काठमाडौं । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिला उद्यमीको आर्थिक सशक्तीकरणका लागि साझेदारी भएको छ ।
दुवै संस्थाबीच महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास र व्यावसायिक उत्थानशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
साझेदारीअन्तर्गत महिला उद्यमीलाई जिम्मेवार वित्तमा पहुँच बढाउने योजना छ । त्यस्तै, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान र बजारका अवसरमा पहुँच विस्तारमा पनि जोड दिइनेछ ।
महिला नेतृत्वका व्यवसायलाई मूल्य शृङ्खलासँग जोड्ने कामसमेत गरिने बैंकले जनाएको छ । उनीहरूले भोग्दै आएका वित्तीय चुनौती समाधानका लागि नयाँ वित्तीय उपायको खोजी पनि गरिनेछ ।
यसअन्तर्गत नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा जोखिम साझेदारीका अन्य उपायको सम्भावना खोजिनेछ ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले साझेदारीले महिला उद्यमीको वित्त, बजार र ज्ञानमा पहुँच विस्तार गर्ने बताए ।
महिला उद्यमी महासंघको सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङ क्षमतालाई जोडेर महिला नेतृत्वका व्यवसायलाई वित्तीय रूपमा सक्षम र उत्थानशील बनाउने लक्ष्य रहेको उनले बताए ।
साझेदारीअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन र सरोकारवालासँगको सहकार्यका लागि आवश्यक संयन्त्रसमेत विकास गरिनेछ ।
उद्यम वृद्धि, वित्तमा पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना र दिगो व्यवसायिक अभ्यासलाई सहकार्यका प्रमुख क्षेत्र बनाइएको छ ।
कुमारी बैंकले महिला उद्यमी महासंघसँगको सहकार्यबाट हरित उद्यमको विकास, मूल्य शृङ्खला सुदृढीकरण, रोजगारी विस्तार तथा जलवायुमैत्री अर्थतन्त्र निर्माणमा योगदान पुग्ने अपेक्षा गरेको छ ।
बैंकले देशभर फैलिएको आफ्नो सञ्जालमार्फत यस्ता कार्यक्रमलाई विस्तार गर्ने जनाएको छ । हाल कुमारी बैंकका २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ र १ हजार २०० भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन् ।
बैंकले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र अन्तर्राष्ट्रिय कार्डलगायत आधुनिक सेवामार्फत वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ ।