काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित कार्यक्रममा समझदारीपत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्ने छ । साथै, कर्मचारीलाई सहुलियत दरमा विभिन्न बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ ।
यसबाट सांस्कृतिक संस्थानका कर्मचारी लाभान्वित हुनुका साथै बैंकको व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
समझदारीपत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनय रमण पौडेल र पवन रेग्मी, उपकार्यकारी अधिकृतहरू दुर्गा कुमारी कँडेल (छत्कुली), रामकुमार थापा र निश्चल श्रेष्ठलगायतको उपस्थिति थियो ।
त्यस्तै, बैंकको शाखा सञ्चालन विभागका विभागीय प्रमुख ध्रुवप्रसाद अर्याल तथा सांस्कृतिक संस्थानका प्रशासकीय अधिकृत सुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जी.सी. लगायत कर्मचारी सहभागी थिए ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लाका सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएममार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
बैंकले निक्षेप तथा कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।