गभर्नर होम क्वारेन्टीनमा, राष्ट्र बैंकका सबै कर्मचारीको पीसीआर टेष्ट हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टीनमा बसेका छन् । राष्ट्र बैंकको नयाँ भवन निर्माणमा खटिएका एक इन्जिनियरलाई कोभिड–१९ पोजेटिभ देखिएको र ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको पाइएकोले गभर्नर होम क्वारेन्टीनमा बस्नु परेको राष्ट्र बैंकका उच्च स्रोतले बतायो । स्रोतका अनुसार गत साता इन्जिनियरको एक टोली भैरहवा पुगेर त्यहाँको भवनको अवस्था अध्ययन गरी फर्किएको थियो । भैरहवाबाट फर्किएपछि उनीहरुको पीसीआर परीक्षण गराइएको थियो । त्यस मध्ये एक जनामा कोभिड–१९ पोजेटिभ रिजल्ट आएको थियो । अस्पतालले कन्ट्रयाक टेसिङ गर्ने क्रममा ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको बताएका थिए । त्यसपछि अस्पतालले तत्काल गभर्नरलाई जानकारी दिदै ६ दिन होम क्वारिन्टनमा बस्न र त्यसपछि पीसीआर परीक्षण गराउन सुझाव दिएको थियो । ‘शुक्रबार अस्पतालले जानकारी दियो, त्यसपछि उहाँ घरमै क्वारिन्टीनमा बस्नु भएको छ’ राष्ट्र बैंकका उच्च अधिकारीले बताए । ‘३ गते पीसीआर परीक्षण गराउनुहुन्छ । नतिजा नेगेटिभ आयो भने ४/५ गतेबाट अफिस आउनुहुन्छ’ उनले भने । राष्ट्र बैंकले कोभिड संक्रमणबाट बच्च उच्च सर्तकता अपनाएको र आफना सबै कर्मचारीको पीसीआर परीक्षण थालेको जनाएको छ । गत बिहीबारदेखि दैनिक ७०/८० जना कर्मचारीको पीसीआर टेष्ट गराईरहेको छ । यस क्रममा गत साउन २९ गते विहीबार मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीमा कोभिड संक्रमण भएको रिपोर्ट आएको र भदौ १ गते सोमबारको परीक्षणमा वित्तीय जानकारी इकाइका एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको स्रोतले बतायो । शुक्रबार र आइतबार गरिएकाे परिक्षणमा सबै रिपाेर्ट नेगेटिभ आएकाे छ ।
बैंकर्स संघले भन्योः साधारण कामका लागि पनि बैंक नआउनु, डिजिटल माध्यम बढी प्रयोग गर्नु
काठमाडाैं । नेपाल बैंकर्स संघले साधारण कामका लागि पनि बैंक नआउन सर्वसधारणलाई आग्रह गरेको छ । सोमबार संघले सार्वजनिक अपिल गर्दै यस्ताे आग्रह गरेकाे हाे । संघले डिटिजल माध्यम अपनाउन समेत अनुरोध गरेको हाे । बैंकिङ काराेबार गर्नका लागि डिजिटल बैंकिङ्गको माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ । यस्तै, डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमासम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गर्न अनुराेध गरेकाे छ ।
मुक्तिनाथ विकास बैंकले घटायो हायर पर्चेज कर्जाको व्याजदर
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । बैंकले आज (भदौ १ गते) देखि लागु हुने गरी उक्त कर्जाको व्याजदर २ प्रतिशतसम्म घटाएको हो । हाल बिद्यामन कोरोना भाईरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असर संग संगै अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै उक्त कर्जामा व्याजदर घटाएको हो । यसबाट गत चैत महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी गराए । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।