काठमाडौं । नेपाली कांग्रेसले मंसिर महिनाभर देशव्यापी रूपमा ‘कांग्रेस तयार छ अभियान’ सञ्चालन गर्ने भएको छ । पार्टीको १५औं महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम जनतामाझ पुर्याउने, पार्टीबाट टाढिएका मतदातासँग सम्बन्ध पुनःस्थापित गर्ने र आगामी निर्वाचनका लागि सङ्गठन परिचालन गर्ने उद्देश्यसहित कांग्रेसले अभियान सञ्चालन गर्न लागेको हो ।
सभापति गगनकुमार थापाले घोषणा गरेको अभियानलाई ७५३ वटै स्थानीय तहसम्म विस्तार गर्ने कांग्रेसको तयारी रहेको छ । अभियानमा पार्टीका राजनीतिक मुद्दा र सङ्गठनात्मक गतिविधिसँगै सामाजिक कामलाई पनि प्राथमिकता दिइने सहमहामन्त्री मनोजमणि आचार्यले जानकारी दिए ।
महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । सहमहामन्त्री आचार्यका अनुसार अभियानका राजनीतिक र सामाजिक गरी दुईवटा पाटा हुनेछन् ।
कांग्रेसले अभियानमार्फत आफू जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न, नागरिकका समस्या सम्बोधन गर्न र आगामी निर्वाचनको तयारी गर्न तयार रहेको सन्देश जनतामाझ पुर्याउन खोजेको सहमहामन्त्री आचार्यले जानकारी दिए ।
मतदातासँग घरदैलोमै संवाद
‘कांग्रेस तयार छ’ अभियानको एउटा प्रमुख उद्देश्य पछिल्लो समय पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्नु हो । सभापति थापाले विगतमा कांग्रेसलाई मतदान गरेका तर पछिल्लो निर्वाचनमा अन्य दललाई मत दिएका मतदातासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताउँदै आएका छन् । उनीहरूलाई पार्टीले किन गुमायो र कांग्रेसप्रति नागरिकका असन्तुष्टि के छन् भन्ने बुझ्न घरदैलोमै पुग्नुपर्ने उनको भनाइ छ ।
यसका लागि पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तह र वडा स्तरसम्म परिचालन गर्ने तयारी छ । मतदाताका गुनासा सुन्ने, पार्टीप्रतिको धारणा बुझ्ने र कांग्रेसले आगामी दिनमा गर्नुपर्ने कामबारे सुझाव लिने गतिविधि अभियानमा समेटिने आचार्यले जानकारी दिए ।
सभापति थापाले मतदातालाई दोष दिनुभन्दा उनीहरूका प्रश्नको जवाफ दिन र विश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
कांग्रेसले अभियानलाई आगामी निर्वाचनको तयारीसँग समेत जोडेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटदेखि पार्टीको सङ्गठन परिचालनसम्मका विषयलाई अभियानमार्फत व्यवस्थित गर्ने उसको योजना रहेको आचार्यले जनाएका छन् ।
सभापति थापाले स्थानीय तहका उम्मेदवार स्थानीय पार्टी सदस्यले नै छनोट गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउँदै आएका छन् । त्यसका लागि अहिलेबाटै पार्टीका नेता तथा कार्यकर्ता जनतामाझ पुग्नुपर्ने उनको धारणा छ ।
पार्टीको तल्लो तहसम्म सङ्गठन सक्रिय बनाउने, स्थानीय नेतृत्वलाई जिम्मेवार बनाउने र उम्मेदवार छनोट प्रक्रियामा स्थानीय सदस्यको सहभागिता सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकता दिइने आचार्यले जानकारी दिए ।
उनका अनुसार पार्टीका सबै तहमा महिला, युवा तथा विभिन्न समुदायको प्रतिनिधित्व बढाउने र चार पुस्ताको उचित सहभागिता सुनिश्चित गर्ने विषयलाई समेत सङ्गठन सुधारसँग जोडिएको छ ।
जिम्मेवार प्रतिपक्षको भूमिका स्थापित गर्ने
अभियानको अर्को उद्देश्य कांग्रेसले प्रतिपक्षका रूपमा निर्वाह गर्ने भूमिका स्पष्ट पार्नु रहेको अर्का नेता उर्मिला थपलियाले जानकारी दिइन् ।
उनका अनुसार सरकारका कामकारबाहीको निगरानी गर्ने, जनताका समस्या र असन्तुष्टिलाई संसद् तथा सार्वजनिक मञ्चमा उठाउने र राष्ट्रिय महत्वका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कामलाई अभियानसँग जोडिनेछ ।
संविधानको प्रभावकारी कार्यान्वयन, विधिको शासन, सुशासन र नागरिकका मौलिक अधिकारका विषयमा कांग्रेसले आफ्नो धारणा जनतामाझ पुर्याउने तयारी गरेको थपलियाको धारणा रहेको छ ।
कांग्रेसले आफूलाई केवल सरकारको आलोचना गर्ने प्रतिपक्षका रूपमा नभई राष्ट्रिय समस्याको समाधानमा विकल्प र सुझाव प्रस्तुत गर्ने राजनीतिक शक्तिका रूपमा स्थापित गर्न खोजेको अर्का नेता नरेन्द्र कुमार केरुङले बताए ।
सरसफाइदेखि जलवायु परिवर्तनसम्मका सामाजिक कार्यक्रम
कांग्रेस तयार छ अभियान राजनीतिक गतिविधिमा मात्रै सीमित हुने छैन । सामाजिक कामलाई समेत अभियानको महत्वपूर्ण हिस्सा बनाउने कांग्रेसको तयारी छ ।
यसअन्तर्गत सरसफाइ कार्यक्रम, विपन्न तथा असहाय नागरिकलाई सहयोग, समुदायका समस्यासँग जोडिएका गतिविधि र जलवायु परिवर्तनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने काँग्रेसले जनाएको छ ।
पार्टीका औपचारिक कार्यक्रमलाई भाषण र सभा समारोहमा मात्रै सीमित नगरी नागरिकसँग प्रत्यक्ष जोडिने काममा नेता तथा कार्यकर्तालाई परिचालन गर्ने योजना छ । सहमहामन्त्री आचार्यका अनुसार सामाजिक अभियानमार्फत स्थानीय समुदायका आवश्यकता र सरोकारलाई सम्बोधन गर्ने प्रयास गरिनेछ ।
पार्टीका संरचना सक्रिय बनाउने तयारी
अभियानसँगै कांग्रेसले पार्टीका संस्थागत संरचनालाई पनि सक्रिय बनाउने भएको छ । सभापति थापाले लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटलाई सक्रिय बनाउने योजना अघि सारेका छन् ।
यी संरचनामार्फत पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक प्रशिक्षण दिने, निर्वाचनसम्बन्धी तयारी गर्ने र शासन सञ्चालन तथा सार्वजनिक नीतिका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्य राखेको छ । सहमहामन्त्री आचार्यका अनुसार पार्टीका पदाधिकारीहरूलाई स्पष्ट जिम्मेवारी दिएर कार्यसम्पादनलाई परिणाममुखी बनाउने योजना पनि सभापति थापाले अघि सारेका छन् ।
मंसिरभर अभियान, चार वर्षका लागि कार्ययोजना
कांग्रेसले मंसिर महिनाभर अभियान सञ्चालन गर्ने घोषणा गरे पनि यसको विस्तृत कार्यतालिका र प्रत्येक स्थानीय तहमा सञ्चालन हुने कार्यक्रम आज (आइतबार) घोषणा हुँदैछ ।
तर, सभापति थापाले विभिन्न औपचारी तथा अनौपचारिक कार्यक्रमहरूमा पार्टीका आगामी चार वर्षका गतिविधि सञ्चालन गर्न एकीकृत कार्ययोजना बनाउने बताउदै आएका छन् । पार्टी कार्यालयले तयार पार्ने उक्त कार्ययोजना केन्द्रीय कार्यसमितिमा पेस भएपछि निर्धारित क्यालेन्डरअनुसार सङ्गठन सञ्चालन गरिने नेताहरूले बताएका छन् ।
महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई वडा तहका सदस्य, समर्थक र आम नागरिकसम्म पुर्याउने कांग्रेसको लक्ष्य रहेको आचार्यले जानकारी दिए ।
उनका अनुसार मंसिरको अभियानलाई त्यसैको प्रारम्भिक चरणका रूपमा अघि बढाउन खोजिएको छ । अभियानमार्फत पार्टीको राजनीतिक धारणा जनतासमक्ष पुर्याउने, मतदाताको असन्तुष्टि बुझ्ने, सामाजिक गतिविधिमा नेता तथा कार्यकर्ता परिचालन गर्ने र आगामी निर्वाचनका लागि सङ्गठनलाई तयार पार्ने कांग्रेसको योजना छ ।