काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विवरणमा नाफा बढिरहेको छ । सञ्चालन नाफा बढेको छ, खुद ब्याज आम्दानी उक्लिएको छ र प्रतिसेयर आम्दानीसमेत झण्डै तीन गुणा पुगेको छ । तर, सेयरधनीलाई बाँड्न मिल्ने नाफाको तस्वीर भने त्यति उज्यालो छैन । एक वर्ष नाफामा देखिएको वितरणयोग्य नाफा अर्को वर्षको वित्तीय विवरणमा ऋणात्मक देखिन्छ । बैंकको वित्तीय विवरणमा देखिएको यही अन्तरले नाफा र वितरणयोग्य नाफाबीचको फरक मात्रै देखाउँदैन, बैंकले विगतमा बोकेको दायित्व र नियामकीय समायोजनको भार पनि उजागर गर्छ ।
आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक रिपोर्टमा राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा ५८ करोड २१ लाख ९६ हजार रुपैयाँ थियो । तर, आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक रिपोर्टमा आर्थिक वर्ष २०८०/८१ कै वितरणयोग्य नाफा १ अर्ब २२ करोड २१ लाख ५३ हजार रुपैयाँ ऋणात्मक देखियो ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक रिपोर्टमा वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ देखिएको थियो । तर, आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक रिपोर्टमा आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफा ८५ करोड २ लाख ७३ हजार रुपैयाँ ऋणात्मक देखियो ।
पहिलो नजरमा हेर्दा यो तथ्यांक असामान्य लाग्न सक्छ– बैंकले नाफा कमाइरहेको छ, तर त्यही नाफाबाट लाभांश बाँड्न मिल्ने रकम भने ऋणात्मक भइरहेको छ । बैंकका एक उच्च अधिकारीका अनुसार अपरिष्कृत वित्तीय विवरणपछि हुने अडिट, कर्जाको पुनर्वर्गीकरण, थप प्रोभिजन तथा विभिन्न नियामकीय समायोजनले वितरणयोग्य नाफाको तस्वीर बदलिने गरेको हो ।
बैंकका ती अधिकारीका अनुसार चौथो त्रैमासिकमा सार्वजनिक गरिने वित्तीय विवरण अपरिष्कृत हुन्छ । त्यसपछि अडिटका क्रममा केही कर्जाको वर्गीकरण घटाउनुपर्ने हुन सक्छ। नेपाल राष्ट्र बैंकले पनि जोखिमअनुसार थप प्रोभिजन राख्न निर्देशन दिन सक्छ । ‘कर्जाको जोखिम बढेपछि प्रोभिजन बढ्छ । प्रोभिजन बढेपछि नाफा घट्छ र नाफा घटेपछि वितरणयोग्य नाफा पनि घट्छ,’ उनले भने, ‘अपरिष्कृत रिपोर्टपछि अडिट गर्दा अडिटर र राष्ट्र बैंकले केही कर्जामा डाउन गर्नु र थप प्रोभिजन गर्न भनेर निर्देशन दिएको हुन्छ । सो प्रोभिजनिङ गर्दा बैंकको वितरणयोग्य नाफा पनि घाटामा हुन पुगेको हो ।’
अर्थात्, बैंकको नियमित कारोबारबाट नाफा भइरहेको अवस्थामा पनि अडिटपछि थप दायित्व सिर्जना हुँदा सेयरधनीलाई बाँड्न मिल्ने रकम घट्न सक्ने उनले बताए । तर, बैंकको वितरणयोग्य नाफामा ठूलो दबाब सिर्जना गर्ने अर्को कारण भने विगतमा छुट्याउन नसकिएको कर्मचारी पेन्सन दायित्व रहेको उनको भनाइ छ ।
बैंकका अनुसार कर्मचारीले सेवा गरिरहेको समयमा नै भविष्यमा तिर्नुपर्ने पेन्सन खर्चका लागि व्यवस्था गर्नुपर्ने थियो । तर, विगतमा पर्याप्त रकम छुट्याउन सकिएन । ‘कर्मचारीले सेवा गरिरहेको समयमा नै भविष्यमा तिर्नुपर्ने पेन्सन खर्चको व्यवस्था गर्नुपर्ने थियो । तर, विगतमा त्यस्तो दायित्व पर्याप्त रूपमा छुट्याइएन । त्यतिबेला बैंकको क्षमता पनि थिएन,’ ती अधिकारीले भने, ‘अहिले बैंकको वित्तीय क्षमता बढेपछि पुरानो दायित्व क्रमशः व्यवस्थापन भइरहेको छ । त्यसैले अहिले देखिएको पेन्सन खर्चको ठूलो हिस्सा वर्तमान वर्षमा सिर्जना भएको दायित्व नभई विगतको दायित्व हो ।
उनका अनुसार बैंकमा अहिले करिब साढे ४ हजार पेन्सनर छन् । उनीहरूलाई पद, सेवाअवधि लगायतका आधारमा पेन्सन भुक्तानी गर्नुपर्छ । बैंकले हालसम्म पेन्सन कोषमा करिब १८ अर्ब रुपैयाँ जम्मा गरिसकेको छ । उक्त कोषबाट आम्दानीसमेत हुन्छ । तर, पेन्सन भुक्तानीका लागि कोषको आम्दानी र सञ्चित रकमले नपुग्ने रकम बैंकले हरेक वर्ष थप बेहोर्नुपरेको उनले बताए । यस वर्ष पनि बैंकले करिब ८५ करोड रुपैयाँ पेन्सन दायित्वका लागि छुट्याएको बैंकका ती अधिकारीले बताए ।
पेन्सन दायित्वको असर आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा ठूलो रूपमा देखिएको थियो । बैंकका अनुसार त्यस वर्ष ३ अर्ब रुपैयाँभन्दा बढीको पुरानो पेन्सनसम्बन्धी दायित्व व्यवस्थापन गर्नुपरेको थियो । त्यसले बैंकको वितरणयोग्य नाफालाई ऋणात्मक बनाएको उनले बताए ।
‘कर्मचारीले काम गरिरहेका बेला नै उक्त खर्च छुट्याउनुपर्ने भए पनि विगतमा बैंकको वित्तीय क्षमताका कारण त्यसो गर्न सकिएको थिएन । अहिले बैंकको क्षमता वृद्धि भएपछि पुरानो खर्च पनि छुट्याउन सक्ने भएको छ । पुरानो खर्चलाई पनि एडजस्ट गर्दै गइरहेका छौं,’ उनले भने ।
उनका अनुसार पेन्सन व्यवस्था मुख्यतः २०५१ सालअघि बैंकमा प्रवेश गरेका कर्मचारीसँग सम्बन्धित छ । २०५१ सालपछि नियुक्त कर्मचारीका लागि भने पेन्सनको सट्टा उपदानको व्यवस्था रहेको छ । पुराना पेन्सनर रहुन्जेल हरेक वर्ष रकम छुट्याउनुपर्ने भएकाले यसको प्रभाव तत्कालै पूर्ण रूपमा हट्ने अवस्था नरहेको उनले बताए ।
साथै बैंकले एक्रुअल आधारमा ब्याज आम्दानी नाफामा देखाउन सक्छ । तर, त्यस्तो आम्दानीको सम्पूर्ण रकम तत्कालै लाभांशका रूपमा वितरण गर्न पाइँदैन । त्यस्तै, कर्मचारी खर्चको एक्चुरियल भ्यालुएसन गर्दा खर्च नाफामा देखिए पनि त्यहाँबाट लाभांश वितरण गर्न नमिल्ने अवस्था हुन सक्छ । सेयरमा गरिएको लगानीको मूल्यमा आएको परिवर्तनले पनि वितरणयोग्य नाफालाई प्रभावित गर्छ । सेयर भ्यालु रिजर्भमा आएको मुभमेन्टलाई कतिपय अवस्थामा नियामकीय रिजर्भमा स्थानान्तरण गर्नुपर्ने हुन्छ । ‘यस्ता विभिन्न नियामकीय व्यवस्थाका कारणले हाम्रो वितरणयोग्य नाफा ऋणात्मक हुन पुगेको हो,’ उनले भने ।
गत आर्थिक वर्ष २०८२/८३ मा भने राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा सकारात्मक भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ८५ करोड २ लाख ७३ हजार रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ पुगेको छ । यससँगै बैंकको लाभांश वितरण क्षमता ६.८९ प्रतिशत पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकमा सरकारको करिब ९९.९७ प्रतिशत सेयर स्वामित्व छ । बाँकी ०.०३ प्रतिशत हिस्सा व्यक्तिगत लगानीकर्ताको छ । त्यसैले निजी सेयरधनीका लागि लाभांश महत्त्वपूर्ण भए पनि बैंकको प्राथमिकता निजी बैंकको जस्तो केवल नाफा र लाभांशमा केन्द्रित नरहेको बैंकका ती अधिकारीको भनाइ छ । निजी लगानीकर्ताले आफ्नो आवाज उठाए पनि स्वामित्वको हिस्सा अत्यन्तै कम भएकाले उनीहरूको प्रभाव सीमित रहेको उनले बताए । ‘हाम्रो फोकस नाफा दिनेभन्दा उत्कृष्ट सेवा कसरी दिने र कम्प्लायन्स कसरी कायम राख्ने भन्नेमा बढी हुन्छ,’ उनले भने ।
यस्तो छ बैंकको वित्तीय अवस्था
बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशत बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १५ करोड ३९ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६३ करोड ४२ लाख ४२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड ६६ लाख ५७ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ४७ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष बैंकले खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५० करोड ८४ लाख १९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख ८७ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ९४ करोड २० लाख २४ हजार रुपैयाँ रहेको छ ।
१५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३९ अर्ब ३७ करोड ३५ लाख २२ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन ३७.११ प्रतिशत बढेर ६ खर्ब ८६ अर्ब १३ करोड ५६ लाख रुपैयाँ र कर्जा लगानी १३.५९ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख रुपैयाँ प्रवाह गरेको छ ।
अघिल्लो वर्षको असारसम्म बैंकले ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
अघिल्लो वर्ष १०.२७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २९.१४ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ३.७९ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।