प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि राहत सामग्री वितरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि थप राहत सामग्री उपलब्ध गराएको छ ।

बैंकले बिहीबार (भदौ २५) नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत बाढीपीडितलाई वितरण गर्ने गरी १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग हस्तान्तरण गरेको हो ।

राहत सामग्री प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका हुन् । ती सामग्री बाढीका कारण घरवारविहीन भएका तथा प्रभावित परिवारलाई वितरण गरिने बैंकले जनाएको छ ।

यसअघि पनि प्रभु बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

बैंकले विज्ञप्तिमार्फत भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना जनाएको छ ।

साथै, सम्पर्कविहीन व्यक्तिको शीघ्र उद्धार र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।

Share News