दुई विकास बैंक एक्वायर गरेको प्राइम बैंकको नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ
काठमाडौं । कन्काई विकास बैंक र कैलास विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको असारमसान्तसम्ममा २ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा अनुसार बैंकको खुद नाफासँगै बैंकको वितरण योग्य मुनाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ६० करोड रुपैयाँ वितरण योग्य मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षको अन्त्यमा १ अर्ब ६१ करोड रुपैयाँ कमाउन सफल भएको छ । समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढेको छ । यस अवधिमा बैंकले ४ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत असार मसान्तसम्ममा बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब ७६ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी घटेर १६.३९ रुपैयाँमा सीमित भएको छ । बैंक प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५५ गुणा रहेको छ । त्यसैगरी, बैंकको कष्ट अफ फण्ड ७.१४ प्रतिशत, सीडी रेसियो ७४.५४ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र स्प्रेड ४.२२ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ कराेड रुपैयाँ, निक्षेपमा उल्लेख्य सुधार
काठमाडाैं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २५ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षमा गरेकाे नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ करोड रुपैयाँ कम हो । यस्तै, बैंकले निक्षेप संकलनमा भने उल्लेख्य सुधार गरेको छ । बैंकले असार मसान्त सम्म १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले निक्षेप १९ अर्ब रुपैयाँले बढाउन सफल भएको छ । ८ अर्ब ४५ करोड चुुक्ता पूँजी भएको बैंकको खराब कर्जा ०.५४ प्रतिशत, बैंकको सीसीडी रेसियो ७३.८१ प्रतिशत, बेसरेट ९.२१ प्रतिशत, स्प्रेडदर ४.३६ प्रतिशत र कष्ट अफ फण्ड ६.७१ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई बैंकको नाफा ११ प्रतिशतले बढ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा यो रकम ११.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने भने १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो । १.८० प्रतिशत एनपीएल रहेको बैंकको कष्ट अफ फण्ड ६.२१ प्रतिशत, सीसीडी रेसियो ७३.१८ प्रतिश, बेस रेट ८.४२ प्रतिशत र स्प्रेडदर ४.४३ प्रतिशत रहेको छ । ८ अर्ब ४१ करोड रुपैयाँ जगेडा कोषमा रहेको बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।