प्राथमिकता क्षेत्रमा वाणिज्य बैंकको ४८८ अर्ब लगानी, कुल कर्जाको २३.६ प्रतिशत मात्र
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्राथमिक क्षेत्रमा २३.६ प्रतिशत मात्र लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा न्युनतम २५ प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेकोमा अझै १.४ प्रतिशत कम देखिएको हो । गत जेठसम्म बैंक तथा वित्तीय संस्थाले ऊर्जा, कृषि, पर्यटन र उद्योगलगायत क्षेत्रमा ४ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । चालु आव २०७४/७५ को मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले असार मसान्तसम्म प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्नुपर्र्नेे व्यवस्था गरेको छ । यस अन्तर्गत कृषि क्षेत्रमा १०, जलविद्युतमा ५, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी ५ प्रतिशत अन्य प्राथमिकता प्राप्त क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुले आफ्नो कर्जा लगानीको न्यूनतम ५, विकास बैंकहरुले ४.५ र वित्त कम्पनीहरुले ४ प्रतिशत अनिवार्य रुपमा विपन्न वर्ग कर्जा लगानी गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अन्तर्गत २०७५ जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल कर्जाको ५.२ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । त्यसैगरी, विकास बैंकहरुले ८.० प्रतिशत र वित्त कम्पनीहरुले ५.० प्रतिशत विपन्न वर्गमा लगानी गरेका छन् । समग्रमा बैंक तथा वित्तीय संस्थाहरुको विपन्न वर्गमा १ खर्ब २९ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । उत्पादनमूलक क्षेत्रहरुमा कर्जा विस्तार अभिप्रेरित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलियतपूूर्ण पुनर्कर्जाको व्यवस्थाअनुसार बुधबारसम्म साधारण पुनर्कर्जा १० अर्ब ४९ करोड र निर्यात पुनर्कर्जा ४४ करोड गरी १० अर्ब ९३ करोड रुपैयाँ पुनर्कजा उपयोग भएको छ । भूकम्प पीडितहरुको आवासीय घर निर्माण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई शुन्य ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले यस प्रयोजनको लागि लिएको पुनर्कर्जा भूकम्प पीडितहरुलाई बढीमा २ प्रतिशत ब्याजमा उपलब्ध गराउनुुपर्ने व्यवस्था छ । बुधबारसम्म १ अर्ब ७९ करोड रुपैयाँ स्वीकृत भइसकेको छ । यसबाट १ हजार ११ जना लाभान्वित भएका छन् । यस्तै सरकारले ५ प्रतिशत ब्याज अनुुदान व्यवस्था गरेको व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा कार्यक्रमबाट ७ हजार ७०४ जनाले यस्तो कर्जा उपयोग गरेका छन् । यस अन्तर्गत ८ अर्ब २३ करोड ६३ लाख कर्जा लगानीमा भएको छ र ४७ करोड ४५ लाख ब्याज अनुदान उपलब्ध गराइएको केन्द्रीय बैंकले जनाएको छ ।
सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि आज उनकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गरेका हुन्। बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गरेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताएका थिए । उनले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको उल्लेख गरे। अध्यक्ष दाहालले भने, “हामीसँग तीन वटा (स्थानीय, प्रादेशिक र संघीय) सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् ।” उनले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत् परियोजना र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताए। सो अवसरमा देशीय निर्देशक जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरे। उनले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउनुहुँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताए। जर्वोसले भने, “हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौँ र सरकारको मातहत बसेर काम गर्छौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।” नेपालको विकास उच्च प्राथमिकतामा रहेको भन्दै उनले कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
एनएमबी बैंकको एफपीओ निष्कासन आजसम्म मात्र, शुक्रबारदेखि संस्थापक लगानीकर्तालाई खुला
काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) सर्वसाधारणलाई आज बिहीबारसम्म मात्र खुला हुने भएको छ । गत जेठ ३० गतेदेखि निष्कासन भएको एफपीओको आज अन्तिम दिन भएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । निर्धारित समयमा पनि बिक्री नभएको एफपीओ भोली शुक्रबारदेखि सोमबारसम्मका लागि संस्थापक सञ्चालक तथा तिनका परिवारका लागि खुला गरिने कोषले जानकारी दिएको छ । संस्थापकले पनि खरिद नगरेको एफपीओ आधादर्जन प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले सकार्ने छन् । बुधबारसम्म ७७ हजार आवेदकबाट २ अर्ब ७७ करोड रुपैयाँ बरारबको एफपीओका लागि आवेदन परेको कोषले जानकारी दिएको छ । बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।एफपीओ खरिद गर्ने लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको मंगलबार बसेको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्टपारेको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब १४ करोड ४ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने छ ।