नबिल बैंक र ग्रोथ अड्भाइजर्सबीच साझेदारी, ८४ करोड अनुदान दिने
काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेश - ग्रोथ अड्भाइजर्स (एनआइबी-जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ । उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रुपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ । नबिल बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीहरुको मनोबल बढाउन सहयोग पुग्ने बताए । 'यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ', उनले भने, 'परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।' एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । 'यसप्रकारको सहकार्य सोही प्रकृत्तिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यसप्रकारका ढाँचा अबलम्बन गर्न सक्छ', उनले भने । साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआइबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैंकको भनाइ छ । एनआइबी–जिए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभलपमेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.४६२७४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मंसिर १० गते बसेको बैंकको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १३ पैसा र बिक्रीदर २० रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०० पैसा र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०८ पैसा र बिक्रीदर २२ रुपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुयैयाँ २३ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।