काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल तयारी पोशाक उद्योग संघले ३३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेको छ ।
संघले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीमार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको जनाएको छ ।
संघले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी र घाइते तथा प्रभावितको स्वास्थ्यलाभको कामना गरेको छ ।
बाढी प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायबाट भइरहेका प्रयासको संघले प्रशंसा गरेको छ ।
संघका अनुसार संघका सदस्य उद्योगहरूले समेत आ–आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् ।
त्यस्तै, बाढीपीडितको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरूको सहयोगमा लत्ताकपडा, तयारी पोशाक तथा अन्य आवश्यक सामग्री समेत राहतस्वरूप वितरण भइरहेको छ ।
संघले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरको संरक्षण र सिर्जनामा पनि ध्यान दिनुपर्नेमा जोड दिएको छ ।
विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संघले उद्धार, राहत, पुनर्स्थापना तथा रोजगारी पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।