ज्येष्ठ नागरिक भन्छन् - सन्तोषसँग बाँच्न धनले मात्र नहुँदो रहेछ, आफू जस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ

काठमाडौं । बाहिरबाट हेर्दा काठमाडौं सहरको बसाई लोभलाग्दो देखिन्छ । बाहिरबाट हेर्दा जति लोभलाग्दो छ ।

शहर भित्रको सामाजिक अन्तरघुलन त्यत्तिकै उकुसमुकुस छ । जेठ १५ गते काभ्रेको पलाञ्चोक विजेश्वरी भवानीको दर्शन गर्न पुगेका वडा नं. ११ क्षेत्रका ज्येष्ठ नागरिकहरूको अभिव्यक्ति र खुला ठाउँमा पुग्दाको खुशीले यस्तै बताइरहेको थियो ।

सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका १२५ जना ज्येष्ठ नागरिकलाई वडा नं. ११ कार्यालयले तीर्थाटन गराउन पलाञ्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका सँग सामूहिक खाना र खाजा खाँदा उनीहरुको अनुहारमा उज्यालो देखिँदै गएको थियो ।

तीर्थाटनमा सहोदर दाजुभाइ ८७ वर्षीय हीरामान डंगोल र ८५ वर्षीय मचाम डंगोल एकै साथ थिए । उनीहरुले एकै ठाउँमा उभिएर अनुभव सुनाउँदै भने- ‘सहरमा म मात्र एक्लो होइन । मजस्तै अरु पनि एक्लै हुनुहुँदो रहेछ । भन्ने देख्न पाइयो । एक्लाएक्लाहरुका बिचमा भेटघाट गर्न पाउँदा त उमेर नै बढेको जस्तो भयो । मजस्तै विरामी भएका अरु पनि हुनुहुँदो रहेछ । यो पनि थाहा भयो । उहाँहरुलाई देखेर मलाई त बाँच्न आत्मबल बढ्यो ।’

उनीहरूसँगै यात्रामा रहेका ७७ वर्षीय कन्हैयाराज श्रेष्ठले विगत सम्झिँदै भने- ‘म वन कार्यालयको उपमहानिर्देशक पदबाट रिटायर्ड भएको हूँ । त्यो बेला सम्झँदा अहिले लाग्छ, ‘पदमा हुँदा मान्छे धरातलमा होइन । हावामा उडेको हुन्छ । आफूलाई अरुभन्दा माथि भएको लाग्छ । कसैलाई गन्दैन । कसैले भनेको मान्दैन ।’ मलाई पहिलेका कुरा सम्झँदा अहिले लाग्छ, ‘त्यसबेला सबै निरर्थक काम गरिएछ ।’ वडाले ज्येष्ठ नागरिकका लागि कार्यक्रम आयोजना गरेर म जस्ता व्यक्तिलाई सामाजिकीकरण गरायो । यसले जीवनप्रति उर्जा थपिएको छ । सामाजिक दुरी घटाएको छ ।’

८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खालीले धेरैपछि यसरी घुम्न पाएकोमा आनन्द अनुभूति भएको प्रतिक्रिया दिइन् । ७० इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रम भइरहेमा मनका घाउ विर्सिन सजिलो हुने कुरा सुनाए । ७१ वर्षीया मीरा डंगोल महर्जनले र ७५ वर्षिया हिरामाया महर्जनले अनुभव सुनाउँदै भने- ‘मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र नहुँदो रहेछ । समाज र आफू जस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ ।’

७४ वर्षीय गोपाल श्रेष्ठले तीर्थाटन अनुभव सुनाउँदै भने- ‘मोनोटनस जीवन विताउँदै थियौँ । आज खुव रमाइलो भयो । पुराना मित्र भेट्न पाइयो । मनै हलुका भए जस्तै भयो । पीडा कम भयो ।’

तपाईँहरुलाई घरमा बस्दा बस्दा दिक्क भएको रहेछ, अब महानगरपालिकाले तपाईँहरुका लागि कस्ता कार्यक्रम ल्याइदिए हुन्थ्यो जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा उनीहरुले भने- ‘यसरी घुमाउन लैजाने कार्यक्रम सधैँ चलाइरहनु पर्छ । औषधि किन्न जाने मान्छे, रोग जाँच्न लगिदिने मान्छे छैनन् । त्यो व्यवस्था मिलाइ दिनु पर्छ ।’

यसरी ज्येष्ठ नागरिकहरुसँग अन्तर संवाद गरिरहेका महानगरपालिकाका भवन व्यवस्था समितिका संयोजक एवं वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने- ‘घरमा ज्येष्ठ नागरिक एक्लो जीवन बाँचिरहेको छ । उसका चाहना सोध्ने कोही छैन । रुचि र अरुचिका कुरा कसैले सोध्दैन । कतै घुम्न मन लाग्यो भने एक्लै जान सकिँदैन । लैजानलाई कसैसँग फुर्सद छैन ।’

कुरा गर्दा-गर्दै आफैँ भक्कानिनु भएका तण्डुकारका आँखामा टलपल आँशु देखिए । भावुकता सम्हाल्दै ७६ वर्षीय उनले थपे- ‘म पनि यस्तै अवस्थामा छु । कोही परिवार भएर पनि एक्ला छन् । कोही श्रीमती, छोरा-छोरी कोही नभएर म जस्तै एक्ला छन् ।’

पहिलो पटक विसं २०४९ सालमा वडाध्यक्ष निर्वाचित भएका तण्डुकार २०७४ साल र २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भए । वडाध्यक्ष पदमा उनले २०५४ सालको निर्वाचनमा पराजय भोग्नु परेको थियो ।

वडामा तण्डुकार जस्तै धेरै ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये करिब ८५० जनाले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहेका छन् । यस वर्ष १५१ जनालाई पोषण भत्ता बापत हरेकलाई १२ हजार रुपैयाँ प्रदान गरिएको छ । यो संख्या गएको वर्ष १८१ जना थियो । वडामा पोषण भत्ता प्राप्त गर्ने ९ जना पूर्ण अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । अति अशक्त १५ जना प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका ७ जना व्यक्ति हुन् ।

अन्य सेवाबाट सुविधा लिने भएकाले वडाको सम्पर्कमा नहुनु भएका धेरै ज्येष्ठ नागरिक हुन् । उनीहरु कसरी जीवन विताइरहेका छन्,‌अभिलेखन हुन सकेको छैन ।

वडाले यस्ता ज्येष्ठ नागरिकलाई खोजेर सामाजिक क्रियाकलापमा आवद्ध गराएर मानसिक पीडा कम गराउने कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

Share News