एनएमबी बैंकको एफपीओ धेरै किन्नेमा सिद्धार्थ म्युचअल फण्ड, २ लाख १० हजार कित्तालाई आवेदन
काठमाडौं । सिद्धार्थ म्युचअल फण्डले एनएमबी बैंकको सबै भन्दा बढी थप निष्कासन (एफपीओ) खरिदका लागि आवेदन दिएका छ । अन्तिम दिन बिहीबार सिद्धार्थले २ लाख १० हजार कित्ता एफपीओ खरिदका लागि आवेदन दिएको छ । बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि सिद्धार्थले लोभिएर एफपीओ खरिद गरेको हो । एफपीओमा सिद्धार्थले ६ करोड ९९ लाख ३० हजार रुपैयाँ लगानी गरेको छ । यस्तै ग्लोबल आईएमई समृद्धि फण्डले १ लाख ५० हजार कित्ता एफपीओका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । संस्थागत लगानीकर्ताले १ लाख कित्ताका हारहारीमा आवेदन दिएका छन् । बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको भोलिपल्ट संस्थागत र व्यक्तिगत रुपैयाँ आवेदन पर्दा सबै खरिद भएको कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । पुरै खरिद भएपछि आवेदन लिन बन्द गरिएको उनले जानकारी दिए । कार्कीकाअनुसार बिहीबार साँझ ८ बजेसम्म ३ अर्ब ९१ करोड ६७ लाख ७५ हजार ९७० रुपैयाँका लागि आवेदन परेको थियो । बैंकको १ करोड १७ लाख ६२ हजार १९० कित्ता एफपीओ बिक्री भएको कार्कीले जानकारी दिए । माग भन्दा बढी आवेदन परेपनिे केही आवेदन अस्विकृत हुने भएकाले तथ्याँक घट्न सक्ने संभावना छ । बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । बुधबारसम्म ७७ हजार आवेदकबाट २ अर्ब ७७ करोड रुपैयाँ बरारबको एफपीओका लागि आवेदन परेको थियो । बैंकले एफपीओमा लगानी गर्नेलाई पनि १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि यसको असर एफपीओमा परेको हो । बैंकको मंगलबार बसेको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने छ ।
गण्डकी विकास बैंकका ग्राहकहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट छुट पाउने
काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलको उपचार र्खचमा छुट पाउने भएका छन् । बिहीबार गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच ग्राहकहरुलाई अस्पतालको विभिन्न उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका एटीएम होल्डर ग्राहकहरुले भ्यालिड एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।
नबिल बैंकले ६०० जना कर्मचारीलाई तालिम दिने
काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्रार्ष्ट्रिय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने भएको छ । बैंकले कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एनबीआईद्धारा संचालित उक्त कोर्समा सो मात्राको कर्मचारीहरुलाई तालिम दिन लागेको हो । नबिल बैंक मौद्रिक नीति २०७/७६मा उल्लिखित बैंक कर्मचारी तालिम सम्बन्धि प्रावधान कार्यान्वयन गर्ने प्रथम बैंक भएको छ । बैंकले बुधबार जारी भएको मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरुलाई तालिम दिन लागेको हो । नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई)बीच बिहीबार सो तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्तारक्षर गरेका छन् ।