एनएमबी बैंकको एफपीओमा ४२ संस्थागत लगानीकर्ताबाट १८ करोडको आवेदन, संचय कोषले किन्नला त ?

काठमाडौं । संस्थागत लगानीकर्ताले एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खरिदका लागि कम दरखास्त दिएका छन् ।  हालसम्म बीमा कम्पनी, म्युचअल फण्ड र इन्भेष्टमेन्ट गरी ४२ कम्पनीले १८ करोड रुपैयाँ बराबरको एफपीओ खरिदका लागि आवेदन दिएका हुन् । हालसम्म नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ खरिद गर्न आवेदन दिएको बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । उनकाअनुसार सानिमा म्युचअल फण्ड, एनआईबीएल म्युचअल फण्ड, लक्ष्मी म्युचअल फण्डले समेत एफपीओ किन्न आवेदन दिएका छन् । बीमा कम्पनी र म्युचअल फण्डले न्युनतम २५ हजारदेखि १ लाख कित्तासम्मका लागि आवेदन दिएको कार्कीले बताए । अझै केही बीमा कम्पनीले एफपीओ खरिद गर्ने उनले जानकारी दिए । कतिपयको सञ्चालक समितिबाट पारित गर्नुपर्ने भएकाले ढिलाइ भएको कार्कीको भनाई छ । यस्तै कर्मचारी संचय कोषको सञ्चालक समिति बैठक हुन बाँकी रहेको उनले सुनाए । यता कोषका प्रशासक तुल्सी गौतमले बैंकको एफपीओ खरिद गर्ने विषयमा छलफल नभएको बताए । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको छ । आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । खुलेको सातौ दिन मंगलबारसम्म २ अर्ब २१ करोड रुपैयाँको आवेदन परेको छ । ५५ हजार ५०० आवेदकले आवेदकले ६६ लाख ३६ हजार ६३६ कित्तालाई आवेदन परेको कार्कीले जाकारी दिए । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ ।

सनराइज बैंकले शुरु गर्यो मिसकल बैकिङ्ग सेवा, स्मार्टफोन नभए पनि लिन सकिने

काठमाडौं । सनराइज बैंक लिमिटेडले मिसकल बैकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखि उक्त सेवा शुरु गरेको हो । यस सेवा अन्तर्गत ग्राहकले आफुलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिनको लागि बैंकले तोकेका निम्न नम्वरहरुमा मिसकल गरी प्राप्त गर्न सकिनेछ । जसमा ९८५११४७२७३ नं. मा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दात(ब्यालेन्स)को जानकारी, ९८५१११७२७२नं. मा मिसकल गरी १०० रुपैयाँ बराबरको मोवाईलमा रिचार्ज (टपअप) गर्ने सुविधा, ९८५१११७२७५नं. मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी(मिनि स्टेटमेन्ट) र ९८५११८७२७४ नं. मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिने बैंकले जनाएको छ । उक्त सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग स्मार्ट फोन नभएता पनि उक्त सेवा लिन सकिने छ ।

देव विकास बैंकको साधारणसभा असार २७ मा, १७ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । देव विकास बैंकको ११ औं वार्षिक साधारणसभा असार २७ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.३१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । बैंकले २४ करोड ७० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने जानकारी दिएको छ । यस्तै कर प्रयोजनका लागि १ करोड ३० लाख रुपैयाँ लाभांश पनि स्वीकृत गर्ने छ । बैंक तथा वित्तीय संस्थासंग मर्जर र एक्विजिसनमा जानका लागि उपर्युत बैंक तथा वित्तीय संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि साधारणसभाले स्वीकृति प्रदान गर्ने छ ।