तनाव र चिन्ता कम गर्न राष्ट्रिय सभा गृहमा निःशुल्क मनोसामाजिक परामर्श

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीबाट प्रभावित नागरिकलाई मानसिक र भावनात्मक सहयोग गर्न राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा तनाव, चिन्ता, दुःख र अन्य मनोसामाजिक समस्या भोगिरहेका नागरिकलाई केन्द्रमा निःशुल्क परामर्श सेवा दिइने महानगरले जनाएको छ ।

यो सेवा महानगरको स्वास्थ्य विभागले मनोसामाजिक परामर्श दिने विभिन्न संघसंस्थासँगको सहकार्यमा सुरु गरेको हो । केन्द्रमा मनोविद्ले प्रभावित व्यक्तिको कुरा सुन्ने, भावनात्मक सहयोग गर्ने र आवश्यक परामर्श दिनेछन् ।

स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार बाढीबाट घाइते भएर काठमाडौंका अस्पताल वा अन्य स्थानमा बसिरहेका व्यक्तिले पनि यो सेवा लिन सक्नेछन् । अस्पतालले मानसिक स्वास्थ्य परामर्श आवश्यक भएका बिरामीलाई केन्द्रमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।

केन्द्रले आवश्यक परे मानसिक स्वास्थ्य उपचारका लागि सम्बन्धित अस्पतालमा पनि सिफारिस गर्नेछ । महानगरको विपद् व्यवस्थापन हेल्प डेस्क र विपद् सूचना केन्द्रबाट आएका व्यक्तिलाई पनि आवश्यकताअनुसार यही केन्द्रमा पठाइनेछ ।

महानगरका अनुसार केन्द्रको मुख्य उद्देश्य बाढीबाट प्रभावित व्यक्तिलाई डर, चिन्ता, तनाव र दुःखबाट बाहिर आउन सहयोग गर्नु हो । साथै, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य संवेदनशील समूहलाई विशेष प्राथमिकताका साथ सेवा दिइनेछ ।

महानगरपालिकाले सेवा लिने सबै व्यक्तिको गोपनीयता र सम्मान सुरक्षित राखेर व्यावसायिक रूपमा परामर्श सेवा सञ्चालन गरिने जनाएको छ ।

Share News