विकासन्युज

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन

काठमाडौं । बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ ’बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको छ । ​अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ। सरकारको अनुमति पश्चात् ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको हो । ​चिनियाँ हेलिकोप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्नेछ । ​संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ’रेकी’ (अनुगमन) गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ’स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ । ​सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको छ ।

उद्धार र राहतका लागि मित्रराष्ट्रसँग सहयोग मागेका छौँ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्राकृतिक विपद्पछिको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिएका छन् । शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि तथा विकट क्षेत्रमा राहत सामग्री पुर्याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताए । उनका अनुसार रसुवालगायत जिल्लामा पहिचान हुन नसकेका शवको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त छैन । त्यसका लागि डीएनए परीक्षण तथा रिपोर्टिङमा सहयोग गर्न विदेशी सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए । बाढी र पहिरोका कारण ४० भन्दा बढी पुल तथा सडक सञ्जाल अवरुद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती थपिएको मन्त्री खनालले बताए । विपद्बाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै उनले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि अर्बौँ डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । हालसम्मको तथ्याङ्कअनुसार करिब १५ हजार निजी घर र ४२ वटा पुलमा क्षति पुगेको छ । यद्यपि ‘हानी तथा नोक्सानी’ को विस्तृत अध्ययनपछि मात्रै क्षतिको यकिन विवरण आउने उनले बताए । विदेशी टोली तथा निजी हेलिकप्टर परिचालनका विषयमा उठेका जिज्ञासामा मन्त्री खनालले हाल सबै उडान ‘एकीकृत कमान्ड’ मार्फत सञ्चालन भइरहेको स्पष्ट पारे । भौगोलिक जटिलता तथा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नागरिक उड्डयन प्राधिकरण र सुरक्षा निकायको समन्वयमा विदेशी नागरिक तथा उद्धार टोलीलाई उडान अनुमति दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । मन्त्री खनालले दुर्गम क्षेत्रमा औषधि तथा खाद्यान्न पुर्याउन ठूलो तौल बोक्न सक्ने ‘हेभी लोड लिफ्ट’ ड्रोनको सहयोग मागिएको बताए । ‘दुर्गम क्षेत्रमा औषधि र खाद्यान्न पुर्याउन हामीले ठूलो तौल बोक्न सक्ने हेभी लोड लिफ्ट ड्रोनको सहयोग माग गरेका छौँ । स्थलगत टोली र सुरक्षा निकायको सुझावका आधारमा हामीले विशिष्ट प्रकारका सहयोगका लागि वैदेशिक नियोगसँग समन्वय गरिरहेका छौँ,’ उनले भने । सरकारको कार्ययोजनाबारे स्पष्ट पार्दै मन्त्री खनालले अहिलेको प्राथमिकता उद्धार रहेको र त्यसलगत्तै राहत तथा पुनर्निर्माणको चरणमा प्रवेश गर्ने बताए । २०७२ सालको भूकम्पपछिको अनुभव तथा संस्थागत स्मृतिलाई उपयोग गर्दै प्रभावित परिवारलाई आवासलगायत आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए ।

सुरुङमा फसेका कामदारलाई चिनिया र भारतीय सैनिकले उद्धार गर्ने

काठमाडौं । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूलाई उद्धार गर्न चिनियाँ र भारत सैनिक टोली सिधै जाने भएका छन् ।  रसुवा लगायतका केही ठाउँका सुरुङमा फसेका कामदारलाई उद्धार गर्न भारतीय र चिनिया सैनिक टोली प्रभावित क्षेत्रमा पुग्ने भएका हुन् । नेपाली सेनाका एक उच्च अधिकारीले अहिले दुवै मुलुकका सेनाहरू सुरुङमा फसेकालाई उद्धार गर्न आइपुग्ने कुरा छ । केही समयमा उच्च दक्ष प्राप्त सीप हासिल गरेका सैनिकहरू आइपुग्ने जानकारी प्राप्त भएको छ । चिनिया र भारतीय सैनिकका टोलीहरू आएपछि सुरुङमा फसेका कामदारलाई उद्धार गरिनेछ । बुधबार बिहान आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत् परियोजनाका सुरुङमा फसेका नेपाली र विदेशी कामदारलाई उद्धार गर्न छिमेकी मुलुकबाट सुरक्षाकर्मी आउने भएका हुन् । रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा क्षति गरेको छ । हालसम्म विभिन्न जिल्लाका मानिसहरूको शवहरू नदी किनारामा ६ सय बढी भेटिएका छन् । घाइतेहरूको काठमाडौं लगायत नुवाकोट र रसुवामा उपचार भइरहेको छ ।  

वैकल्पिक सडक सञ्चालनमा, धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो

काठमाडौं । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । वैकल्पिक सडक सञ्चालनमा आएसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ । परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टसम्म जोडिने सडक सञ्चालनमा आएको हो । गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेसी जाने त्रिशूली नदीमाथिको पुल बगाएपछि सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो । पुल बगाएपछि धादिङबेसी आवतजावतका लागि वैकल्पिक मार्ग खोजिएको थियो । वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीसँगको सडक सम्पर्क पुनःस्थापित भएको हो ।

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सुचारु

काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।  टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झन्डै एक घण्टा दुरीसम्म मानव ढुवानीमार्फत टावर सम्म पुर्याइएको थियो । कम्पनीका प्राविधिकहरुले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन् ।  यसैगरी रसुवा जिल्लाकै तुप्चे बीटीएस पनि आजैदेखि सञ्चालनमा आएको छ । उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिकहरु त्रिशुलीबाट साइट सम्म हेलिकप्टरमार्फत पुगेका र साइट सञ्चालन गरेका हुन् । उक्त साइटबाट त्रिशूली थ्रीबी आयोजना स्थल आसपास, बेत्रावती तथा कालिकास्थानको केही भागमा सेवा पुनः सुचारु भएको छ ।

बाजेको सेकुवाको आम्दानी साढे ४५ करोड, विदेशसहित २६ शाखा विस्तार

काठमाडौं । बाजेको सेकुवा लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ४५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.६० प्रतिशत अर्थात् ५ करोड ८० लाख रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । आफ्नै स्वामित्वमा सञ्चालित शाखाबाट भएको कारोबार, साझेदारीमा आधारित शाखा सञ्जालको विस्तार तथा साझेदार शाखाबाट प्राप्त शुल्क आम्दानीमा भएको वृद्धिले कम्पनीको समग्र आम्दानी बढेको जनाएको छ । स्थापित ब्रान्ड पहिचान, भौगोलिक क्षेत्रमा बढ्दो पहुँच तथा नेपालमा व्यवस्थित भोजनालयप्रतिको बढ्दो आकर्षणले पनि आम्दानी वृद्धिमा सहयोग गरेको कम्पनीको भनाइ छ ।  यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ३३ करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । पछिल्ला वर्षमा कम्पनीको आम्दानी निरन्तर बढ्दै गएको देखिन्छ । सन् २००९ नोभेम्बरमा स्थापना भएको बाजेको सेकुवाले विभिन्न स्वाद र रुचिलाई लक्षित गर्दै दुई सयभन्दा बढी परिकार उपलब्ध गराउँदै आएको छ । परम्परागत नेपाली सेकुवा परिकार बिक्री गर्ने एउटा भोजनालयबाट सुरु भएको कम्पनी संस्थापक परिवारको मार्गदर्शनमा विस्तार हुँदै देशकै परिचित रेस्टुरेन्ट शृंखलामध्ये एक बनेको छ । बाजेको सेकुवा सञ्चालक समितिको अध्यक्षमा चेतनाथ भण्डारी रहेका छन् । उनले बाजेको सेकुवाको नेतृत्वसँगै सवारीसाधन, खुद्रा व्यापार, सूचना प्रविधि तथा घरजग्गालगायत विभिन्न क्षेत्रमा रहेका व्यवसायको समेत अध्यक्षता गर्दै आएका छन् । कम्पनीकी प्रबन्ध निर्देशक नितिमा भण्डारी रहेकी छिन् । उनी बैष्णो इन्टरप्राइजेज प्रालि, अमेरिकास्थित बाजेको सेकुवा एलएलसी तथा चेनी क्यापिटल प्रालिलगायत विभिन्न व्यावसायिक संस्थाकी संस्थापक तथा सञ्चालकसमेत हुन् । हाल बाजेको सेकुवाका कुल २६ वटा शाखा सञ्चालनमा रहेका छन् । तीमध्ये २० वटा शाखा साझेदारीमा आधारित सञ्चालन प्रणालीअन्तर्गत छन् भने ६ वटा शाखा कम्पनीको आफ्नै स्वामित्वमा सञ्चालन भइरहेका छन् । यसअनुसार कुल शाखामध्ये करिब ७७ प्रतिशत साझेदारीमा र २३ प्रतिशत कम्पनीको प्रत्यक्ष स्वामित्वमा रहेका छन् । विदेशमा सञ्चालनमा रहेका सबै ६ वटा शाखा साझेदारी प्रणालीमार्फत सञ्चालन भइरहेका छन् । कम पुँजीमा तीव्र रूपमा नयाँ बजारमा विस्तार गर्न साझेदारी प्रणालीलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ । साथै, रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा आफ्नै स्वामित्वका शाखा सञ्चालन गरी बजारमा बलियो उपस्थिति कायम गर्ने नीति कम्पनीले लिएको छ । खाद्य व्यवसायको प्रकृतिका कारण कम्पनीले ताजा मासु, मसला तथा छिट्टै बिग्रन सक्ने अन्य खाद्य सामग्रीको पर्याप्त मौज्दात राख्नुपर्ने हुन्छ । खानाको गुणस्तर र परिकारको स्वादमा एकरूपता कायम गर्न कम्पनीले सामान्यतः एकदेखि दुई महिनासम्मको खाद्य सामग्री मौज्दात राख्ने गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको मौज्दात राख्ने अवधि ४० दिन रहेको थियो भने अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि ३६ दिन थियो । कम्पनीले अधिकांश कच्चा पदार्थ विभिन्न आपूर्तिकर्ता तथा वितरकमार्फत खरिद गर्दै आएको छ । त्यस्ता आपूर्तिकर्ताबाट सामान्यतः एकदेखि दुई महिनासम्मको उधारो सुविधा प्राप्त गर्ने गरेको छ । कम्पनीको खुद सञ्चालन चक्र गत आर्थिक वर्षमा १७ दिन रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो चक्र २ दिन मात्र रहेको थियो । शाखा सञ्जाल विस्तार हुँदै जाँदा आपूर्ति व्यवस्थापन, केन्द्रीकृत खाद्य प्रशोधन तथा वितरण सुविधामा थप लगानी आवश्यक पर्ने भएकाले आगामी दिनमा चालु पुँजीको आवश्यकता बढ्न सक्ने देखिएको छ । बढ्दो प्रतिस्पर्धा चुनौती बाजेको सेकुवा नेपालमा अत्यधिक प्रतिस्पर्धात्मक तथा धेरै साना व्यवसाय रहेको रेस्टुरेन्ट क्षेत्रमा सञ्चालन हुँदै आएको छ । पछिल्ला वर्षमा बहुराष्ट्रिय छिटो सेवा दिने रेस्टुरेन्ट तथा स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारसँगै प्रतिस्पर्धा थप तीव्र बनेको छ । केएफसी, पिज्जा हट तथा डोमिनोजजस्ता बहुराष्ट्रिय रेस्टुरेन्टका साथै बर्गर हाउस, चिकेन स्टेसनलगायत स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारले बजारमा प्रतिस्पर्धात्मक दबाब बढाएको छ । यस्ता व्यवसायसँग पर्याप्त वित्तीय स्रोत, व्यवस्थित आपूर्ति प्रणाली तथा प्रभावकारी प्रचारप्रसारको क्षमता रहेकाले उनीहरूले छोटो समयमा बजार हिस्सा विस्तार गर्न सक्ने अवस्था रहेको जनाएको छ । त्यस्तै, साना भोजनालय, स्थानीय खाजा पसल तथा सडकमा खाना बिक्री गर्ने व्यवसायले समेत कम मूल्यमा परिकार उपलब्ध गराउँदै आएका छन् । यसले मूल्यप्रति संवेदनशील ग्राहकलाई आकर्षित गर्ने भएकाले बाजेको सेकुवामाथि थप प्रतिस्पर्धात्मक दबाब परेको छ । बहुराष्ट्रिय तथा संगठित रेस्टुरेन्ट शृंखलासँगै साना तथा असंगठित भोजन व्यवसायबाट समेत प्रतिस्पर्धा बढेकाले कम्पनीको मूल्य निर्धारण क्षमतामा केही सीमा देखिएको छ । विशेषगरी कच्चा पदार्थ तथा अन्य सञ्चालन सामग्रीको मूल्य बढ्दा त्यसको सम्पूर्ण भार तत्काल ग्राहकमा सार्न नसक्दा कम्पनीको नाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ । कच्चा पदार्थको मूल्यमा हुने उतारचढावसँगै ब्याजदरमा हुने परिवर्तन पनि कम्पनीका लागि चुनौतीका रूपमा रहेको छ । कम्पनीको ऋणको ब्याजदर परिवर्तनशील प्रकृतिको रहेकाले बैंक तथा वित्तीय संस्थाको आधार ब्याजदर बढ्दा कम्पनीको ब्याज खर्चसमेत बढ्न सक्छ । यसले आगामी दिनमा कम्पनीको नाफा तथा तरलतामा दबाब सिर्जना गर्न सक्ने देखिन्छ ।

बाढीको वितण्डा : ६२६ को मृत्यु, २४ सय बेपत्ता, पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनर्लाभका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस विपद्को पछिल्लो अवस्था र सरकारका प्रयासबारे औपचारिक जानकारी दिएका हुन् । परराष्ट्रमन्त्री खनालका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १८७ विदेशी नागरिकसहित ४ हजार ४ सय ५१ जनाको जीवितै उद्धार गरिएको छ । विपद्मा परी हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ भने करिब २ हजार ४ सय व्यक्ति अझै बेपत्ता छन् । खोजी र प्रमाणीकरणको कार्य जारी रहेकाले हताहती र क्षतिको संख्यामा फेरबदल हुन सक्ने भन्दै मन्त्रालयले आधिकारिक सूचनामा मात्र विश्वास गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा सुरक्षा निकाय, प्रादेशिक तथा स्थानीय सरकार र स्वास्थ्यकर्मीको टोली निरन्तर खटिएको छ । जटिल भौगोलिक अवस्था र सुरुङभित्र फसेकाको उद्धारका लागि सरकारले छिमेकी मुलुकसँग विशेष प्रविधि र जनशक्ति माग गरेको छ । यसै क्रममा भारतबाट ११ सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएर कार्य सुरु गरिसकेको छ भने चीनबाट पनि सुरुङ उद्धार टोली शीघ्र आइपुग्ने मन्त्री खनालले जानकारी दिए । भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको छ । चीन, जापान र अस्ट्रेलिया लगायतका मुलुकले पनि अत्यावश्यक सामग्री उपलब्ध गराएका छन् । मन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीसँग संवाद गरी सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भन्ने केही विदेशी सञ्चारमाध्यममा आएका समाचारको मन्त्री खनालले खण्डन गरे । उनले भने, ‘विनाशको स्तर अत्यन्त ठूलो छ । हामीलाई उद्धार र राहतमा मात्र नभई पुनर्निर्माण र पुनःस्थापनाको चरणमा ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्नेछ ।’ विपद् व्यवस्थापनका लागि इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अनलाइन वा क्यूआर कोड मार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, नेपाल भ्रमणका लागि असुरक्षित रहेको भन्ने भ्रमलाई चिर्दै मन्त्री खनालले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, जनकपुरका साथै अन्नपूर्ण र एभरेस्ट क्षेत्र लगायतका प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अर्थतन्त्र सबल बनाउन पर्यटनमार्फत सहयोग गर्न अपिल गरे । सरकारले बाढी र हिमपहिरोको जोखिम न्यूनीकरण का लागि दीर्घकालीन योजना अघि सारेको छ । भोटेकोशी र अन्य नदी प्रणालीमा पूर्वसूचना प्रणाली जडान गर्ने र यस्ता प्राकृतिक प्रकोपबारे विस्तृत अनुसन्धान गरिने मन्त्री खनालले बताए । यसका लागि त्रिभुवन विश्वविद्यालय र चिनियाँ एकेडेमी अफ साइन्सेसबीचको संयुक्त संयन्त्रमार्फत अनुसन्धान कार्य अघि बढाइने उनको भनाइ छ । मन्त्रालयले विदेशी नागरिकको पहिचान र सम्पर्कका लागि ‘डेडिकेटेड इमर्जेन्सी कन्ट्रोल रुम’ स्थापना गरेको छ र कूटनीतिक नियोगमार्फत निरन्तर समन्वय गरिरहेको छ । विपद्को यस घडीमा प्राप्त अन्तर्राष्ट्रिय सद्भाव र सहयोगप्रति सरकारले विशेष आभार प्रकट गरेको छ ।

भरतपुर अस्पतालमा पोष्टमार्टममा चुनौती, चार फरेन्सिक टोली परिचालन

काठमाडौं । भरतपुर अस्पतालले सयौंको संख्यामा शव प्राप्त भएपछि पोस्टमार्टम, पहिचान तथा आवश्यक जैविक नमुना संकलनलगायतका काम व्यवस्थापन गर्न चुनौती भएको जनाएको छ। अस्पतालले सीमित स्रोत–साधन र न्यून जनशक्तिबाट शव संरक्षण गर्न गाह्रो भएको जनाएको छ । अस्पतालले जिल्लामा रहेका मेडिकल कलेज, भेरी अस्पताल तथा काठमाडौं र पाल्पाका मेडिकल कलेजसँग समन्वय गरी थप फरेन्सिक विज्ञ व्यवस्थापन गरेको छ।  भदौ १२ गतेदेखि चारवटा फरेन्सिक विज्ञ टोली गठन गरी परिचालन गरिएको अस्पतालले जनाएको छ। टोलीले शव पहिचान तथा आवश्यक डीएनएलगायत जैविक नमुना संकलनको काम निरन्तर गरिरहेका छन्। त्यसैगरी, भदौ १३ गतेदेखि नमुना संकलन तथा अन्य चिकित्सकीय प्रक्रिया थप प्रभावकारी बनाउन सातजना थप चिकित्सकीय टोलीसमेत परिचालन गरिएको छ। चितवनको उच्च तापक्रम र आद्रताका कारण शवमा हुने परिवर्तन तीव्र गतिमा भइरहेको भन्दै अस्पतालले शव संरक्षण, पहिचान, पोस्टमार्टम तथा नमुना संकलनको काममा थप चुनौती भएको जनाएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति भरतपुर अस्पतालले दुःख व्यक्त गरेको छ। बाढीपछि सुरक्षाकर्मीले नारायणी नदीबाट संकलन गरेका शवहरू अस्पतालमा ल्याएर संरक्षण, पहिचान तथा आवश्यक चिकित्सकीय प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, जिल्ला प्रशासन तथा अन्य प्रशासनिक निकाय, सुरक्षाकर्मी, स्वयंसेवक र सञ्चारकर्मीलगायत सम्बन्धित पक्षसँग समन्वय तथा सहकार्य गर्दै प्रचलित चिकित्सकीय मापदण्ड र फरेन्सिक विधिअनुसार सम्पूर्ण प्रक्रिया यथासम्भव शीघ्र सम्पन्न गर्न अस्पताल निरन्तर क्रियाशील रहेको जनाएको छ। गत बुधबार बिहान रसुवामा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतको स्थानमा ठूलो मात्रामा जनधनको क्षति गरेको छ । बाढीले बगाएर शवहरू नारायणी नदीमा पुर्‍याएको छ ।