ब्याजदर स्थिर राख्ने युरोपेली केन्द्रीय बैंकको निर्णय
काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसिबी) ले बिहीबार लगातार चौथो पटक ब्याजदर स्थिर राखेको छ । भू-राजनीतिक अनिश्चिततालाई जोड दिँदै ब्याजदर स्थिर राखेको हो । इसिबीका अध्यक्ष क्रिस्टिन लागार्डले युरोपको सीमामा उथलपुथल र व्यापार तनावको प्रभावले भविष्यका लागि ब्याजदरको परिवर्तन गर्न असम्भव भएको बताए । ‘एउटा चीज जुन धेरै परिवर्तन भएको छैन र जुन वास्तवमै खराब भएको हुन सक्छ, त्यो अनिश्चितता हो,’ उनले दर निर्णय र सुधारिएको वृद्धि पूर्वानुमान प्रस्तुत गर्दै एक पत्रकार सम्मेलनमा भने, ‘हामीले सामना गरिरहेको अनिश्चितताबीच अगाडिको सुधारको मार्गदर्शन प्रदान गर्न सक्दैनौँ ।’ इसिबीले सन् २०२६ र सन् २०२७ का लागि युरो साझेदारी गर्ने २० देशका लागि आफ्नो वृद्धि पूर्वानुमानलाई १.२ र १.४ प्रतिशतमा पुर्याएको छ र यो सेप्टेम्बरको १ र १.३ प्रतिशतको प्रक्षेपणबाट बढेको छ । वृद्धिको पूर्वानुमानलाई देखाउँदै लागार्डले भने, ‘कर्मचारीहरूले एआईमा खर्चको परिणामको रूपमा उच्च लगानीको लागि आंशिक रूपमा एकमुस्ट वृद्धि हुनेछ ।’ हामीलाई लाग्छ कि हाम्रो अर्थव्यवस्थामा केही परिवर्तन भइरहेको छ ।’ उनका अनुसार ठूला कर्पोरेट,साना र मझौला दुबै उद्यमहरू पनि हामीले सङ्कलन गर्ने तथ्याङ्कको आधारमा उनीहरूको लगानी हामीले सञ्चालन गर्ने सर्वेक्षणको आधारमा एआईको विकासको लागि धेरै हदसम्म जिम्मेवार छ।
मुस्ताङको चैले र चराङमा सबस्टेसन निर्माण सुरु, ३८ करोडमा ठेक्का सम्झौता
काठमाडौं । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङमा विद्युत् सबस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैलेरचराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माण आयोजनाले २ वटा विद्युत् सबस्टेसन निर्माण सुरु गरेको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभिए विद्युत् प्रसारण लाइन तथा सबस्टेसन निर्माण प्रक्रिया अघि बढेको हो । उनीसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार मुस्ताङको चैले र चराङमा पुगेर सबस्टेसन निर्माण क्षेत्रको स्थलगत अवलोकन तथा सर्वे गर्नुभएको छ । भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा देवयान्स/भिसान जेभीले ३८ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको आयोजना प्रमुख विमलराज राउतले जानकारी दिए । उनका अनुसार मुस्ताङ जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने उद्देश्यले प्राधिकरणले गत वर्ष ठेक्का सम्झौता गरेको बताए । प्राधिकरणले एक वर्षअघि सबस्टेसन निर्माण प्रक्रिया अघि बढाए पनि सबै ठेक्का प्रक्रिया पूरा गर्न करिब ११ महिना समय खर्चिनु परेको आयोजना प्रमुख राउतको भनाइ छ । आयोजना र निर्माण कम्पनीबीच चैले र चराङमा उक्त सबस्टेसन १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको जनाउँदै उनले चैले र चराङमा २ वटा ‘थ्रिएमबिए’ को ३३ केभी सबस्टेसन निर्माण हुने उल्लेख गरे । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सबस्टेसन रहेको थासाङ-२ कोवाङ सबस्टेसनबाट १०३ किलोमिटर दूरीमा पर्ने चैले र चराङमा २ वटा सबस्टेसन निर्माणको ठेक्का लगाएको हो । उक्त सबस्टेसन ३ हजार ८०० मिटर उचाइमा हाइअल्टिच्युडलाई थेग्नसक्ने गरी निर्माण गर्नुपर्ने भएकाले यसको लागत सामान्य डिजाइनभन्दा बढी भएको आयोजना प्रमुख राउतको भनाइ छ । उनका अनुसार अनुसार यहाँ निर्माण हुने सबस्टेसन हिउँ परे पनि समस्या नहुने र यसमा हाइअल्टिच्युडमा पनि काम गर्नेगरी यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । निर्माणस्थलको अवलोकन गर्दै आयोजना प्रमुख राउतले सबस्टेसन सम्पन्न भएपछि विद्युत् आपूर्ति सहज हुनुका साथै विद्युत् भोल्टेजमा पनि सुधार हुने विश्वास व्यक्त गरे । यसैगरी माथिल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले मुस्ताङको थासाङमा ३३ केभीको एउटा मात्रै सबस्टेसन हुँदा जिल्लामा विद्युत् आपूर्तिमा समस्या हुँदै आएको बताए । विद्युत् आपूर्तिलाई दीर्घकालीन रूपमा समाधान गर्न पालिका र सरोकार भएका निकायको पहलमा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अघि बढेको उनको भनाइ छ । सबस्टेसन निर्माणलाई तीव्रता दिन प्राधिकरण र निर्माण कम्पनीका कर्मचारीलाई ताकेता दिँदै आएको अध्यक्ष विष्टले बताए । उक्त सबस्टेसन सम्पन्न भएमा विद्युतको समस्या समाधान हुनुका साथै पर्यटन, कृषि र औद्योगिक विकासमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । यसअघि आयोजनाअन्तर्गत मुस्ताङको कोवाङबाट लोघेकर दामोदरकुण्ड-१ चराङसम्म विद्युत् प्रसारण लाइन विस्तार सुरु गरिएको थियो । २ वर्ष सम्झौता अवधि रहेको उक्त प्रसारण लाइनको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको निर्माण कम्पनीका प्रतिनिधि नवराज कडरियाले जानकारी दिए । केही ठाउँमा प्रसारण लाइन विस्तार गर्ने समस्या देखिँदा काममा ढिलाइ भएको उनको भनाइ छ ।
भुजुङ्ग हाइड्रोको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरको ६० प्रतिशत अर्थात् ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का बासिन्दा र बाँकी ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दालाई छुट्याइएको कम्पनीले जनाएको छ । साथै सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दाले आईपीओमा पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा माघ २ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका-४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा र भुजुङ्ग हाइड्रोको काठमाडौंस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।
डान्सबार, स्पा सेन्टर र गेस्टहाउसमा वेश्यावृत्ति, ५ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले स्पा र होटलबाट ८ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा ५ जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट ८ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका-४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका-१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका-६ का ४९ वर्षीय भीमबहादुर साउद छन् । काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजा घर, स्पा सेन्टर तथा गेस्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले छापा हानेर उनीहरूलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो । प्रहरीले काठमाडौं ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट ती बालिकाको उद्धार गरेको पनि प्रवक्ता खड्काले बताए । उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पनि उनले बताए ।
बाढीपहिरो: ४.१८ अर्ब रुपैयाँ दाबी, बीमा भुक्तानी ११.१५ करोड रुपैयाँ मात्रै
काठमाडौं । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी भएको छ । बीमा प्राधिकरणका अनुसार गत असोज १८ गते यताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमा दाबी परेको थियो । त्यसमा कुल ४ अर्ब १८ करोड २६ लाख रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए । विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ । सम्पत्ति बीमामा ३ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । प्राधिकरणका अनुसार सो दाबीमा ९ करोड ६४ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिब ५१ करोड ५७ लाख रुपैयाँमध्ये कुल सातवटा दाबीको ९ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ । कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबी परेको थियो । त्यसमा करिब ४ करोड १४ लाख रुपैयाँ दाबी रकममध्ये कुल ४२ वटा दाबीको १९ लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तै, मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिब २ करोड ८२ लाख रुपैयाँ दाबी रकममध्ये कुल १२ वटा दाबीको १ करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ । सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको रु ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये २ वटा दाबीको रु तीन लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको १ करोड १९ लाख रुपैयाँ र लघुबीमातर्फ २ वटा दाबीको १२ लाख रुपैयाँ बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
सिटिजन्स सन्तुलित योजना खुला, १० करोड इकाई सर्वसाधारणका लागि निष्कासन
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सञ्चालन गर्ने सामूहिक लगानी योजना सिटिजन्स सन्तुलित योजनाको इकाई निष्कासन खुला गरिएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापकको रूपमा उक्त योजना सञ्चालन गर्न लागेको हो । योजनाअन्तर्गत प्रति इकाई १० रुपियाँ अंकित मूल्यका कुल १० करोड रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरिनेछ । यसमध्ये न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक (फन्ड प्रमोटर) सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि सुरक्षित गरिएको छ भने बाँकी इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको जनाइएको छ । लगानीकर्ताले न्यूनतम १ हजार इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आसबाआई प्रणालीमार्फत आवेदन दिन सकिनेछ भने धितोपत्र कारोबार व्यवस्थापन प्रणाली मेरो शेयर प्रयोग गरी पनि आवेदन दिन सकिनेछ । सन्तुलित योजनाले लगानीकर्तालाई दीर्घकालीन रूपमा जोखिम व्यवस्थापनसहित प्रतिफल प्रदान गर्ने उद्देश्य लिएको क्यापिटलले जनाएको छ। योजना अन्तर्गत सेयर, ऋणपत्र, बैंक निक्षेप तथा अन्य स्वीकृत वित्तीय उपकरणमा लगानी गरिने उल्लेख गरिएको छ, जसले पूँजी वृद्धिसँगै स्थिर आम्दानीमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फन्ड, सेयर दर्ता, डिम्याट सेवा, इश्यू व्यवस्थापन तथा अन्डरराइटिङजस्ता सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले सन्तुलित लगानीमार्फत समृद्धि फैलाउने लक्ष्यसहित उक्त योजना सार्वजनिक गरिएको जनाएको छ ।
नेरूडे मिर्मिरे लघुवित्तको सीईओ बने केशव पौडेल, ३ दशक बढीको अनुभव
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । लघुवित्त संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ पौडेलसँग लघुवित्त क्षेत्रमा ३ दशक काम गरेको अनुभव छ । निर्धन उत्थान लघुवित्तमा व्यवस्थापकीय तहमा २२ वर्ष काम गरेका पौडेलले इन्फिनिटि लघुवित्त, कालिका लघुवित्त र सबैको लघुवित्तमा सीईओको भूमिका निर्वाह गरिसकेका छन् । भोजराज बस्यालको कार्यकाल सकिएपछि लघुवित्तमा सीईओ पद रिक्त थियो । बस्यालको विसं २०८२ साउन मसान्तमा पदावधी सकिएको थियो । उनको कार्यकाल सकिएपछि नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहूलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । तर, उनले गत मंसिर २४ गते स्वेच्छिक अवकाशमा बिदा भएपछि सहायक प्रमुख कार्यकारी अधिकृत ऋषि प्रसाद न्यौपानेलाई कामु सीईओ जिम्मेवारी तोकिएको थियो ।
उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता
काठमाडौं । कुमारी बैंकले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ । यस सहकार्यले लक्षित समुदायमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता अभिवृद्धि र दिगो व्यवसाय निर्माणमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ । सम्झौताअनुसार कुमारी बैंक र वीनरक इन्टरनेशनलले संयुक्त रूपमा लक्षित समुदायका उद्यमीहरूको क्षमता विकासमा काम गर्नेछन् । यसअन्तर्गत उद्यमशीलता विकास, वित्तीय साक्षरता विस्तार, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण, साथै दिगो व्यावसायिक योजना निर्माणमा आवश्यक सीप र ज्ञान प्रदान गरिनेछ । दिगो बैंकिङ, वित्तीय समावेशीकरण तथा स्थानीय उद्यम सुदृढीकरणप्रति कुमारी बैंकको प्रतिबद्धता पुनः प्रष्ट पार्दै बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले यस सहकार्यबाट लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्न बैंक निरन्तर प्रयत्नशील रहने बताए । विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ तथा ३१७ एटिएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले आगामी दिनहरूमा पनि सेवाहरूलाई अझ सरल, सुलभ र उत्कृष्ट बनाउने उद्देश्यसहित यस्ता सहकार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।