ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य, केन्द्रीय बैंकदेखि विदेशीसँग काम गरेको समेत अनुभव

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुभवी बैंकर रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक संचालक समिति स्रोतले जानकारी दियो । चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले २० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेकाकाे देखि वित्तीय क्षेत्र सुधारकाे क्रममा नेपाल बैंकमा व्यवस्थापन विदेशीले संहाल्दा उच्च तहमा सँगै काम गरेको अनुभव पनि हासिल गरेका छन् । उनी नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा पहिलाे पटक प्रमुख कार्यकारी अधिकृत भएका थिए । एनसीसी बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएपछि बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । ग्लोबल आइएमई बैंकको ४ वर्षे कार्यकाल पूरा भएपछि बज्राचार्य सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । सनराइज बैंकमा पनि ४ वर्षे कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । बज्राचार्य अहिलेसम्म जुन बैंकको प्रमुख कार्यकारी अधिकृत भएका छन्, ती बैंकमा एक कार्यकाल पूरा गरेका छन् । र, उनले कार्यकाल दोहोर्याएका छैनन् । करिब १ वर्षअघि तत्कालिन जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि परशुराम कुवँरले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेका थिए । तत्कालिन कमर्ज एण्ड ट्रष्ट बैंक  ग्लोबल आइएमई बैंकमा मर्ज हुने वित्तिकै ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका बज्राचार्यले पोष्ट मर्जर व्यवस्थापनमा विशेष भूमिका निर्वाह गरेका थिए । अहिले पनि ग्लाेबल आइएमई बैंकमा पाेष्ट मर्जर व्यवस्थापनदेखि व्यवसाय विस्तारसम्मका चुनाैति सामना गर्न बैंकले उनलाई जिम्मेवारी दिएकाे हाे । खह्राे स्वभावका बज्राचार्य नतिजामुखी बैंकर्सकाे रूपमा परिचित छन् ।

मौद्रिक नीतिले ‘स्ट्रेस फिल’ गराएको बैंकर्सको गुनासो, राष्ट्र बैंक भन्छः एक वर्ष जोहो गर्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले बैंकहरुलाई स्ट्रेस फिल अर्थात तनाव महसुुस भएको बैंकरहरुले गुनासो गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले शुक्रबार यस्तो गुनासो गरेका हुन् । शुक्रबार राजधानी काठमाडौंमामा नेपाल उद्योग वाणिजय महासंघले आयोजना गरेको मौद्रिक नीतिमा गरिएका व्यवस्था र कार्यान्वयनको अवस्था सम्बन्धि कार्यक्रममा दाहालले मौद्रिक नीतिले बैंकहरुलाई केही असहज र तनाापूर्ण अवस्था सिर्जना गराएको गुनासो गरेका हुन् । सो अन्र्तक्रिया कार्यक्रममा दाहालले कोरोना भाइरसको महामारीलाई सबै मिलेर समाधान तथा जोखिम बहन गर्नुपर्ने भएको भएपनि बैंकहरुलाई भने थोरै समस्या हुन सक्ने संकेत व्यक्त गरे । उनले अहिले बैंकहरुले भोगेको समस्या र व्यहोर्नु परेको आर्थिक क्षतिको आँकडा यकिन नगरेपनि त्यसको संकेत भने गरे । मौद्रिक नीति मार्फत आएका व्यवस्थाहरुलाई सबै बैंक तथा वित्तीय संस्थाहरुले कार्यान्वयन गरिसकेको जानकारी गराउँदै बैंकले मात्र जोखिम बहन नगरी बैंकमार्फत सप्लाई भएको राहत उपभोक्तासम्म जानु पर्ने धारणा राखे । ‘हामीले उद्योगी व्यवसायीहरुको राहत र आर्थिक पुनरुत्थानका लागि राष्ट्र बैंकले निर्देशन गरे अनुसार नै काम गरेका छौं, हामीले उद्योगी व्यवसायीलाई दिएको राहत उद्योगीले मात्र नभएर उपभोक्ताले पनि पाउनु पर्छ, तव मात्र हामीले सोचेको जस्तो देश बन्न सक्छ, यसका लागि हामी सबैले मिलेर काम गर्नु पर्छ,’ दाहालले भने । राष्ट्र बैंकको सर्कुलर हामीले पूर्ण रुपमा कार्यान्वयन गरेका छौं, अझै पनि तपाईरुलाई कुनै असन्तुष्टि छ भन हामीले गुनासो सुनुवाईको व्यवस्था पनि गरेका छौं, त्यसमा गुनासो गर्न सक्नुहुन्छ, नभए राष्ट्र बैंकमै गुनासो गर्नसक्नुहुन्छ, तर तपाईहरुले पनि बैंकबाट सप्लाई भएको राहत उपभोक्तासम्म पुर्याउनुु पर्छ, उनले व्यवसायीलाई भने । राष्ट्र बैंकले गरेको सर्कुलरमा बैंकहरुले कुनै पनि कम्प्रमाइज नगरेको पनि उनले बताए । उनी भन्छन्, ‘राष्ट्र बैंकले तिमी बिराम भएका छैनौं मात्र भन्यो, हामी बिरामी भएका छौं कि छैन त्यो हामीलाई थाहा छ, हामी सबैले बाँच्ने हिसावले काम गर्नुपर्छ,’ उनले भने । उनको गुनासोको प्रतिक्रिया दिँदै राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले यो अवस्थामा सबैले मिलेर जानुपर्ने भएकोले अलिकति जोखिम बहन त स्वभाभिक भएको बताए । ‘कोरोनाको महामारी छ, सबैलाई समस्या नै भएको छ, हामीले पनि कसले कति जोखिम बहन गर्न सक्छ र कसरी आर्थिक पुनरुत्थान गर्न सकिन्छ भनेरै अध्ययन गरेर सम्पूर्ण व्यवस्थाहरु गरेका हौं, एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्छ,’ उनले भने । ‘हामीले बैंकहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम कोभिड १९ कोषमा हाल्न लगाएका छौं, उद्योगी व्यवसायीहरुलाई सहुलियत ब्याजमा ऋण पनि भनेका छौं, स्वभाविक रुपमा यो वर्ष बैंकहरुले धेरै आर्थिक भार ब्यहोर्नु परेको छ, तर यो आर्थिक भार यो वर्ष मात्र व्यहोर्ने हो, यो वर्ष जसरी भएपनि जोहो गर्नुस्, सिवाकोटीले भने । उनले बैंकको नाफा घट्यो भने कुनै पनि क्षेत्र बाँच्न नसक्ने धारणा राख्दै सबैले विन–विन किसिमले अगाडि बढ्नु पर्ने धारणा राखे ।

सिद्धार्थ बैंक र कामना सेवाबीच विप्रेषण सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बैंकबीच विप्रेषण सम्बन्धी कारोबारको लागि सम्झौता भएको छ । दुई बैंकबीच उक्त कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता भएको हो । यससँगै, थप सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने छ । उक्त सम्झौता पत्रमा कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।