प्राइम लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाा रहेको छ । त्यस्तै, कम्पनीको जिवन बीमा कोष ६ अर्ब २० करोड रुपैयाँ र कुल प्रिमियम ११ अर्ब ७ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्सले देशभरका १२५ स्थानबाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

सनराइज बैंकले शुरु गर्यो सुरक्षित अनलाइन कारोबार, सेवा शुल्क नलाग्ने

काठमाडौं । सनराइज बैंकले भिसासँग सहकार्य गर्दै भेरिफाइड बाई भिसा(भीबीभी) सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकलाई उच्च सेवा प्रदान गर्ने तथा विद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा उक्त सेवाको शुरुवात गरेको हो । भीबीभी सेवा मार्फत भिसा डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने छ । यस सेवामार्फत ग्राहकले सनराइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी (अनलाईन पर्चेज/इकमर्श) गर्दा बैंकमा दर्ता गरिएको मोबाइल तथा ईमेलमा वान टाइम पासवर्ड(ओटीपी) प्राप्त गर्नेछन् । त्यसपछि सोहि ओटीपी मार्फत मात्र कारोबार सफल हुनेछ जसबाट कारोबार गर्ने व्यक्ति वैध हुन् भन्ने पुष्टि हुने बैंकले जनाएको छ । यस बैंकको कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा भीबीभी सेवा संचालनका लागि ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै, यस सेवा संचालन वापत कुनै पनि सेवा शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ । हाल बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

ओम डेभलपमेन्ट बैंक र ओम हस्पिटलबीच स्वास्थ सेवा शुल्कमा छुट दिने सम्झौता

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंकका कर्मचारी तथा कर्मचारीका परिवारहरु, खातावालाहरु तथा सेयरधनीहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ सेवा शुल्कमा छुट पाउने भएका छन् । अस्पतालले मेडिकल शुल्क, अपरेशन शुल्क, ल्याव शुल्क, बेड शुल्क, प्याथालोजि शुल्क, भिडियो एक्स्रे शुल्क, सिटी स्क्यान शुल्क, एक्स्रे शुल्क, ईसिजी लगायत ईको जाँच शुल्क, डेन्टल उपचार शुल्क तथा अन्य विभिन्न स्वास्थ सेवा शुल्कमा छुट दिने भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र अस्पतालको तर्फबाट अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा अस्पतालका अध्यक्ष डा.भोला रिजालको उपस्थिती थियो । सम्झौतापछि बैंकका कर्मचारी, ग्राहक तथा सेयरधनीहरुले स्वास्थ शुल्कमा छुट पाई लाभान्वित हुने बैंकको विश्वास छ ।