विकासन्युज

सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जन हुँदै

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गर्ने काम सुरु भइसकेको जानकारी दिएका छन् । सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादात्म्य विषयक अन्तरक्रियामा बोल्दै उनले परिमार्जन भएका यी पाठ्यपुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने जानकारी दिए । उनका अनुसार पाठ्यपुस्तक लेखनका क्रममा सरोकारवालासँग छलफल गरिनुका साथै लेखकहरूलाई अभिमुखीकरण गरिने गरिएको छ र विविधताभित्र एकता खोज्ने प्रयास गरिन्छ । पाठ्यपुस्तक लेख्दा राष्ट्रियताको भावनाको अभिवृद्धि, नागरिकको भूमिका तथा असल समाज निर्माणजस्ता विषयमा विशेष ध्यान दिइने उनले बताए । कार्यक्रममा शिक्षा पत्रकार समूहका तर्फबाट हाल विद्यार्थीले अध्ययन गरिरहेका पाठ्यपुस्तकहरूको अध्ययन गरी ती बालबालिकामैत्री छन् कि छैनन्, पाठ्यपुस्तकमा समावेश विषयवस्तुहरू लैङ्गिकमैत्री छन् कि छैनन्, अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायलाई कसरी सम्बोधन गरिएको छ, साथै भाषाको प्रयोग कस्तो छ भन्ने विषयमा सूक्ष्म अध्ययन गरी प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी भएकाले समाजको प्रतिनिधित्व कक्षा–कोठामार्फत हुने गरेको बताए । उनले पाठ्यसामग्री दक्षता र विज्ञता भएका व्यक्तिबाट विभिन्न चरण पार गर्दै निर्माण गरिने जानकारी दिँदै पाठ्यपुस्तकका हरेक पाठलाई समावेशी बनाउने प्रयास गरिएको धारणा व्यक्त गरे । सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम डेभलपमेन्ट एन्ड क्वालिटी एडभाइजर डा. लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच रहेको खाडलको चर्चा गर्दै कार्यान्वयन तहमा पनि समस्या रहेको बताइन् । साथै पाठ्यपुस्तकले विद्यालय र घरलाई जोड्न नसकेको तर्क गर्दै पाठ्यपुस्तकका कमजोरी पूर्ति गर्न परिपूरक पाठ्यसामग्री निर्माण गर्न सकिने धारणा राखिन्। शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पाठ्यक्रम र पाठ्यपुस्तक दुवै परिवर्तन गर्न सकिने भएकाले पाठ्यपुस्तक निर्माण गर्नुअघि समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूको सूची तयार पार्नुपर्ने बताए । शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट प्राप्त सुझावहरू पाठ्यसामग्री निर्माणमा उपयोगी हुने उल्लेख गर्दै सहभागीहरूको सुझावसहितको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने प्रतिबद्धता व्यक्त गरिन् ।

एमालेको नयाँ केन्द्रीय कमिटीलाई पूर्व राष्ट्रपति भण्डारीको बधाई

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । उनले प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनु पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरण भएको उल्लेख गर्दै यसले जनताको बहुदलीय जनवाद (जबज) लाई अझ जीवन्त बनाएको बताएकी छन् । भण्डारीले महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै विचार, नीति र नेतृत्व चयनमा प्रतिस्पर्धा हुनु पार्टीलाई थप सबल र जनमुखी बनाउने प्रक्रिया भएको धारणा राखिन् । उनले लोकतान्त्रिक मूल्यमान्यता, संगठनात्मक अनुशासन र वैचारिक स्पष्टतामार्फत एमालेले देशको समृद्धि र स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै भण्डारीले पार्टी एकता, आन्तरिक सुदृढीकरण र जनताको अपेक्षा पूरा गर्न नेतृत्वले सामूहिक रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले एमालेले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा निरन्तर अग्रसर रहनुपर्नेमा जोड दिइन् ।  

राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइ«ोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन महिना (मार्च)मा परिक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण भएका संरचनालाई पूर्णताः दिन लागिएको जानकारी दिए । “सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका कामलाई बिट मार्दै लगिएको छ”, उनले भने, “२० मेगावाटको टर्वाइन जडान गरेर ड्राई टेस्टिङ गर्न तयार पारेका छौँ । मार्च महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित ठेकेदार परिचालन भएको छ ।” भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोभेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक मार्च महिनासम्मका लागि म्याद थप भएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ । कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भएको इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौताको म्याद यही डिसेम्बर ३१ मा सकिदैछ् । भेलले अधिकांश उपकरण आयात सकेर जडानको काम गरिरहेको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलबिद्युत आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ । रासस

देशभर १० हजार ९ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरावलोकनका लागि सूचनामार्फत जानकारी गराएको थियो । पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए दावी विरोध गर्न आग्रह गरेको थियो । एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले उल्लेख गरेको थियो । यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण पनि सहज भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रकार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्। नेपाल सरकारले २०७८को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी कार्य तीव्र बनाइएको छ । केही कैदीबन्दीहरू आफू खुसी कारागार फर्किने गरे पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । त्यसैगरी जेन्जी आन्दोलनमा कारागारबाट फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियालाई बिहीबार पक्राउ गरिएको छ । नकवजनी चोरी मुद्दाको कैदी परियारलाई तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि कारागार पठाइएको उनले बताए ।

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले  ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा मन्त्री घिसिङले रद्ध गरिएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्याङ्कन गरी तत्काल टेण्डरको नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।  सडक विभागअन्तर्गत ठेक्का लिई वर्षोंदेखि अलपत्र पारिएका सडक एवम् पुल निर्माणका ४३ वटा ठेक्का तोडिएको छ । ४३ वटा ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिलेनै भएकाले हाल आएर समस्या नरहेको र यदि देखिएमा अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै मन्त्री घिसिङले पुल निर्माणमा वहुवर्षीय सहमतिमा देखिएको अन्यौलता हटाइने बताए ।  उनले भने, ‘तराई/मधेशमा पुल निर्माणमा धेरै समस्या देखियो, कयौं पुल अलपत्र छन्, सडकमा त निश्चित बजेट परेपछि त्यति बराबरको काम गर्न सकिन्छ तर पुलमा त्यसो गर्न सम्भव नै हुँदैन, त्यसैले वहुवर्षीय प्रक्रियामा नै जानुपर्छ ।’ उनले चालू आवको पहिलो त्रैमासिकमा भौतिक पूर्वाधार तथा यातायात मातहतका निकायको प्रगति कम देखिएको र अब आगामी महिनाहरुमा यसमा सुधार गर्नु पर्ने बताए ।  ‘बजेट रोक्का एउटा कारण होला तर बजेट समस्या नै नभएका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको समेत प्रगति कम छ, देखिएका समस्या समाधान गरी निर्माण प्रगतिमा सुधार आवश्यक छ, यसमा सबैले पहल गरौं,’ उनले भने ।  मन्त्रालयका सचिव केशव कुमार शर्माले त्रैमासिक प्रगति उत्साहजनक नभएको उल्लेख गर्दै ठेक्का तोडिएका परियोजनालाई अलपत्र नछाडी तत्काल व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।  चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायका लागि १ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । त्यसमध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । पहिलो त्रैमासिकका लागि विनियोजित रकममध्ये ११ अर्ब ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन वार्षिक र त्रैमासिक विनियोजनका आधारमा क्रमश : ७.६७ र २४ प्रतिशत मात्र हो ।  योजना छनोट, प्राथमिकीकरण तथा बजेट विनियोजन, राष्ट्रिय गौरवका आयोजनामा सडकको अधिकारक्षेत्र हालसम्म यकिन नभएकाले (राजपत्रमा प्रकाशित नभएको) निर्माण कार्यमा स्थानीय बारम्बार अवरोध हुने गरेको,तोडिएको ठेक्को पुनः ठेक्का व्यवस्थापनमा देखिएको अन्यौलताले ठेक्का सम्झौता कार्यान्वयन लगायतका समस्या मन्त्रालयकातर्फबाट प्रस्तुत गरिएको थियो । 

पाकेको फर्सी किलोको ४० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९५, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु २८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ५५, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिला रु १७० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु ११०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ७०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो १३५, सखरखण्ड प्रतिकिलो ६५, पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु १३०, चमसुर प्रतिकिलो रु १३०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १३०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु २००, जिरीको साग प्रतिकिलो रु २५०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४४०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ३२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २४०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बिहान ९ बजे शीर्ष पदाधिकारीहरूको बैठक बस्ने तय भएको कांग्रेस स्रोतले जनाएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक व्यवस्थापन, संगठन सुदृढीकरण , सक्रिय सदस्यता र आगामी महाधिवेशनका बारे छलफल हुने भएको छ । बैठकमा कार्यबाहक सभापति पुर्ण बहादुर खड्का , उपसभापति धनराज गुरुङ  तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहभागिता रहनेछ भने छलफलको निष्कर्षका आधारमा आवश्यक निर्णयहरू अगाडि बढाइने कांग्रेसले जनाएको छ।