साढे २ करोड बैंकिङ घोटलामा सामुदायिक लघुवित्तका अध्यक्ष, सञ्चालक र सीईओ पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पक्राउ गरेको छ । अध्यक्ष, सीईओ र सञ्चालकको मिलेमतोमा नियम विपरित निर्णय गराई कर्जा प्रवाह गरी २ करोड ५० लाख रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याएको ठहर गर्दै अनुसन्धान व्युरोले तत्कालिन अध्यक्ष हीरा विश्वकर्मा, सञ्चालक बटुकृष्ण कार्की, चण्डेश्वरी प्रधान र सीईओ स्वयम्भुराम जोशीलाई पक्राउ गरी बैंकिङ कसुर ऐनअन्र्तगत मुद्धा चलाएको छ । उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिएर बैंकिङ कसुर तथा सजाय ऐन बमोजिम अनुसन्धान भइरहेको व्युरोले जनाएको छ । तत्कालिन सीईओ जोशीले आफनै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति विना मिलेमतोमा गुडविलको भनी साढे २ करोड रुपैया कर्जा प्रवाह गरेको पाइएपछि पक्राउ गरेको व्युरोले जनाएको छ । संस्थाको सीईओ जोशीले नेपाल राष्ट्र बैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षकमा आफु खुसी ७ लाख ४४ हजार रुपैयाँ भन्दा बढि भुक्तानी लिएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । यस्तै हद भन्दा बढी संस्थाको सेयर धारण गरेका जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलिमेतोमा संचालक समितीले प्रमुख कार्यकारीको पदमा नियुक्ति गरी अनियमिताको श्रृखला र संस्थाले आर्थिक कारोबार गर्दा अपारदर्शी ढंगले कारोबार शुरु गरेको पाइएको छ ।
महालक्ष्मी विकास बैंकद्धारा सिद्धार्थ र नेपाल इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबार(आज) थप दुई बीमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्देश्यले सिद्धार्थ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीसँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवार क्षेत्रीले एक समारोहबीच हस्ताक्षर गरेका छन् । यस्तै प्रकारको सम्झौतामा सोही दिन बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीहरुको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् । हाल बैंकले ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ भने बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सनराइज बैंक र पशुपति क्षेत्र विकास कोषबीच काउण्टर संचालन गर्ने सम्झौता
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना सेवा विस्तार गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषसंग पर्यटक प्रवेश काउण्टर संचालन सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पशुपति क्षेत्र विकास कोषका तर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले हस्ताक्षर गरेका छन् । सम्झौतासंगैै विभिन्न मुलुकहरुबाट पाशुपत क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकहरुलाई क्रमशः तिलगंगा पर्यटक काउण्टर, वत्सलेश्वरी पर्यटक काउण्टर, महास्नान घर अगाडी रहेको पर्यटक काउण्टर र गुहेश्वरीमा अवस्थित पर्यटक काउण्टर समेत गरी ४ स्थानका पर्यटक प्रवेशद्धारमा पर्यटक प्रवेश काउण्टर राखी टिकट बिक्री गर्नका लागि स्थानहरु उपलब्ध गराईने बैंकले जनाएको छ । हाल बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।