सिद्धार्थ बैंकको नाफा २ अर्ब ९ कराेड
काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ९ करोड २७ लाख ७० हजार रूपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लाे आर्थिक वर्ष २०७५/०७६ को मा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रूपैयाँ नाफा गरेकाे थियो । बैंकले अघिल्लो आर्थिक वर्ष ३ अर्ब २८ करोड ३७ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो भने गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५६ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । बैंककाे वितरणयोग्य नाफा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ । यस्तै, बैंकले १ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९७ हजार निक्षेप संकलन गरेको छ । उक्त रकम अघिल्लो वर्षभन्दा २१ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्षको भन्दा १८ प्रतिशत बढी अर्थात १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्किय कर्जा १ दशमलव ५६ प्रतिशत रहेको छ । बैंककाे चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ छ । बैंककाे प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा कायम भएको छ ।
सनराईज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा फुलबारी गुल्मीमा
काठमाडाैं । सनराईज बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा उक्त सेवाकाे उद्घाटन भएकाे थियाे । सोही कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडलको सभाअध्यक्षतामा विशिष्ठ अतिथि र प्रमुख अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्रीमती रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे कार्यक्रम संचालन गरिएकाे थियाे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले बताएकाे छ ।
बैंकका कर्मचारीलाई आलोपालो र घरबाट काम सुविधा, जानकारी दिएर शाखा बन्द गर्न छुट
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आलोपालो अफिस जान पाउने व्यवस्था गर्न र घरबाटै काम गर्न पाउने प्रबन्ध मिलाउन निर्देशन दिएको छ । कोभिड–१९, संक्रमणको जोखिम न्युनिकरण एवं सुरक्षाका लागि सरकारले देशका विभिन्न स्थानहरुमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर विजोर प्रणाली लागू गरेपछि केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुलाई निरन्तर सेवा प्रवाह योजना बनाउन र कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण बनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै, विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न पनि भनिएको छ । यसरी सेवा सुचारु गर्न नसकि शाखा बन्द गर्नु पर्ने अवस्थामा अनलाईन प्रणालीबाट केन्द्रीय बैंकलाई नियमित रिपोटिङ गर्न पनि निर्देशन दिइएको छ । बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर विजोर प्रणाली लागू भएका कारण सिर्जित समास्या स्थानीय तहसँग समन्वय गरी समाधान गर्न र त्यसो पनि गर्न नसके शाखा बन्द गर्न सकिने सन्देश राष्ट्र बैंकले आईतबार जारी गरेको निर्देशनमा दिइएको छ ।