जनता बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्ना ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले लाइफ इन्स्युरेन्ससँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालबीच उपचार सेवामा छुट दिन सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिलको दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हिमालयन बैंकले लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ । सो सम्बन्धि सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।