काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ कार्यालयले लाजिम्पाटस्थित बिग मार्ट रहेको भवनको पहिलो तल्लामा सञ्चालित चखेवा लाउन्ज एन्ड बारका सामान लिलामी प्रयोजनका लागि मूल्याङ्कन गर्न इजाजतप्राप्त मूल्याङ्कनकर्ताबाट सिलबन्दी कोटेसन माग गरेको छ ।
घरधनी अभय शमशेर ज.ब.रा. समेतको बिग मार्ट रहेको भवनको पहिलो तल्लामा दाङ जिल्ला, सौडियार गाविस वडा नम्बर ४ स्थायी ठेगाना भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २, गणेशचोक बस्ने नरेन्द्रबहादुर महराले चखेवा लाउन्ज एन्ड बार सञ्चालन गर्दै आएका थिए ।
काठमाडौं महानगरपालिकाबाट भएको मुचुल्काबमोजिम लिलामी प्रयोजनका लागि सो तल्लामा रहेका सामानको मूल्याङ्कन गर्न लागिएको हो । काठमाडौं महानगरपालिका विवाद निरूपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम गठित मूल्याङ्कन समितिले सामानको मूल्याङ्कन गर्नेछ ।
मूल्याङ्कन गर्नुपर्ने सामानमा सीसी क्यामेरा, एसी, पंखा, आइस कुलर, फ्रिज, अग्नि फायर, स्पिकर, म्युजिकल बक्स, स्ट्यान्ड माइक, डिजिटल बोर्डलगायत इलेक्ट्रोनिक्स सामान, फर्निचर तथा सो तल्लामा मौज्दात रहेका अन्य सामान छन् ।
महानगरले इच्छुक इजाजतप्राप्त मूल्याङ्कनकर्तालाई १५ दिनभित्र सिलबन्दी कोटेसन पेश गर्न आह्वान गरेको छ । कोटेसनसँगै मूल्याङ्कनकर्ताको इजाजतपत्रको प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र, फर्म वा कम्पनी दर्ता प्रमाणपत्र, अनुभवसहितको व्यक्तिगत विवरण तथा मूल्याङ्कन गर्न लाग्ने समय र पारिश्रमिक रकमसम्बन्धी प्रस्ताव पेश गर्नुपर्नेछ ।