माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता, विदेशबाट पठाएको रकम सहजै पाइने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको छ । विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रक्रियालाई सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यले दुई संस्थाबीच सहकार्य भएको हो ।

सम्झौतापछि बेलायत, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न देशबाट मनीग्राम र टीएमएल रेमिट्यान्समार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका शाखा तथा अन्य सेवा केन्द्रबाट भुक्तानी लिन सकिनेछ ।

युनाइटेड रेमिटका विभिन्न देशमा रहेका प्रतिनिधि कार्यालयमार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका १५६ वटा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा युनाइटेड रेमिटका तर्फबाट सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

माछापुच्छ्रे बैंकले स्थापनाकालदेखि नै नयाँ प्रविधिमा आधारित बैंकिङ सेवा ग्राहकसमक्ष ल्याउँदै आएको जनाएको छ । बैंकले देशभर रहेका १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी कुल २५५ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । बैंकका १९४ वटा एटीएम छन् भने १८ लाखभन्दा बढी ग्राहकलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

Share News