दोलखामा लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ । छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका-वडा न. ३, जाफेमा स्थापना भएको हो भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका-वडा न. ८, सुनखानीमा रहेको छ । यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

राष्ट्र बैंकले भन्योः काम कम गर्नु/गराउनु, कर्मचारीको स्वास्थ्यलाई बढी ध्यान दिनु, उपचार खर्च बैंकले नै व्यहोर्नु

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना भाइरसको जोखिम बढ्दै गएकोले कर्मचारीको स्वास्थ्यलाई  ध्यान दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना भाइरस सुरक्षा व्यवस्थापन समूह गठन गर्नपनि निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्ताे निर्देशन गरेकाे हाे । कोरोना भाइरसको समयमा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नु पर्ने रकम सबै बैंकहरुले नै व्यहोर्न पनि निर्देशन गरेको छ । ‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा हशोटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ परिपत्रमा भनिएको छ । कोरोना भाइरसको जोखिम पछिल्लो समय बढ्दै गएकोले घरमै बसेर र आलोपालो कार्यालय गएर काम गर्ने व्यवस्था मिलाउन परिपत्रमा उल्लेख गरिएका छ । २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन निर्देशन जारी गरेको छ । यस्तै, राष्ट्र बैंकले अहिले डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन पनि परिपत्रमा उल्लेख गरेको छ । साथै, इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराइ रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ । बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाइ सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिनुपर्ने उल्लेख गरेको छ । [pdf id=232231]  

सबैभन्दा सस्तो ब्याजदरमा कर्जा दिइरहेका छाैं, तत्काल हेरफेर गर्दैनाैंः सीईओ श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ । बैंकको आधारदर ६ प्रतिशत भन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको आधार दर ६ प्रतिशत भन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताए । यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशत सम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको श्रेष्ठले बताए । अधिकतप प्रिमियम जोडदा समेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले बैंकको ब्याजदर अन्य बैंकहरुको भन्दा धेरै सस्तो भएको बताए । उनले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको समेत बताए । यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधा समेत दिइएको बताए । कोभिड १९ को असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानी योग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको उनकाे भनाई छ । उनले नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिस्पर्धी राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको बताए । राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदरमा स्थायित्व समेत रहेको उनले बताए । छिटो छिटो ब्याजदर परिवर्तन गर्ने सम्बन्धमा ग्राहकको सुविधालाई ध्यान दिएर ब्याजदर परिवर्तन गर्ने गरिएको बताए । कर्जाको माग बढेर जाँदा लगानीयोग्य रकमको अभाव हुने र त्यस्तो अवस्थामा निक्षेप बढाउनुपर्ने दवाव हुँदा ब्याजदर स्वतः बढ्न जाने गर्छ । तर राष्ट्रिय वाणिज्य बैंकमा त्यस्तो समस्या नरहेको पनि श्रेष्ठले बताएका छन् । प्रविधि र जनशक्तिको हिसाबले राम्रो व्यवस्थापन गरिएकाले बैंकको समग्र व्यवसायमा सकारात्मक असर परेको उनको भनाई छ । अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ । यो अवस्था राष्ट्रिय वाणिज्य बैंकमा पनि छ । पछिल्लो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा कर्जा–पूँजी–निक्षेप अनुपनत ६३ प्रतिशत कायम भएको छ । यसको अर्थ बैंकमा अझै लगानीयोग्य रकम प्रसस्त छ । त्यसैले कर्जाको ब्याजदर तत्काल हेरफेर हुने सम्भावना नभएको पनि श्रेष्ठले बताए । हाल बैंकले सामान्य बचतमा ३ दशमलव ५ प्रतिशत, विशेष बचत, सुनौलो बचत लगायतका बचत खातामा रकम जम्मा गर्दा ५ प्रतिशत ब्याजदर दिएको छ । त्यस्तै अमेरिकी डलर बजचतमा १.५ प्रतिशत, युरो र अन्य मुद्रामा शुन्य दशमलव ७५ प्रतिशत ब्याजदर रहेको छ । मुद्धती निक्षेप अन्तर्गत व्यक्तिगतमा ७ प्रतिशत देखि ७ दशमलव २५ प्रतिशत र संस्थागतमा ६ दशमलव ५ प्रतिशत देखि ६ दशमलव ६ प्रतिशत सम्म ब्याजदर रहेको छ ।