‘सरकारका राम्रा कामको श्रेय रास्वपालाई, गलत कामको जिम्मेवारी प्रधानमन्त्रीलाई मात्रै किन ?’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका राम्रा कामको जस लिने तर विवादित र गलत कामको जिम्मेवारीबाट पन्छिने गरेको आरोप लगाएका छन् ।

आइतबार (आज) आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनामा रास्वपाले विज्ञप्ति जारी गरेर सरकारलाई निर्देशन दिएको तर उक्त घटनाको राजनीतिक जिम्मेवारी भने नलिएको भन्दै प्रश्न उठाएका हुन् ।

‘सरकारले कुनै राम्रो काम गर्यो भने रास्वपा, अनि कुनै काममा प्रश्न उठ्यो भने चाहिँ प्रधानमन्त्री? सरकारले गरेका कामको जिम्मेवारी रास्वपाले लिनुपर्दैन ?,’ थापाले प्रश्न गरे ।

उनले विगतमा नेपाली कांग्रेस सहभागी सरकारका निर्णय र काममाथि प्रश्न उठ्दा रास्वपाका नेताहरूले त्यसको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउने गरेको स्मरण गराए । 

सरकारमा सहभागी दलले सरकारका कामको जिम्मेवारी लिनुपर्ने मान्यता अहिले रास्वपाको हकमा पनि लागू हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपाली कांग्रेसको सरकार हुँदा सरकारले कुनै कुरा गलत गर्यो भने रास्वपाको धारणा के हुन्थ्यो भने यो सरकार त नेपाली कांग्रेसको हो, त्यसैले गलत कामको जिम्मेवारी तिमीले लिनुपर्छ भन्ने हुन्थ्यो,’ उनले भने, ‘यो सिद्धान्त तपाईंहरूको हकमा लागू हुन्छ कि हुँदैन भन्ने हाम्रो प्रश्न हो ।’

थापाले सरकारका सकारात्मक कामको श्रेय लिने तर आलोचना वा विवाद उत्पन्न हुँदा जिम्मेवारी प्रधानमन्त्रीमाथि मात्रै थोपर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए। सरकारका निर्णय र गतिविधिमा राजनीतिक स्वामित्व लिने जिम्मेवारी सरकारको नेतृत्व गर्ने दलका रूपमा रास्वपाले पनि लिनुपर्ने उनको तर्क थियो ।

पत्रकार पक्राउको घटनालाई लिएर रास्वपाले सरकारलाई दिएको निर्देशनप्रति प्रश्न उठाउँदै उनले सरकारका काममा आफ्नो भूमिका र जिम्मेवारीबारे पार्टी स्पष्ट हुनुपर्ने धारणा राखेका हुन् ।

Share News