विकासन्युज

यी हुन् विदेशी मुद्रा सटहीको कारोबार गर्ने एयरलाइन्सहरू

काठमाडौं । विदेशी मुद्रा सटहीको कारोबार गर्न ४१ वटा वायुसेवा कम्पनीले अनुमति पाएका छन् । नेपालमा आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीले विदेशी मुद्राको कारोबार गर्न इजाजत पत्र लिएका हुन् । एयर डाइनेस्टी हेली सर्भिसेज, एयर इन्डिया लिमिटेड, एयरलाइन्स रिप्स नेपाल प्रा,लि,  अल्टिच्युड एयर प्रा,लि,अमरावती ट्राभल्स प्रालि (क्याथे प्यासिफिक एयरवेज लिमिटेड – जीएसए)  अमरावती ट्राभल्स प्रा,लि, (ओमान एयर) , बेसक्याम्प हेलिकप्टर प्रा,लि,  बिमान बंगलादेश एयरलाइन्स लिमिटेड (नेपाल शाखा), बुद्ध एयर प्रा.लि,  क्याथे प्यासिफिक एयरवेज लिमिटेड (काठमाडौं शाखा),चाइना सदर्न एयरलाइन्स कम्पनी लिमिटेड , ड्रुक एयर कर्पोरेशन लिमिटेड (नेपाल स्टेशन), एक्सप्लोर हिमालय ट्राभल इन्क प्रा.लि, (जीएसए – इथियोपियन एयरलाइन्स),  फिस्टेल एयर प्रा.लि,  हेली एभरेस्ट प्रा.लि, हिमालय एयरलाइन्स प्रा.लि,  आईएमई इन्टरनेशनल ट्राभल्स प्रा.लि,  जया भोयाज इन्टरनेशनल प्रालि (केएलएमरएयर फ्रान्सको जीएसए),जया भोयाज इन्टरनेशनल प्रा.लि. (डेल्टा एयरलाइन्स), कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड , कोरियन एयरलाइन्स कम्पनी लिमिटेड, मलेसिया एयरलाइन्स बरहाद लिमिटेड, काठमाडौं शाखा ,माउन्टेन हेलिकप्टर्स प्रा।लि,नेपाल एयरलाइन्स निगम, प्रभु हेलिकप्टर लिमिटेड,  कतार एयरवेज ग्रुप, श्री एयरलाइन्स प्रा।लि, सिता एयर प्रालि, स्ट्रिम ट्राभल सर्भिसेज प्रालि, समिट एयर लिमिटेड, तारा एयर प्रालि, तासी एयर प्रालि, थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड,  टर्किस एयरलाइन्स इन्क प्रालि,  युनिभर्सल टुर्स एन्ड ट्राभल्स (फ्लाइ दुबई),  युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि, (एमिरेट्स एयरलाइन्स) ,युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि। (कोरियन एयरलाइन्स),  युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि (थाई एयर एसिया), यती एयरलाइन्स लिमिटेड,  यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् मालिन्डो एयरवेज) र यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् थाई लायन मेन्तारी कम्पनी लिमिटेड ) रहेका छन् । आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबार गर्ने अनुमति लिएका छन् । एयरलाइन्सहरूले विदेशी नागरिकहरूबाट हवाई टिकट बिक्रीवापत विदेशी मुद्रा लिने गरेका छन् ।  विदेशी पर्यटकको लागि डलर भाडादर लिने सन् १९९० देखि लिन थालिएको हो । पहिलोपटक नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) बाट सुरु भएको थियो । सोही व्यवस्थालाई निरन्तरता दिँदै आन्तरिक वायुसेवा कम्पनीले पनि डलरमा भाडा लिन थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त भएको पत्राचारको आधारमा विदेशीलाई विदेशी मुद्राबाट टिकट बिक्री वितरण गर्न डलर भाडाको सुविधा प्रदान गर्दै आएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको च.नं.६८ पत्र  २०६२ फागुन १ गतेको पत्र मार्फत नेपाल नागरिक उड्डयन प्राधीकरणलाई पत्राचार गरिएको थियो । सोही पत्रको आधारमा डलर भाडादर  कार्यान्वयनमा रहेको छ ।

सदनमा मौन, बाहिर प्रधानमन्त्रीको बचाउ गर्दै बोले रवि

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र साहसँगै उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदनमा एक शब्द पनि बोलेनन् ।  तर संसद् भवनबाट बाहिरिएलगत्तै उनले सञ्चारकर्मीमाझ प्रधानमन्त्रीको बचाउ गर्दै संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले उपयुक्त समयमा दिने दावी गरे । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री साह लामो अन्तरालपछि उपस्थित भएका थिए । प्रधानमन्त्रीसँगै सदनमा प्रवेश गरेका लामिछाने करिब २० मिनेटपछि प्रधानमन्त्रीसँगै बाहिरिएका थिए ।  विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ मागिरहेका बेला दुवै नेताले सदनमा कुनै सम्बोधन नगरेपछि राजनीतिक रूपमा त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । संसद् भवन परिसरमा सञ्चारकर्मीले आफू किन नबोलेको भन्ने जिज्ञाशामा लामिछानेले हरेक बैठकमा सबै सांसदले बोल्नैपर्ने बाध्यता नरहेको बताए ।  उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै उठाइएका प्रश्नबारे भने, ‘प्रधानमन्त्रीले आवश्यक परेको बेला सदनमा उठेका सबै प्रश्नको जवाफ दिनुहुन्छ ।’ प्रतिपक्षले सरकारमाथि विभिन्न विषयमा जवाफदेहिताको दबाब बढाइरहेका बेला प्रधानमन्त्री र सत्ताढ दलका शीर्ष नेताले सदनमा मौनता रोज्नु र त्यसपछि बाहिरबाट मात्रै प्रतिक्रिया दिनुलाई संसद्को भूमिकामाथि थप बहसको विषय बनाएको छ ।

अबदेखि मलेसियामा रहेका नेपाली कामदारले आफ्नो साथमा पासपोर्ट राख्नुपर्ने

काठमाडौं । मलेसियामा रहेका नेपाली कामदार तथा पर्यटक भिसामा पुगेका नेपालीले राहदानी साथमा राख्नुपर्ने भएको छ ।  मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत सम्पूर्ण नेपाली नागरिकहरूलाई आफ्नो राहदानी (पासपोर्ट) आफैसँग राख्न आग्रह गरेको हो ।  मलेसियाको प्रचलित कानुन र नियमहरूको पालना गर्दै यात्रा गर्दा वा बस्दा आइ पर्ने कानुनी झन्झटबाट बच्न दूतावासले यस्तो अनुरोध गरेको हो । दूतावासले सूचना जारी गर्दै नेपाली श्रमिकहरूलाई रोजगारी प्रदान गर्ने सबै रोजगारदाताहरूलाई समेत आफ्ना श्रमिकको राहदानी उनीहरूकै साथमा रहने व्यवस्था मिलाउन र त्यसको सुनिश्चितता गर्न आग्रह गरेको छ । नेपाली राजदूतावासले मलेसियाका रोजगारदाताहरूलाई कानूनले अनुमति दिएको अवस्था र सम्बन्धित श्रमिकको स्पष्ट सहमति भएको अवस्थामा बाहेक श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा नराख्न सचेत गराएको छ।  श्रमिकको परिचयपत्र र कानुनी दस्तावेजका रूपमा रहेको राहदानी रोजगारदाताले जफत गर्नु मलेसियाको कानुनविपरीत हुने समेत दूतावासले स्पष्ट पारेको छ । यदि कुनै नेपाली नागरिकको राहदानी निजको सहमतिबिना रोजगारदाता वा अन्य कुनै पक्षले आफ्नो नियन्त्रणमा राखेको खण्डमा तुरुन्त राजदूतावासमा उजुरी गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  बैठक मंगलबार (आज)  पौने पाँचबजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । चारबजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।  

करार, अस्थायी र ज्यालादारी कर्मचारीले गरे अर्थ मन्त्रालय घेराउ

काठमाडौं । सरकारले करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने निर्णय गरेपछि प्रभावित कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारको निर्णयको विरोध गर्दै करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूले मंगलबार (आज) अर्थ मन्त्रालय घेराउ गरेका हुन् ।  आन्दोलनकारीहरूले करार अवधि नथप्ने निर्णय तत्काल फिर्ता लिन, रोजगारीको निरन्तरता सुनिश्चित गर्न तथा आफूहरूको सेवासम्बन्धी माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । अर्थ मन्त्रालय परिसरमा भेला भएका कर्मचारीहरूले सरकारको निर्णयले हजारौं कर्मचारीको रोजगारी संकटमा परेको भन्दै नाराबाजीसमेत गरेका थिए ।  उनीहरूले लामो समयदेखि विभिन्न सरकारी निकायमा काम गर्दै आए पनि एकपक्षीय रूपमा सेवा समाप्त गर्ने निर्णय अन्यायपूर्ण भएको बताएका छन् । सरकारले हालै करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने नीति अघि बढाएपछि कर्मचारीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका कारण केही समय अर्थ मन्त्रालय आसपासको क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

मोरङ उद्योग व्यापार संघलाई आईसीसीको सदस्यता, अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर

काठमाडौं । मोरङ उद्योग व्यापार संघ (एमसीसीआई) अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल च्याम्बर अफ कमर्स (आईसीसी) को सदस्य बनेको छ । आईसीसीको सदस्यता प्राप्त गर्ने नेपालकै पहिलो उद्योग–वाणिज्य संघ बनेसँगै नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय व्यापारिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । संघका अनुसार आईसीसी सदस्यतापछि नेपाली उद्योगी तथा व्यवसायीले विश्वव्यापी व्यापारिक सञ्जाल, अन्तर्राष्ट्रिय मञ्च, नीति निर्माणसम्बन्धी छलफल तथा विभिन्न व्यापार प्रवर्द्धन कार्यक्रमहरूमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउनेछन् । संघका अध्यक्ष अनुपम राठीले आईसीसी सदस्यताले नेपाली उद्योग तथा व्यवसायका लागि नयाँ अवसर सिर्जना गरेको बताए । उनका अनुसार यसबाट निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षित गर्ने, अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी जानकारी प्राप्त गर्ने तथा विश्वस्तरीय व्यापारिक साझेदारी विस्तार गर्न सहयोग पुग्नेछ । आईसीसीमार्फत नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक भेटघाट, बी–टु–बी कार्यक्रम, तालिम, सेमिनार, वेबिनार तथा विभिन्न अनुसन्धानमूलक प्रतिवेदन र व्यापारसम्बन्धी सामग्रीमा पहुँच पाउने संघले जनाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार विवाद समाधानका लागि आईसीसीका मध्यस्थता तथा विवाद समाधान सेवासमेत उपयोग गर्न सकिने उल्लेख गरिएको छ । अध्यक्ष राठीले आईसीसी सदस्यता मोरङ उद्योग व्यापार संघका लागि मात्र नभई समग्र नेपाली निजी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न, निर्यात वृद्धि गर्न र नेपालको व्यापारिक पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मंगलबार (आज) अपरान्ह ४ बजे बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक  आह्वान गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।  

सेयर बजारमा १६४ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार समान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २५७६ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १६४ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३८३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १० प्रतिशत केबीएल डिभेन्चरको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै १० प्रतिशत एनआइएमबी डिभेन्चरको ३९ करोड र ७ प्रतिशत नेपाल एसबीआईको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १२ वटा उपसमूहको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.०९ प्रतिशत, डेभलपमेन्ट बैंक ०.२९ प्रतिशत, फाइनान्स ०.५१ प्रतिशत, होटल तथा पर्यटन ०.०८ प्रतिशत, हाइड्रो ०.२७ प्रतिशत र व्यापारको १.४७ प्रतिशतले बढेको छ ।