काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बढी हो । बैंकले अघिल्लो आव २०७५/७६मा ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा ३२.१२ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्पनीको स्वपुँजीमा १९.४१ प्रतिशत प्रतिफल रहेको बैंकले जनाएको छ ।
बैंकको आ.व. २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा कर्जातर्फ २३ अर्ब रुपैयाँले वृद्धि गरी कुल कर्जा रकम १ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले १६ प्रतिशत (रू. २३ अर्ब) ले कर्जा वृद्धि गर्न सफल भएको छ ।
साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा ३८ अर्ब रुपैयाँले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ११ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले २२.५० प्रतिशत (रू.३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही रणनीति अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६.०८ प्रतिशत कर्जा यस्ता साना रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्वन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ ।
गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेप(सीएएसए) तर्फ २२ अर्ब १२ करोड रुपैयाँले वृद्धि गरी सीएएसए मिश्रणको प्रतिशत ४५.१७ पुर्याउन सफल भएको छ । बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्वन गरी अगाडि बढिरहेको छ ।
हाल ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ। बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १७.२२ गुणा कायम भएको छ ।
बैंकको निष्क्रिय कर्जा बढेर ०.७५ प्रतिशत, पुँजी कोष अनुपात १३.२० प्रतिशत रहेको छ भने कोषको लागत घटेर ५.५६ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको आधार दर ७.७० प्रतिशत रहेको छ भने स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।