३२.३४ प्रतिशत बढ्यो श्री डिस्टिलरीको आम्दानी, यी हुन् १५ जना सेयरधनी

काठमाडौं । श्री डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ३१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३४ प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १८ करोड १० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ८ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

श्री डिस्टिलरी लिमिटेड सन् १९८६ अप्रिल ६ मा स्थापना भएको मदिरा उत्पादक कम्पनी हो । नवलपुरको अरुणखोलामा रहेको कम्पनी सन् २०२२ जुलाई ११ मा पब्लिक कम्पनीमा परिणत भएको हो । सन् २०२१ मा व्यवस्थापन परिवर्तन भएपछि कम्पनीले सञ्चालन क्षमता सुदृढ गर्दै बजार उपस्थिति विस्तारमा ध्यान केन्द्रित गर्दै आएको जनाएको छ ।

कम्पनीसँग मदिरा तथा स्पिरिट उत्पादनका लागि आवश्यक इजाजतपत्र रहेको छ । कम्पनीको कुल जडित उत्पादन क्षमता वार्षिक ९ लाख केस रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीले ७० युपी, ५० युपी र ४० युपी श्रेणीअन्तर्गत विभिन्न प्रकारका मदिरा उत्पादन गर्दै आएको छ ।

कम्पनीका प्रमुख उत्पादनमा जोश प्योर एन्ड स्मुथ ह्विस्की, सगुन एप्पल ह्विस्की, सगुन गोल्ड ह्विस्की, सगुन ग्रिन एप्पल ह्विस्की र ओएसिस अल्ट्रा प्रिमियम भोड्का रहेका छन् । यसका अतिरिक्त कम्पनीसँग वार्षिक ८ हजार किलोलीटरसम्म स्पिरिट उत्पादन गर्ने अनुमति पनि रहेको छ ।

व्यवस्थापन परिवर्तनपछि कम्पनीले सुरुमा ७० युपी श्रेणीका उत्पादनमा रणनीतिक ध्यान केन्द्रित गरेको थियो । त्यसपछि उत्पादन विविधीकरण गर्दै सन् २०२६ जनवरीमा प्रिमियम ४० युपी भोड्का ब्रान्ड ओएसिस बजारमा ल्याएको हो । नयाँ उत्पादनको बजार विस्तारसँगै कम्पनीको आम्दानी र सञ्चालन नाफामा सुधार आएको छ ।

गत वर्षको तेस्रो त्रैमासिकमा बजारमा आएको ओएसिस ब्रान्डले कुल बिक्रीमा करिब २० प्रतिशत योगदान गरेको कम्पनीले जनाएको छ । ओएसिसले उल्लेख्य बजार पकड भने आर्थिक वर्षको अन्तिम त्रैमासिकमा बनाउन थालेको हो । उत्पादन मिश्रणमा आएको सुधार तथा औसत बिक्री मूल्यमा भएको वृद्धिले समेत कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव पारेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा मार्जिन १०.३८ प्रतिशत पुगेको छ । त्यस्तै, खुद नाफा मार्जिन अघिल्लो आर्थिक वर्षको ०.३६ प्रतिशतबाट बढेर ३.७३ प्रतिशत पुगेको छ । आम्दानी तथा नाफामा भएको सुधारसँगै कम्पनीको सञ्चालनबाट सिर्जित कुल नगद सञ्चिति पनि बढेर करिब २ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीका माउन्ट एभरेस्ट र गोर्खाली रम ट्रेडमार्कले पनि बजारमा बलियो पहिचान बनाएका छन् । यी ब्रान्ड नेपाली बजारमा परिचित रहेकाले थप बजार प्रवर्द्धनमा ठूलो खर्च गर्नुपर्ने आवश्यकता तुलनात्मक रूपमा कम रहेको कम्पनीको भनाइ छ ।

स्पिरिट उत्पादन अनुमतिले पनि कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाएको छ । नेपालमा दर्ता भएका १२५ वटा मदिरा उत्पादकमध्ये केवल ८ वटासँग मात्र स्पिरिट उत्पादनको यस्तो अनुमति रहेको कम्पनीले जनाएको छ ।

तरलता व्यवस्थापनतर्फ कम्पनीको मौज्दात अवधि भने सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा ९९ दिन रहेको मौज्दात अवधि गत आर्थिक वर्षमा घटेर ८९ दिनमा आएको छ । बिक्रीमा भएको सुधारले मौज्दात व्यवस्थापनमा सकारात्मक प्रभाव पारेको देखिन्छ । यद्यपि, समग्र सञ्चालन चक्र भने अघिल्लो आर्थिक वर्षको १२३ दिनबाट बढेर गत आर्थिक वर्षमा १३२ दिन पुगेको छ ।

कम्पनीको अध्यक्षमा ज्ञानेन्द्र खनाल र व्यवस्थापकीय नेतृत्वमा प्रबन्ध सञ्चालक काशी प्रसाद श्रेष्ठ रहेका छन् । कम्पनीको चुक्ता पुँजी ५० करोड ४० लाख रुपैयाँ रहेको छ । सेयरधनीतर्फ ज्ञानेन्द्र खनालको १०.३९ प्रतिशत, नेक्स्ट होल्डिङ्ग्स प्रालिको ९.९२ प्रतिशत, अंगिस घिमिरेको ९.७५ प्रतिशत, धनेन्द्र कार्कीको ६.९३ प्रतिशत, उषा ज्ञवालीको ३.९७ प्रतिशत, कृष्णप्रसाद श्रेष्ठको ३.६१ प्रतिशत, प्रतिभा घिमिरेको २.८० प्रतिशत र सुक्मित बन्जाडेको २.१३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

त्यस्तै, सन्तोषराज नेपालको २.०८ प्रतिशत, अशोक सिटौलाको १.९८ प्रतिशत, अनिमेश हलवाईको १.५८ प्रतिशत, सुदर्शन सिटौलाको १.४९ प्रतिशत, लक्ष्मीप्रसाद प्रसाईंको १.३९ प्रतिशत, टीकाप्रसाद उप्रेतीको १.१९ प्रतिशत र यमकुमार श्रेष्ठको १.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Share News