पर्यटन क्षेत्रमा डिजिटल क्रान्ति : एनएमबि बैंकको स्मार्टफोन पीओएस सेवा सुरु

काठमाडौं । एनएमबि बैंकले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग हातेमालो गर्दै पर्यटन क्षेत्रमा अत्याधुनिक डिजिटल भुक्तानी प्रविधि ‘एनएमबि सफ्ट पीओएस’ विस्तार गर्न सम्झौता गरेको छ । अब पर्यटन व्यवसायीहरूले कुनै भौतिक पीओएस मेसिनबिना नै आफ्नै एनएफसी( इनेबल्ड एन्ड्रोइड स्मार्टफोनमार्फत कार्ड पेमेन्ट स्वीकार गर्न सक्नेछन् ।  नयाँ ‘सफ्ट पी‌ओएस’ प्रविधिले होटल, ट्राभल एजेन्सी, एयरलाइन्सदेखि पर्यटनसम्बन्धी अन्य सेवाहरूमा द्रुत, सुरक्षित र झन्झटमुक्त भुक्तानी प्रणाली उपलब्ध गराउने बैंकले जनाएको छ । पाटा नेपाल च्याप्टर पर्यटन क्षेत्रका होटल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत सरोकारवालाहरूको प्रमुख प्रतिनिधि संस्था हो । यस सहकार्यले पाटाका सदस्यहरूलाई प्रविधिमैत्री बनाउने, डिजिटल कारोबार बढाउने र ग्राहक–पर्यटकलाई अझ सहज अनुभव दिने लक्ष्य लिएको छ । यसले भुक्तानी प्रक्रिया छिटो र सुरक्षित बनाउने, पर्यटकलाई झन्झटबिनाको डिजिटल पेमेन्ट सुविधा दिने, सम्पूर्ण क्षेत्रमा डिजिटल भुक्तानीको स्वीकार्यता बढाउने जनाइएको छ । एनएमबि बैंकका अनुसार सफ्ट पीओएस प्रविधिको विस्तारले देशभर डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँच र पर्यटन क्षेत्रको आधुनिकिकरणमा महत्त्वपूर्ण टेवा पुग्नेछ । हाल एनएमबि बैंकले २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

सिटिजन्स बैंकको ‘डीजीबैंक’ डिजिटल प्लेटफर्म सुरु, ५० वटा सेवा एउटै च्यानलमा

काठमाडौं । सिटिजन्स बैंकले  डिजिटल बैंकिङ सेवालाई अझ एकीकृत र सहज बनाउन 'सिटिजन्स डीजीबैंक' नामक नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको  छ । बैंकका अनुसार यस प्लेटफर्मको मुख्य उद्देश्य छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रीत गरी ग्राहकलाई वेब र मोबाइल मार्फत छिटो र सरल पहुँच उपलब्ध गराउनु हो । यसले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । पहिलो चरणमा, प्लेटफर्ममा बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु उपलब्ध छन् । यसमा अनलाइन खाता खोल्ने, प्यान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस सर्टिफिकेट माग, साथै डिम्याट, मोबाइल बैंकिङ र कार्ड सम्बन्धी सेवा समावेश छन् । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै ग्राहकलाई नवीनतम सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । भविष्यमा थप सेवाहरू समावेश गरी यस प्लेटफर्मलाई अझ सशक्त बनाउने प्रतिबद्धता बैंकले जनाएको छ । यसअघि बैंकले नवयुवालाई लक्षित गर्दै 'सिटिजन्स जेनजी सेभिङ अकाउन्ट' पनि सञ्चालनमा ल्याएको थियो ।

९ प्रतिशत लाभांश वितरण गर्ने नेपाल एसबिआई बैंकको घोषणा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो आवको मुनाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।