वालेटमा रकम जम्मा गर्ने सीमा ५ गुणाले बढ्यो, विवरण राष्ट्र बैंकलाई पठाउनुपर्ने

 काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्राकृतिक व्यक्तिको डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा बढाएको छ । केन्द्रीय बैंकले यसअघि दैनिक बढीमा १० पटकसम्म रकम जम्मा गर्न पाउने व्यवस्था रहेकामा निश्चित अवधिका लागि त्यसलाई बढाएर ५० पटकसम्म पु¥याएको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो । चाडपर्वका समयमा डिजिटल भुक्तानीको प्रयोग र कारोबार बढ्ने अवस्थालाई ध्यानमा राख्दै केन्द्रीय बैंकले उक्त सीमा बढाएको हो ।

दशैंको अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ । त्यस्तै, तिहार तथा छठ पर्वका अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म पनि यही सुविधा लागू हुनेछ ।

उक्त अवधिबाहेक भने यससम्बन्धी विद्यमान व्यवस्था नै लागू हुने निर्देशनको आशय छ ।

राष्ट्र बैंकले सीमा बढाएको अवधिमा भएका कारोबारको विवरणसमेत अनिवार्य रूपमा बुझाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । डिजिटल वालेटमा भएको कारोबारको संख्या र कारोबारको कुल रकमको विवरण राष्ट्र बैंकको सम्बन्धित विभागमा उपलब्ध गराउनुपर्नेछ ।

चाडपर्वका समयमा उपभोक्ताले किनमेल, रकम स्थानान्तरण तथा विभिन्न भुक्तानीका लागि डिजिटल वालेटको प्रयोग बढाउने गर्छन् । यस्तो समयमा वालेटमा रकम जम्मा गर्न पाउने दैनिक संख्यात्मक सीमा बढाउँदा प्रयोगकर्तालाई कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यद्यपि, राष्ट्र बैंकको निर्देशनले रकम जम्मा गर्न पाउने दैनिक कारोबारको संख्या १० बाट बढाएर ५० पु¥याएको हो । यसलाई वालेटमा जम्मा गर्न पाउने रकमको सीमा पनि बढाइएको अर्थमा बुझ्न हुँदैन ।
 

Share News