एफपीओबाट उठाएको ४९५ करोड रुपैंयाँ यसरी लगानी गर्दैछ नेपाल बैंक, कुन क्षेत्रमा कति ?
काठमाडौं । नेपाल बैंकले थप निष्कासन (एफपीओ) बिक्रीबाट संकलन हुने रकम कर्जा र शाखा विस्तारमा लगानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओबाट प्राप्त भएको रकम सबै लगानीमा जाने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । बैंकले एफपीओमा भएको लगानीबाट थप आम्दानी गर्ने उनले जानकारी दिए । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । सो मध्ये ८५ प्रतिशत अर्थात ४ अर्ब २० करोड ८९ रुपैयाँ कर्जा तथा सापटीमा लगानी गर्ने भएको छ । यस्तै १० प्रतिशत अर्थात ४९ करोड ५१ लाख लगानी, ३ प्रतिशत शाखा विस्तार अर्थात १४ करोड ८५ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । अन्य कामका लागि ९ करोड ९० लाख अन्य क्षेत्रमा खर्च गर्ने बैंकले जनाएको छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आउदो शुक्रबार अर्थात असार १५ गतेदेखि एफपीओ निष्कासन गर्दैछ ।
सेञ्चुरी कमर्सियल बैंकले घटायो ब्याजदर, असार ८ गतेदेखि लागु हुने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पनि आफ्नो ब्याजदर घटाएको छ । नेपाल बैंकर्स संघले बिहीबार मुद्धति निक्षेपमा ११ प्रतिशत र साधारण बचतमा ७ प्रतिशत भन्दा बढि ब्याज नलिने सहमति गरेपछि बैंकले ब्याजदरमा परिवर्तन गरेको हो । बैंकले असार ८ गतेदेखि लागु हुने गरि सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत बनाएको छ । साथै, संस्थागत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी संशोधन गरेको बैंकले जनाएको छ ।
अनिल शाह नविल बैंकको सीईओमा बढुवा
काठमाडौं । नविल बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बढुवा गरेको छ । ६ महिनादेखि डेपुटी सीईओका रुपमा जिम्मेवारी सम्हाल्दै आएका शाहलाई नविल बैंक सञ्चालक समितिले सीईओमा बढुवा गरेको हो । मेगा बैंकमा २ कार्यकाल पुरा गरेर सेञ्चुर कमर्सियल बैंकको सीईओ नियुक्त भएका शाहलाईबीचमै नविलले सीईओ नियुक्त गरेको थियो । सेञ्चुरीलाई धोका दिएर नविल जाने निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले कुलिङ पिरियडको व्यवस्था गरेर शाहलाई रोकेको थियो । राष्ट्र बैंकले एउटा बैंकको प्रमुख कार्यकारी अधिकृतले अर्काे बैंकमा जानु अघि ६ महिना आराम गर्नुपर्ने व्यवस्था ल्याएको थियो । केन्द्रिय बैंकले सीईओ बन्न अंकुश लगाएपछि नविलले शाहलाई डेपुटी सीईओ नियुक्त गरेको थियो । ६ महिनामा डेपुटी सीईओको भूमिकामा नविलको व्यवस्थापन सम्हालेका शाहले आफु नविल बैंकको सीईओमा बढुवा भएको र शुक्रबारदेखि नै सीईओका कार्यभार सम्हालेको शाहले जानकारी दिए । उनी मेगा बैंक जानु अघि पनि नविलकै सीईओ थिए ।