ग्लोबल आइएमई बैंक काठमाडौंको कपनमा पनि, शाखा संख्या २५९ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गरेको छ । सबैका लागि बैंक भन्ने नारालाई सार्थकता दिँदै बैंकले २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
मर्जरमा राष्ट्र बैंकको रणनीतिः संख्या नतोक्ने, क्रस होल्डिङ हुनेलाई नछोड्ने
काठमडौं । कोही मानिससँग भेट भयो भने नमस्कार गरेर सन्चो विसन्चो सोध्ने नेपाली परम्परा नै हो । उच्च ओहोदामा पुगेका सालिन र भद्र व्यक्तिहरु भने यो औपचारिकलाई अझ बढी अनुसरण गर्दछन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यस्तै सालिन र भद्र व्यक्तिमा पर्छन् । असाध्यै मिलनसार व्यक्तित्वका धनी गभर्नर अधिकारी जस्तोसुकै अवस्थामा भेट्दा पनि आफ्नो तनाव वा बेचैनी प्रदर्शन हुनै दिदैनन् । टेलिफोनमा कुरा गर्दा पनि उनी सन्चो विसन्चो सोध्न छुटाउँदैनन् । तर, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र संचालक समिति अध्यक्षहरु भने गभर्नर अधिकारी केही सातायता परिवर्तन भएका महसुस गरिरहेका छन् । उनको कार्यकक्ष, सार्वजनिक कार्यक्रम वा अन्यत्र भेट हुँदा पनि गभर्नर अधिकारी अचेल मुसुक्क हास्दै कुरा सुरु गर्ने पुरानै शैलीमा बैंकका सिइओ र संचालक समिति अध्यक्षहरुलाई सोध्ने गर्छन् ‘प्रक्रिया कहाँ पुर्याउनु भयो ? नयाँ डेभलपमेन्ट के भयो ? छिटो गर्नु है ।’ उनले सोध्ने गरेको ‘प्रक्रिया र नयाँ डेभलपमेन्ट’ तथा ‘छिटो गर्नु है’ भनेर दिने गरेको निर्देशन अर्काे बैंकसँगको मर्जरको विषयमा हो । बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको आवाज उठिरहेको समयमा गभर्नर अधिकारी भने मर्जरका लागि बैंकका सिइओ र संचालक समिति अध्यक्षसँग यसरी प्रस्तुत भएका हुन् । ‘लवज त पहिलाको जस्तै मुसुक्क हाँसेर कुरा सुरु गर्ने नै छ, तर, उहाँ (गभर्नर अधिकारी) अचेल पहिलाको जस्तो सन्चो/विसन्चो वा हालखबर सोध्नुहुन्न, सोझै मर्जरको प्रक्रिया कहाँ पुर्याउनु भयो, नयाँ डेभलपमेन्ट के भइरहेको छ, छिटो गर्नु है भनेर पो कुरा सुरु गर्नुहुन्छ, उहाँ जस्तो जस्तो सालिन व्यक्तिले यो प्रकारले कुरा सुरु गरेको देख्दा बैंकको लाइसेन्स लिएर हामीले गल्ती गरेका रहेछौं कि जस्तो पो लाग्न थालेको छ,’ एक वाणिज्य बैंकको संचालक समिति अध्यक्षले विकासन्युजसँग भने । पछिल्ला केही वर्षयता नेपाल राष्ट्र बैंकले मर्जर र एक्वीजीसनलाई जोड दिइरहेको छ । राष्ट्र बैंकले नै लाइसेन्स दिएर बैंक वित्तीय संचालन गरेकाहरु अहिले राष्ट्र बैंकका उच्च अधिकारीको व्यवहार देखेर अनौठो महसुस गर्न थालेका छन् । राष्ट्र बैंकले बैंकको लाइसेन्स रोकेको अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर भएकै समयदेखि हो । तत्कालिन गभर्नर खतिवडाले सिभिल, सेन्चुरी, मेगा र जनता बैंकलाई लाइसेन्स दिएर बैंकको लाइसेन्स रोकका थिए, जुन अहिलेसम्म खुलेको छैन । खतिवडापछि डा. चिरन्जीवी नेपालले आफ्नो ४ वर्षे गभर्नरको कार्यकाल कार्यकाल पूरा गरेर राष्ट्र बैंकबाट बाहिरिए । गत चैतदेखि अधिकारी गभर्नरको रुपमा नेपाल राष्ट्र बैंकको नेतृत्व संहालिरहेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि बैंक मर्जरको लागि विशेष व्यवस्थाहरु राखिएका छन् । मौद्रिक नीतिमा एउटै व्यवसायिक घरानाका व्यक्तिहरु सेयरधनी रहेका बैंकहरुबीच राष्ट्र बैंकको निर्देशनमा मर्ज गराउन सक्ने प्रावधान राखिएको छ । बैंकको संख्या कति ? राष्ट्र बैंकले बैंकको संख्या बढी भएकोले घटाउनको लागि जवरजस्ती मर्जरमा लान खोजिरहेकोले राष्ट्र बैंकले चाहेको बैंकको संख्या कति हो भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । राष्ट्र बैंकले सन् २००७ मा गरेको एउटा अध्ययनमा बैंक वित्तीय संस्थाको संख्या बढी भयो भन्ने देखाएको थियो । तर, संख्या कति हुनुपर्छ भन्ने विषयमा भने सो अध्ययन प्रतिवेदनमा पनि खुलाइएको छैन । ‘प्रतिवेदन तयार पार्ने क्रममा पनि बैंकको संख्या यति हुनुपर्छ भनेर राष्ट्र बैंकले तोक्ने कि भन्ने विषयमा बहस पनि भएको थियो, तर नेपालले खुल्ला बजार अर्थनीति लिएको तथा केही वर्ष अगाडिसम्म आफैले लाइसेन्स दिने र अहिले योभन्दा बढी बैंक नराख्ने भनेर नीतिगत निर्णय गर्दा अप्ठेरो हुने देखिएपछि लाइसेन्स दिन बन्द गरौं तर संख्या यति नै चाहिन्छ भनेर किटान नगरौं भन्ने भएको थियो,’ सो अध्ययनमा संलग्न राष्ट्र बैंकका अवकाशप्राप्त एक अधिकारीले भने । अर्थतन्त्रको आकार, आर्थिक गतिविधिको अवस्था, विश्व अर्थतन्त्रमा आउने परिवर्तन जस्ता कुराले बैंक वित्तीय संस्थाको संख्या यकिन गर्ने भएकोले त्यो बेला संख्या नतोकिएको र अहिले पनि संख्या तोक्ने गरी अध्ययन भएको जस्तो आफूलाई नलागेको ती अधिकारीले बताए । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट पनि बैंक वित्तीय संस्थाको संख्या यति नै गर्ने भनेर नेपाल राष्ट्र बैंकले औपचारिक निर्णय नगरेको बताउँछन् । यद्यपि संख्या बढी भएको महसुस राष्ट्र बैंकलाई पनि भएको उनले बताए । ‘बैंकको संख्या यति नै हुनुपर्छ भनेर राष्ट्र बैंकले किटान गरेको छैन, हाम्रो सरोकार भनेको कुनै पनि समयमा अप्रत्यासित धक्का आइलाग्यो भने थेग्न सक्ने, पुँजीगत आधार बलियो र जोखिम धान्न सक्ने बैंक हुनुपर्छ भन्ने हो, संख्यात्मक रुपमा पनि केही व्यवस्थापन गर्नुपर्ने आवश्यकता बोध भने भएको छ,’ प्रवक्ता डा. भट्टले भने ।
बैंक अफ काठमाण्डूको नाफा १ अर्ब ४७ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा पनि घटेर ८८ करोड ७ लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । ८ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, सेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले ९२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा घटेर २ अर्ब ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १७.२६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो आवको भन्दा ६.२७ रुपैयाँले कम हो ।