काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा उपचार गराउने नेपाली नागरिकलाई वार्षिक ३० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि यस्तो सुविधा वार्षिक १५ हजार डलरसम्म मात्र थियो ।
राष्ट्र बैंकले विदेशस्थित अस्पतालमा उपचार गराउने तथा आवश्यक औषधि र उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि तोकिएका कागजात र प्रक्रिया पूरा गरेपछि बैंक तथा वित्तीय संस्थाले वार्षिक ३० हजार डलरसम्म सटही सुविधा दिन सक्ने व्यवस्था गरेको हो ।
त्यस्तै, दूरसञ्चार सेवा प्रदायक नेपाली कम्पनीले विदेशी सेवा प्रदायकसँग सम्झौता गरी उपग्रह सेवा भाडामा लिँदा वा प्रयोग गर्दा वार्षिक ५ लाख डलरसम्मको भाडा रकम बैंक तथा वित्तीय संस्थाले आफैं भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो भुक्तानीको सीमा १ लाख डलर थियो ।
नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत भएको वा सटही सिफारिस प्राप्त भएको अवस्थामा वाणिज्य बैंकले प्रतिपटक ३० हजार डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सक्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो सीमा १५ हजार डलर थियो ।
३० हजार डलरभन्दा बढीको प्रतिपटक भुक्तानीका लागि भने सम्बन्धित नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्नेछ । नियामक निकाय नभएको वा त्यस्तो निकायबाट सम्झौता वा सहमति स्वीकृत हुन नसकेको अवस्थामा ८ हजार डलरभन्दा बढीको भुक्तानीका लागि पनि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, सेवा आयातका क्रममा प्रतिपटक ३० हजार डलरभन्दा बढी अग्रिम भुक्तानी गर्नुपर्ने भए विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्था गरिएको छ ।
हवाई जहाजका इन्जिन वा पार्टपूर्जा विदेशमा लगी मर्मत गरी ल्याउने प्रयोजनका लागि आवश्यक कागजातका आधारमा बैंक तथा वित्तीय संस्थामार्फत ५ लाख डलरसम्म अग्रिम भुक्तानी पठाउन सकिने व्यवस्था गरिएको छ ।
यसैगरी, बैंकहरूले निर्यातबाट प्राप्त रकमको सीमाभित्र रहेर तेस्रो मुलुकमा ३० हजार डलर र भारतमा ६० लाख भारतीय रुपैयाँसम्म आयातका लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्नेछ । यसअघि तेस्रो मुलुकका लागि यस्तो सीमा १२ हजार डलर र भारतका लागि ३० लाख भारतीय रुपैयाँ थियो ।
विदेशमा पर्यटकीय सेवा उपलब्ध गराउने इजाजतपत्रप्राप्त ट्राभल तथा टुर एजेन्सीले विदेशस्थित एजेन्टलाई सेवा शुल्क भुक्तानी गर्दा नेपाल वा विदेशबाट सो प्रयोजनका लागि प्राप्त विदेशी मुद्राको सीमाभन्दा बढी रकम पठाउन नपाउने व्यवस्था गरिएको छ । अन्य इजाजतपत्रप्राप्त एजेन्सीबाट सेवा खरिद गरी ग्राहकलाई उपलब्ध गराएको अवस्थामा पनि विदेशी मुद्रा प्राप्त भएको प्रमाण र विदेशी मुद्राको विजकसहित प्राप्त रकमको सीमाभित्र रहेर मात्र भुक्तानी गर्नुपर्नेछ ।
राष्ट्र बैंकले सूचना प्रविधि, व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन र ऊर्जा क्षेत्रमा विदेशी ऋण भित्र्याउने नेपाली फर्म तथा कम्पनीका लागि ‘क’ वर्गका बैंकले विदेशी मुद्रामा बैंक ग्यारेन्टी वा प्रत्याभूति जारी गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो ग्यारेन्टी वा प्रत्याभूति ऋणको बक्यौता साँवा र ऋणको अवधिसम्म मात्र कायम रहनेछ ।
त्यस्तै, कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेर आर्जन गरेको विदेशी मुद्रा पनि कार्डमा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । कार्डमा मौज्दात १० हजार डलरभन्दा बढी भए बढी भएको रकम अनिवार्य रूपमा सम्बन्धित व्यक्तिको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ ।
सेवा निर्यातबाट विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा विदेशी मुद्रा सटहीको वार्षिक सीमा आर्जन गरेको रकम र ५०० डलरको योगबराबर हुने व्यवस्था गरिएको छ । तर, यस्तो सुविधा वार्षिक १० हजार डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी हुने छैन ।