विकासन्युज

सुदूरपश्चिम विश्वविद्यालयका कर्मचारीको तलब कट्टा गरेर प्रधानमन्त्री राहत कोषमा सहयोग

काठमाडौं । भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति सुदूरपश्चिम विश्वविद्यालयले गहिरो दुःख व्यक्त गर्दै बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । टेन्टेटिभ रूपमा करिब ८८ लाख रुपैयाँ जम्मा हुने अपेक्षा गरिएको छ । विश्वविद्यालयको भदौ १३ गते बसेको कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार विश्वविद्यालय र मातहतका निकायहरूमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको भदौ महिनाको मासिक पारिश्रमिक/तलबबाट रकम कट्टा गरी उक्त कोषमा जम्मा गरिने रजिस्ट्रारको कार्यालयले जनाएको छ। जसअनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम, प्राध्यापक, सहप्राध्यापक, सहप्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिनको तलब, उपप्राध्यापक, उपप्रशासक, सहायक प्रशासक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट ७ दिनको तलब, मुख्य सहायक, सहायक वा सो सरहका कर्मचारीबाट ५ दिनको तलब र श्रेणीविहीन कर्मचारीबाट २ दिनको तलब कट्टा गरिनेछ। रजिस्ट्रार प्रा. डा. गोविन्दसिंह बिष्टद्वारा जारी सूचनामा यस प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ भने घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

नाटाको बाढी प्रभावित परिवारलाई राहत सामग्री सहयोग

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बाढी पीडितलाई राहत सहयोग उपलब्ध गराउने भएको छ । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा असर गरेको छ । शनिवार नक्सालस्थित नाटाको केन्द्रीय कार्यालयबाट अत्यावश्यक राहत सामग्रीसहित नुवाकोटको बट्टारतर्फ राहत सामग्री लिएर गएको छ ।  नाट्टाको टोलीले प्रभावित परिवारका लागि आवश्यक कपडा, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाइ सामग्रीलगायत अन्य आवश्यक सामग्री सहयोग गर्ने जनाएको छ । मानवीय अभियानमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई नक्सालस्थित नाट्टा सचिवालयमा उपयोगी राहत सामग्री उपलब्ध गराउन नाट्टाले अनुरोध गरेको छ । नाट्टाले ठूलो वा सानो जुनसुकै सहयोगले पनि कठिन परिस्थितिमा रहेका प्रभावित परिवारलाई राहत, आशा र आवश्यक सहयोग प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ। ‘एकआपसमा साथ दिऔँ, सहयोग गरौँ र आवश्यकतामा रहेका परिवारका लागि हातेमालो गरौँ’ भन्ने भावनाका साथ राहत अभियानमा सहभागी हुन नाट्टाले सबैलाई आव्हान गरेको छ ।

सेनाले त्रिशूली-३ 'बी' को सुरुङको मुख खोल्न थाल्यो

काठमाडौं ।  नेपाली सेनाले रसुवास्थित त्रिशूली- ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धार गर्न मुख खोल्न थालेको छ । शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्य थालेको सेनाले जनाएको छ । टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्न थालिएको सेनाको भनाइ छ । 'सयौँको संख्याम नागरिक फसेका छन भन्ने छ,’ सेनाका एक उच्च अधिकारीले विकासन्युजसँग भने,’ हामीहरू हिजोदेखि निरन्तर टनेलको मुख खोल्ने कार्यमा लागिरहेका छौँ ।' त्यसैगरी सेनाले उद्धार तथा राहतका लागि ८ वटा हेलिकोप्टर सञ्चालनमा ल्याएको छ । सेना र निजी गरेर आज १५ वटा हेलिकोप्टर चालु अवस्थामा रहेका छन् । सेनाको आवश्यकता अनुसार निजी कम्पनीका हेलिकोप्टर माग गरिने ती सैनिक अधिकारीले बताए । बुधबार रसुवामा आएको ठूलो जनधनको क्षति पुर्‍याएको छ । रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्‍याएको थियो ।

प्रधानमन्त्रीले भने- ‘प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्धार कार्यका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।  शनिबार प्रधानमन्त्री निवासमा भएको भेटमा नेता आङदेम्बेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा बाढीपहिराका कारण सिर्जित अकल्पनीय अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका हुन् । प्रभावित क्षेत्रको स्थलगत अनुगमन र स्थानीय नागरिक तथा प्रशासनसँगको छलफलपछि नेता आङदेम्बेले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटका क्रममा उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाको अवस्था र राज्यका तर्फबाट भइरहेका कार्यहरूबारे जानकारी गराए । विशेषगरी रसुवास्थित अपर त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइप्रति उनले चासो व्यक्त गरे। उनले मौसम प्रतिकूल रहे पनि उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए । जवाफमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा उद्धारका लागि पहल भइरहेको र छिट्टै कार्य अगाडि बढ्ने आश्वासन दिएको नेता आङदेम्बेले सञ्चारकर्मीहरूलाई जानकारी दिए । उनले भने, ‘अपर त्रिशूलीका तीन वटा सुरुङमध्ये एउटामा हिजोदेखि नै उद्धार शुरु भएपनि अन्य दुई वटामा खराब मौसमका कारण कठिनाइ भइरहेको छ । विपद् भएको तीन दिन भइसकेकाले उद्धारमा थप ढिलाइ भएमा सुरुङभित्र रहेकाहरूको जीवितै उद्धार गर्ने सम्भावना क्षीण हुँदै जानेतर्फ मैले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएको छु ।’ नेता आङदेम्बेले शुक्रवार मात्रै प्रभावित क्षेत्रको निरीक्षण गरी त्यहाँका पीडित परिवार र स्थानीय प्रशासनसँग वस्तुस्थितिबारे जानकारी लिएका थिए । 

त्रिशूली ३ ‘ए’ को टनेलमा फसेकाको उद्धार तीव्र, सुरुङको मुख खोल्ने प्रयास जारी

काठमाडौं  । रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ।  टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो ।  सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ ।  यसैबिच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

त्रिशूली ३ ’ए’ को सुरुङको मुख खोल्ने कार्य तीव्र

काठमाडौं । रसुवास्थित त्रिशूली ३ ’ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ । सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ । ​टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो । ​सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ । सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ । ​यसैबिच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ ।

ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री उद्धार कोषमा सहयोग गर्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ’ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो । यस सुविधामा खाता छनोट, योगदानकर्ताको नाम र रकम उल्लेख गरी सरल तवरले सहयोग रकम पठाउन सकिने बैंकले जनाएको छ । डिजिटल बैंकिङ केवल कारोबारमै सीमित नरही आवश्यक परेको बेला प्रभाव पार्ने माध्यम पनि बन्नुपर्ने बैंकको भनाइ छ। यसै सन्दर्भमा बैंकले प्रविधिमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड नेपालको प्रमुख वाणिज्य बैंकहरूमध्ये एक हो, जसले देशभर फैलिएको शाखा सञ्जालमार्फत ग्राहकहरूलाई आधुनिक र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको प्रयोगमार्फत डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र पहुँचयोग्य बनाउँदै लगेको छ । ग्राहकमैत्री सेवा, प्रविधिमैत्री समाधान र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरूमार्फत बैंकले आफ्नो साझेदारी भूमिका निर्वाह गर्दै आएको छ ।

काठमाडौं आउन चाहने अलपत्र यात्रुका लागि महानगरको निःशुल्क बस सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई काठमाडौं ल्याइयो ।   आजबाट २ वटा सवारी साधन सञ्चालनमा ल्याइएका छन् । २ वटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौं यात्रु ओसार्ने ००६ ख ९३३९ नम्बरको गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो । यसमा १० जना यात्रु अट्टाउँछन् । निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ ।  सवारी साधनमा परिचालन गरिएका जनशक्तिलाई विपद व्यवस्थापनमा प्रोत्साहित गर्न आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर, विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा सभा गृहमा आएका थिए ।  उनीहरुले यात्रुहरुका अपेक्षा, सेवा सञ्चालनको लक्ष्य अनुरुप सेवा गर्न प्रोत्साहित गरेका थिए ।  यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौं महानगरपालिकासम्मका लागि हो । कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा कार्य थलो भएर विपद पछि अलपत्र परेका काठमाडौं आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौंबाट त्यस क्षेत्रमा जानुपर्ने व्यक्ति लक्षित वर्ग मानेर यो सेवा थालिएको हो ।  यी सवारी साधनले दिनमा २ पटक यात्रु ओसार्नेछन् ।