सत्ताको सनक र सामाजिक सञ्जालको प्रतिक्रियाका आधारमा राज्य चलाउन खोजियो : थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारमा रहेकाहरूमा ‘हामी नै राज्य (स्टेट) हौं’ भन्ने अहङ्कार पलाएको बताएका छन् ।

कांग्रेस मुख्यालयमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘राज्यका निकाय र शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । सरकारमा बसेकाहरूलाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थालेपछि समस्या सुरु हुन्छ । यसलाई सामान्यीकरण गर्न मिल्दैन, अब हद नाघेको छ ।’

लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले सीमा नाघेको भन्दै सभापति थापाले कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

समाचार लेखेकै आधारमा सञ्चारगृहभित्र प्रवेश गरी पत्रकार पक्राउ गर्ने सरकारी कदमले शाही शासनकालको झल्को दिएको उनको भनाइ छ ।

गगनले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको गतिविधि विचित्र र शङ्कास्पद देखिएको बताए ।

‘पहिले प्रहरीले पत्रकार पक्राउ गर्यो, प्रधानमन्त्रीको सचिवालयबाट ‘हामीलाई केही थाहा छैन’ भन्ने वक्तव्य आयो । फेरि प्रहरीले मध्यराति प्रधानमन्त्री कार्यालयको चासोलाई सम्बोधन गर्न पक्राउ गरिएको भन्यो र शनिबार बिहान त्यो वक्तव्य पनि डिलिट गरियो,’ उनले भने ।

यस घटनाले सरकारले राज्य, नागरिक अधिकार र प्रेस स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ ।

प्रहरी आफै निर्णय गरेर मिडिया हाउस नगएको ठोकुवा गर्दै थापाले सत्ताको सनक र सामाजिक सञ्जालको प्रतिक्रियाका आधारमा राज्य चलाउन खोजिएको आरोपसमेत लगाए ।

Share News