१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं । केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो। यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।  बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पाेरेशनलाइ बैंकले छनौट गरेको हो ।  मुद्रण तथा आपूर्ति खर्च दिनुपर्नेछ । राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ ।   

नबिल बैंकलाई भिसा इन्टरनेशनलका तीन अवार्ड

काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीनवटा विधामा अवार्ड जितेको छ ।  बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ  र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो ।  काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरियो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ ।  अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) आदर्श बजगाईंले उक्त उपलब्धिले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए ।  उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए ।  भिसा इन्टरनेशनल कार्डप्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।   नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।  विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक साफा अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४’ बाट सम्मानित भएको छ ।  बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ बाट सम्मानित भएको हो ।  साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो ।  बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरू तथा सरोकारवालाहरूलाई बैंकको विवरणहरू उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।  साफाले पाकिस्तानको इस्लामाबादमा आयोजित एक समारोहमा उक्त अवार्ड बैंकलाई प्रदान गरेको छ । विकास बैंकले गत वर्ष समेत साफा अवार्ड जित्न सफल भएको थियो ।  साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघार वटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहर" समावेश छन् ।  साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरूको मूल्याङ्कन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।  बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४’ मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको थियो ।