्यानेजिङ पार्टनर भक्त रिजालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कृषि विकास बैंकको हाल प्रयोगमा रहेको सीबीएस लगायत समग्र सूचना प्रविधिको जांचबुझ हुनेछ । साथै, बैंकको थप सुरक्षाका लागि बैंकले अपनाउनु पर्ने सावधानी र भविष्यमा थप सुरक्षीत एवं गुणस्तरीय सेवा प्रदान गर्नका लागि बैंकले लिनुपर्ने नीतिगत व्यवस्थाको लेखापरिक्षण समेत हुने छ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सुमेरु सिटि अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले अब पुल्चोकको सुमेरु सिटि अस्पतालको उपचार सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक र सिटि अस्पतालबीच साेमबार अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएपछि बैंकका ग्राहकले सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौता पत्रमा बैंककातर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र अस्पतालकोतर्फबाट लेखा प्रमुख बादल सिल्पाकारले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात यस विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले सुमेरु सिटि अस्पतालमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् । साथै, औषधी खरिदमा ८ प्रतिशत छुट पाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।