प्रभु बैंकको २२ लाख कित्ता हकप्रदको बोलपत्र भोलीदेखि खुला

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर लिलामी सोमबारदेखि खुला हुने भएको छ । निष्कासन गरिएको मध्ये आवेदन नपरेको २२ लाख ३२ हजार २६५ कित्ता लिलामी हुन लागेको हो । शिलवन्दी बोलपत्र असार १८ गते बन्द हुने बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । बैंकको संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ र सर्वसाधारणको ६ लाख ७१ हजार ०६२ कित्तालाई आवेदन नपरेपछि लिलामी गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन गत माघ १० देखि फागुन २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । बोलपत्र आवेदन फारम प्रभु बैंकका शाखा र प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिने छ । प्रतिकित्ता १०० रुपैयाँ बढी कबोल गर्नेले सेयर खरिद गर्न पाउने छन् । न्युनतम १ हजार कित्ता र अधिकतम जति पनि लिन सकिने छ ।  

मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद सेयर निष्कासन असार २७ देखि

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले असार २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कास गर्न लागेको हो । हकप्रद सेयर निष्कासन बन्द साउन २९ गते हुने संस्थाले जनाएको छ । जेठ १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले हकप्रद भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि संस्थाको चुक्तापुँजी बढेर ९ करोड रुपैयाँ हुने छ ।

सिन्धु विकास बैंकको साधारणसभा असार ३१ मा, २ करोड ८० लाखको बोनस सेयर स्वीकृत गर्ने

काठमाडौं । सिन्धु विकास बैंकको ८ औं वार्षिक साधारणसभा असार ३१ गते धुलिखेलमा बस्ने भएको छ । सभामा बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर स्वीकृति गर्नेछ । बैंकले लगानीकर्तालाई २ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यसैगरी बैंकले चितवन र मकवानपुर जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । बीमा अभिकर्ताको काम पनि सुरु गर्ने, उपर्युत बैंक तथा वित्तीय संस्थासंग मर्जर र एक्विजिसनमा जानका लागि चल अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याँकन (डीडीए) गर्नका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।