भोटेकोशी बाढीपीडितलाई तयारी पोशाक उद्योग संघले दियो ३३ लाख रुपैयाँ
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल तयारी पोशाक उद्योग संघले ३३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेको छ । संघले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीमार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको जनाएको छ । संघले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी र घाइते तथा प्रभावितको स्वास्थ्यलाभको कामना गरेको छ । बाढी प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायबाट भइरहेका प्रयासको संघले प्रशंसा गरेको छ । संघका अनुसार संघका सदस्य उद्योगहरूले समेत आ–आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् । त्यस्तै, बाढीपीडितको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरूको सहयोगमा लत्ताकपडा, तयारी पोशाक तथा अन्य आवश्यक सामग्री समेत राहतस्वरूप वितरण भइरहेको छ । संघले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरको संरक्षण र सिर्जनामा पनि ध्यान दिनुपर्नेमा जोड दिएको छ । विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संघले उद्धार, राहत, पुनर्स्थापना तथा रोजगारी पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच कर्मचारीलाई कर्जा दिने समझदारी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित कार्यक्रममा समझदारीपत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्ने छ । साथै, कर्मचारीलाई सहुलियत दरमा विभिन्न बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । यसबाट सांस्कृतिक संस्थानका कर्मचारी लाभान्वित हुनुका साथै बैंकको व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । समझदारीपत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनय रमण पौडेल र पवन रेग्मी, उपकार्यकारी अधिकृतहरू दुर्गा कुमारी कँडेल (छत्कुली), रामकुमार थापा र निश्चल श्रेष्ठलगायतको उपस्थिति थियो । त्यस्तै, बैंकको शाखा सञ्चालन विभागका विभागीय प्रमुख ध्रुवप्रसाद अर्याल तथा सांस्कृतिक संस्थानका प्रशासकीय अधिकृत सुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जी.सी. लगायत कर्मचारी सहभागी थिए । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लाका सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएममार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले निक्षेप तथा कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने कुशल भुर्तेल र नीति शाह
काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले ब्रान्ड प्रवर्द्धन, बजारीकरण र व्यवसाय विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले खेलकुद र मनोरञ्जन क्षेत्रका दुई चर्चित व्यक्तित्वलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको जनाएको छ । नेपाल टेलिकमका अनुसार कुशल भुर्तेललाई २०८३ साउन २० गते आयोजित कार्यक्रममा ब्रान्ड एम्बेसडर नियुक्त गरिएको थियो भने नीति शाहलाई बिहीबार (२०८३ भदौ २५ गते) आयोजित कार्यक्रममा नियुक्त गरिएको हो । कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वसँगको सहकार्यले युवा पुस्तासहित आम नागरिकसँग कम्पनीको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् । उनले यस्तो साझेदारीले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, सेवासुविधाको प्रचारप्रसारलाई प्रभावकारी बनाउन र व्यवसाय प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा रहेको बताइन् । नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो स्वदेशी लगानीको दूरसञ्चार कम्पनीसँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले नेपाल टेलिकमको सामाजिक छवि सुदृढ बनाउन, सेवासुविधाको प्रचारप्रसार गर्न र ब्रान्ड प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल टेलिकमका अनुसार ब्रान्ड एम्बेसडरका रूपमा कुशल भुर्तेल र नीति शाहले स्वदेश तथा विदेशमा रहेका ग्राहकबीच कम्पनीका विभिन्न सेवा–सुविधाको प्रचारप्रसार र ब्रान्ड प्रवर्द्धनका गतिविधिमा सक्रिय भूमिका खेल्नेछन् ।
गजेन्द्रनारायण अस्पतालले भन्यो– पटक–पटक अनुरोध गर्दा पनि सुत्केरी अस्पतालबाट बाहिरिएकी थिइन्
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले अस्पताल परिसरको मूल गेटनजिक एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा अस्पताल पुगेकी बबिता कुमारी पासवानलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि प्रसूति वार्डको बेड नं २४ मा भर्ना गरिएको थियो । आवश्यक जाँचसम्बन्धी कुनै रिपोर्ट नभएकाले तत्काल जाँच गर्न सुझाव दिइएको अस्पतालको भनाइ छ । त्यसपछि अस्पतालले उपलब्ध गराएको शय्यामा नरहेको र सोही दिन बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । प्रसूति पश्चात् आमा र बच्चालाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको र ड्युटीमा खटिएका स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन पटक–पटक अनुरोध गरे पनि उनी अस्पतालबाट बाहिरिएको प्रारम्भिक विवरण अस्पतालले सार्वजनिक गरेको छ । हाल आमा बबिता कुमारी पासवान र नवजात शिशु दुवै अस्पतालको बेड नम्बर २२ मा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा आवश्यक स्याहार पाइरहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटनापछि अस्पतालले आमा र बच्चाको हालसम्म आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा सेवाहरू निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । अस्पताल प्रशासनले घटनाको वास्तविक तथ्य पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भए त्यसलाई आवश्यक सूचना, कागजात तथा सहयोग उपलब्ध गराउने पनि अस्पतालले स्पष्ट पारेको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रसूति सेवा व्यवस्थापन, सेवा प्रवाह तथा सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने अस्पतालले प्रतिबद्धता जनाएको छ । घटनाको पूर्ण सत्यतथ्य छानबिनबाट बाहिर नआएसम्म संयमित भई सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण गर्न अस्पताल प्रशासनले नागरिक तथा सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ ।
एनडब्लुइडिसी र ठेकेदार कम्पनीले बाढी प्रभावित परिवारलाई दिन थाले राहत
काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा आएको विनाशकारी बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) र आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीहरूले तत्काल आर्थिक राहत वितरण सुरु गरेका छन् । एनडब्लुइडिसी, मुख्य ठेकेदार डुसान एनरबिलिटी तथा उपठेकेदार एन्ड्रिट्ज र पावर चाइनाले प्रभावित परिवारलाई राहत रकम सम्बन्धित कर्मचारीको बैंक खातामा वा प्रमाणित नजिकको हकदारलाई उपलब्ध गराउन थालेको जनाएको छ । कम्पनीका अनुसार नजिकको हकदारले आफ्नो पहिचान प्रमाणीकरण गरी भुक्तानी प्रक्रिया अघि बढाउन सम्बन्धित ठेकेदार कम्पनीसँग सम्पर्क र आवश्यक समन्वय गर्न सक्नेछन् । कम्पनीहरूले तत्काल आर्थिक राहतसँगै बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा बेपत्ता कामदारका परिवारलाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइरहेका छन् । यसैबीच, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कम्पनीहरूले प्रभावित कामदार तथा कर्मचारीका लागि प्रचलित कानुन र कम्पनीको नीतिअनुसार सहयोग तथा क्षतिपूर्ति प्याकेज तयार गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् । घाइते उपचारपछि डिस्चार्ज, ५१२ जना अझै सम्पर्कविहीन बाढीमा घाइते भएका कामदारहरूको उपचार सफलतापूर्वक सम्पन्न भई अस्पतालबाट डिस्चार्ज गरिएको कम्पनीले जनाएको छ । उपचारपछि पनि घाइते कामदारलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने बताइएको छ । उद्धार तथा खोजी अभियानलाई थप प्रभावकारी बनाउन डुसानबाट थप २१ सदस्यीय उद्धार टोली भदौ २३ गते आयोजना स्थलमा पुगेको छ । टोलीले खोजी तथा उद्धार कार्यका लागि अस्थायी क्याम्प स्थापना गर्न उपयुक्त स्थानहरूको पहिचान सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना स्थलसम्म पुग्न कठिन भूगोलका कारण खोजी तथा उद्धार कार्य प्रभावित भएको छ । मंगलबार, भदौ २३ गतेसम्मको विवरणअनुसार आयोजनामा कार्यरत ५१२ जना कामदार अझै बेपत्ता वा सम्पर्कविहीन रहेका छन् । एनडब्लुइडिसी र ठेकेदार कम्पनीहरूले नेपाली सेना, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वय गर्दै जारी खोजी तथा उद्धार अभियानलाई सहयोग गरिरहेको बताएका छन् । उद्धार कार्यका लागि आवश्यक सामग्री उपलब्ध गराउनुका साथै खोजी अभियानलाई तीव्र बनाउन ठूला उपकरण हवाई मार्गबाट आयोजना स्थलमा पुर्याउने तयारी पनि सुरु गरिएको कम्पनीले जनाएको छ । डुसान, एन्ड्रिट्ज र पावर चाइनाका प्रतिनिधिहरू प्रभावित कामदार तथा कर्मचारीका परिवारबाट आउने प्रश्न र सुझावका लागि उपलब्ध रहने जनाउँदै खोजी तथा उद्धार अभियानमा आवश्यक सबै सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रास्वपा महामन्त्री भन्छन्– सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुनःनिर्माण हुने कसरी पत्याउने ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक केन्द्रहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढाए पनि सरकारी संरचनाको पुनर्निर्माण भने सुस्त रहेको बताए । उनले राज्यका प्रमुख संरचनाहरूको पुनर्निर्माण अझै प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सिंहदरबार र संसद् भवनलगायतका संरचना हालसम्म पनि जस्ताकोतस्तै रहेको उल्लेख गरे । आचार्यले निजी क्षेत्रको पुनर्निर्माणप्रतिको उत्साहको प्रशंसा गर्दै सरकारी संरचनाको अवस्थाप्रति भने असन्तुष्टि जनाए । उनले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ । तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु ।’ आफूले नयाँ संसद् हलमा बजेट प्रस्तुत हुने सुने पनि अहिले पनि अस्थायी भवनबाटै प्रतिनिधिसभामा आफ्ना कुरा राख्नुपरेको उनले बताए । ‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे । आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रहसमेत गरे । ‘के–के नीतिगत र व्यावहारिक कमजोरीहरू छन्, त्यो पत्ता लगाऔँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाऔं, बिफोर इट्स टु लेट,’ उनले भने ।
लिबर्टी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.७१ अंकले घटेर २५२६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४८ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बिहीबार ३४१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लिबर्टी इनर्जीको भएको छ । लिबर्टीको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड, एसबिआई बैंकको १६ करोड र रिडि पावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । लिबर्टी इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेप्सेमा अधिकांश उपसूचक घटेका छन् । कारोबारमा सहभागी सबै १३ उपसूचक राताम्मे हुँदा बजारमा व्यापक दबाब देखिएको हो । सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा देखिएको छ । यो उपसूचक १२१ अंक अर्थात् १.१४ प्रतिशतले घटेर १० हजार ४५८.४५ बिन्दुमा झरेको छ । त्यसपछि निर्जीवन बीमा समूह ०.७८ प्रतिशत, वित्त समूह ०.६६ प्रतिशत, अन्य समूह ०.६४ प्रतिशत र म्युचुअल फन्ड समूह ०.५७ प्रतिशतले घटेका छन् । जलविद्युत समूह ०.५५ प्रतिशत, लघुवित्त समूह ०.५६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५० प्रतिशत र बैंकिङ समूह ०.४७ प्रतिशतले पनि गिरावट बेहोरेका छन् । यस्तै लगानी समूह ०.४१ प्रतिशत, विकास बैंक समूह ०.३४ प्रतिशत, व्यापार समूह ०.२७ प्रतिशत र जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेका छन् ।
नाका र राजमार्ग युद्धस्तरमा खुलाउन सांसद अधिकारीको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले बाढी–पहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सीमा नाकाहरू तत्काल युद्धस्तरमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले सडक तथा नाका अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको भन्दै अन्तरमन्त्रालय समन्वय गरेर आपूर्ति व्यवस्था तत्काल सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् । भोटेकोशीमा आएको बाढीले नागरिकको बाँच्ने आधार र वर्षौंको मेहनतबाट बनेका संरचनामा गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै उनले विपद्का कारण जनजीवन थप संकटमा पर्न नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताइन् । अधिकारीका अनुसार तातोपानी र रसुवागढी नाका बन्द हुँदा ठूलो परिमाणमा आयात–निर्यात प्रभावित भएको छ । त्यस्तै, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध हुँदा अर्बौं रुपैयाँ बराबरका सामान बाटोमै रोकिएका छन् । उनले सडक र नाका लामो समय अवरुद्ध रहँदा बजारमा वस्तुको अभाव र मूल्यवृद्धिको जोखिम बढ्ने भन्दै त्यसको प्रत्यक्ष मार नागरिकमाथि पर्ने बताइन् । ‘जनता विपत्तिमा छन्। नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन सरकारले तत्काल कदम चालोस्,’ उनले भनिन् । अधिकारीले उद्धार तथा राहतसँगै अवरुद्ध पूर्वाधार पुनः सञ्चालन र आपूर्ति प्रणालीलाई नियमित बनाउन सरकारको प्राथमिकता केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।