काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले अस्पताल परिसरको मूल गेटनजिक एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा अस्पताल पुगेकी बबिता कुमारी पासवानलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि प्रसूति वार्डको बेड नं २४ मा भर्ना गरिएको थियो ।
आवश्यक जाँचसम्बन्धी कुनै रिपोर्ट नभएकाले तत्काल जाँच गर्न सुझाव दिइएको अस्पतालको भनाइ छ ।
त्यसपछि अस्पतालले उपलब्ध गराएको शय्यामा नरहेको र सोही दिन बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रसूति पश्चात् आमा र बच्चालाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको र ड्युटीमा खटिएका स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन पटक–पटक अनुरोध गरे पनि उनी अस्पतालबाट बाहिरिएको प्रारम्भिक विवरण अस्पतालले सार्वजनिक गरेको छ ।
हाल आमा बबिता कुमारी पासवान र नवजात शिशु दुवै अस्पतालको बेड नम्बर २२ मा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा आवश्यक स्याहार पाइरहेका छन् ।
दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटनापछि अस्पतालले आमा र बच्चाको हालसम्म आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा सेवाहरू निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
अस्पताल प्रशासनले घटनाको वास्तविक तथ्य पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भए त्यसलाई आवश्यक सूचना, कागजात तथा सहयोग उपलब्ध गराउने पनि अस्पतालले स्पष्ट पारेको छ ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रसूति सेवा व्यवस्थापन, सेवा प्रवाह तथा सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने अस्पतालले प्रतिबद्धता जनाएको छ ।
घटनाको पूर्ण सत्यतथ्य छानबिनबाट बाहिर नआएसम्म संयमित भई सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण गर्न अस्पताल प्रशासनले नागरिक तथा सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ ।
