कामना सेवा विकास बैंकले सुरु गर्‍यो ‘केएस मित्र’ डिजिटल एआई सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बौद्धिकतामा (एआई) आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सञ्चालनमा ल्याएको छ ।

बैंकले असोज ३० गते सार्वजनिक गरेको यस सेवामार्फत ग्राहकले शाखामा नपुगी बैंकिङ सेवासम्बन्धी जानकारी लिन, खाताबारे सोधपुछ गर्न र आफ्ना गुनासा राख्न सक्नेछन् । ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क केएस मित्र’ आइकन, इमेल तथा ह्वाट्सएपमार्फत यो सेवा प्रयोग गर्न सक्नेछन् ।

बैंकका अनुसार ग्राहकले केएस मित्रमार्फत बैंकका शाखा तथा सम्पर्क नम्बर, सेवा–सुविधा, ब्याजदर, सेवा शुल्कलगायत सामान्य जानकारी प्राप्त गर्न सक्नेछन् । ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबार विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट र केवाईसीसम्बन्धी जानकारीसमेत लिन सकिनेछ ।

त्यसैगरी, खाता रोक्का गर्ने, आम्दानीको स्रोत वा पेसा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ रोक्का गर्ने तथा त्यसको अवस्था बुझ्ने सुविधा पनि यस प्रणालीमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

केएस मित्रमार्फत ग्राहकले खोजेको जानकारी उपलब्ध नभएमा स्वचालित रूपमा टिकट जारी हुनेछ । यसले ग्राहकका जिज्ञासा, सेवा अनुरोध तथा गुनासोको अनुगमन र समाधान प्रक्रियालाई सहज बनाउने बैंकको विश्वास छ ।

बैंकले केएस मित्रलाई नेपाली बैंकिङ क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने नयाँ पहलका रूपमा प्रस्तुत गरेको छ । डिजिटल माध्यमबाट बैंकिङ जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहज बनाउने यो पहल बैंकको ‘फ्युचर रेडी’ अवधारणाअनुरूप अघि बढाइएको हो । यससँगै बैंकले विशिष्ट बचत खातामार्फत उपलब्ध गराउँदै आएको डोरस्टेप बैंकिङ सेवालाई पनि डिजिटल नवप्रवर्तनसँग जोड्ने अवधारणालाई प्राथमिकता दिएको छ ।

Share News