विकासन्युज

मोबाइल लुटेर आफ्नो बैंक खातामा पैसा ट्रान्सफर गर्ने तीन जना पक्राउ

काठमाडौं । मोबाइल लुटेर आफ्नो बैंक खातामा पैसा ट्रान्सफर गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार काठमाडौंबाट १९ समीर तामाङ, १८ वर्षीय जनम तामाङ र १८ वर्षीय प्रज्वल राई पक्राउ परेका हुन् ।  उनीहरूले मोबाइल लुटेर मोबाईलमा रहेको मोबाईल बैंकिङबाट बैंक खाता तथा वालेटमा भएको २ लाख २७ हजार ६ सय रुपैयाँ विभिन्न बैंक तथा वालेट लगायत विभिन्न पसलहरूमा ट्रान्सफर गरेका थिए । रकम चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न रहेका उनीहरुलाई बैंकिङ कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  

लाइसेन्स नवीकरण नहुँदा औषधी थन्किएर बसेका छन् : कार्यकारी निर्देशक डा.केसी

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेका केही औषधी लाइसेन्स नवीकरण नहुँदा गोदाममै थन्किएर बसेको बताएको छ । सोमबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।  समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीका अनुसार औषधी उत्पादन तथा विक्रीवितरणको लागि औषधि व्यवस्था विभागबाट लाईसेन्स नविकरण हुनपर्छ । तर विभागले लाइसेन्स नवीकरण नगरिदिँदा औषधि विक्रीवितरणमा समस्या भएको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा २ सय १५ वटा औषधिको लाइसेन्स नवीकरण गरिएको थियो । तर चालु वर्षमा भने हालसम्म ४० वटाको मात्रै नवीकरण भएको छ ।  उनले थप १६ वटा औषधिको लाइसेन्स नवीकरणको लागि प्रक्रियामा लगिएको जानकारी दिए । वैद्यखानाले औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार लैजान लागेको छ । आगामी दिनमा औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार लैजान ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी ) लागू गर्ने तयारी गरेको उनले जानकारी दिए । डा. केसीका अनुसार शिलाजित, मिमिया लगायत पानीयुक्त औषधिलाई जिएमपी मापदण्डअनुसार उत्पादन गर्ने योजना बनाइएको छ । यसका लागि ठेक्का प्रक्रिया समेत अघि बढिसकेको उनले जानकारी दिए ।  निजी क्षेत्रका अधिकांश औषधी उत्पादकले जिएमपी प्रमाणपत्र लिइसकेको र सर्वोच्च अदालतको फैसलाअनुसार पनि जिएमपी अनिवार्य भइसकेकाले वैद्यखाना पनि सोही मार्गमा अघि बढ्न लागेको उनले बताए । उनका अनुसार समितिले चालु आर्थिक वर्षभित्र जिएमपी कार्यान्वयन पूरा गर्ने लक्ष्य लिएको छ । उनले भने, ‘औषधी उत्पादनका लागि गतवर्ष २१५ वटाको लाईसेन्स नवीकरण गरेका थियौं । अहिले ४० वटा गरेका छौं । हामीसंग के समस्या छ भने हाम्रो औषधि बजारमा विक्री गर्नको लागि डिडिएले लाईसेन्स दिनुपर्छ, त्यो लाईसेन्स नविकरण नभएर कतिपय औषधि थन्किएका छन् ।’  उनले समितिले औषधि उत्पादन र बजारीकरणमा जोड दिएको बताए । बजारीकरणको लागि स्थानीय तहसँग समन्वय गरेको उनले जानकारी दिए । उनका अनुसार पछिल्लो समय औषधि खरिद प्रक्रियालाई पनि सरल बनाइएको छ । कम जनशक्ति र बजेटका बाबजुत पनि वैद्यखानाले उल्लेख्य सुधार गरिरहेको उनले बताए । सरकारसँग भौतिक संरचना निर्माण तथा औषधी उत्पादनको लागि आवश्यक उपकरण उपलब्ध गराउन माग गरे । उनले औषधि उत्पादनको लागि सुधारिएको चुल्हो बनाउन आवश्यक टेण्डर प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिए । 

आयल निगम भन्छ: अझै ८ अर्ब घाटामा छौं

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपाल आयल निगमको वित्तीय अवस्था चुनौतीपूर्ण बनेको छ । निगमले जारी गरेको पछिल्लो विवरण अनुसार इन्डियन आयल कर्पोरेसनबाट मार्च ३१, २०२६ (चैत १७ गते) मा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । निगमका अनुसार मूल्य समायोजन गर्दा समेत अधिकांश पेट्रोलियम पदार्थमा लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम छ। जसका कारण निगमले भारी नोक्सानी व्यहोरिरहेको छ ।  सबैभन्दा बढी घाटा डिजेलमा रहेको छ । प्रतिलिटर २९४.९९ रुपैयाँ लागत परेको डिजेललाई निगमले २०७ रुपैयाँमा बिक्री गरिरहेको छ, जसबाट प्रतिलिटर ८७.९९ रुपैयाँ घाटा भइरहेको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा छ । प्रतिसिलिन्डर लागत २ हजार ३४१.२५ रुपैयाँ पुग्दा बिक्री मूल्य २,०१० रुपैयाँ मात्र तोकिएको छ । पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ र मट्टितेलमा ३६.७० रुपैयाँ घाटा कायम छ ।आन्तरिकतर्फको हवाई इन्धनमा पनि सामान्य घाटा छ भने बाह्यतर्फ मात्र निगम केही नाफामा देखिएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यलाई लिएर फैलिएका नकारात्मक र भ्रामक सूचनाप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले वास्तविक लागत र वित्तीय अवस्थालाई बुझिदिन आम उपभोक्तालाई आग्रह गरेको छ । जटिल परिस्थिति र ठूलो घाटाका बाबजुद पनि निगमले हालको आपूर्ति व्यवस्थालाई सहज बनाइरहेको दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने क्रम सुरु भएमा सोही अनुसार मूल्य समायोजन गरी उपभोक्तालाई राहत दिइनेछ । ’ हालको अन्तर्राष्ट्रिय बजारको अस्थिरता र त्यसले सिर्जना गरेको आर्थिक भारलाई मनन गर्दै यथार्थ वस्तुस्थितिको मूल्याङ्कन गरिदिन निगमले सरोकारवाला र उपभोक्तालाई अनुरोध गरेको छ ।  

सिएनआईसँग ऊर्जामन्त्रीको छलफल, विद्युत् खपत रणनीति बनाउँदै सरकार

काठमाडौं । नेपाल उद्योग परिसंघ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठबीच ऊर्जा क्षेत्रको विकासका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले सोमबार मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै ऊर्जा क्षेत्रका समसामयिक विषयमा छलफल गरेको हो । छलफलका क्रममा अध्यक्ष पाण्डेले विद्युत् खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले उद्योगलाई आवश्यक ऊर्जा उत्पादन गरी ह्विलिङ चार्ज लगाएर प्रसारण गर्न दिने नीति कार्यान्वयन गर्न तथा निजी क्षेत्रलाई विद्युत्को आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको अनुमति दिने नीति लिन सुझाव दिए । त्यस्तै, नेपाल सरकारबाट स्वीकृति लिएर सर्वे सम्पन्न गरिसकेका तर विद्युत् खरिद सम्झौता (पीपीए) हुन बाँकी सबै परियोजनासँग तत्काल पीपीए गर्नुपर्ने, विद्युत्को आन्तरिक खपत बढाउने नीति लिनुपर्ने तथा जीवाश्म इन्धनमा आधारित उद्योगलाई विद्युत्मा आधारित उपकरणबाट प्रतिस्थापन गर्न सहुलियत उपलब्ध गराउनुपर्ने माग उनले राखे । अध्यक्ष पाण्डेले वैकल्पिक ऊर्जा स्रोततर्फ पनि पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिए । सो अवसरमा मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए । उनले विद्युत् निर्यातसँगै आन्तरिक खपत कसरी बढाउन सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । मन्त्री श्रेष्ठका अनुसार सरकारले जलाशययुक्त आयोजना, नवीकरणीय ऊर्जा तथा विद्युत् खपत वृद्धि रणनीतिलाई उच्च प्राथमिकतामा राखेको छ । उनले ऊर्जा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कसरी थप योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा निजी क्षेत्रबाट स्पष्ट सुझाव अपेक्षा गरिएको बताए । छलफलमा परिसंघका उपाध्यक्ष गोकुल भण्डारी, पदाधिकारी सदस्य विदुषी राणा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझा लगायतको सहभागिता रहेको थियो ।

ललितपुर महानगरको नयाँ फड्को : फोहोर संकलनमा विद्युतीय गाडी, वार्षिक ७० लाख बचत

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति अन्तर्गत ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले वातावरणमैत्री शहर बनाउने आफ्नो अभियानलाई थप सशक्त बनाउँदै ११ वटा विद्युतीय फोहोर संकलन गाडीहरू सञ्चालनमा ल्याएको हो ।  महानगर प्रमुख चिरिबाबु महर्जनले एक कार्यक्रमकाबीच यी गाडीहरू हस्तान्तरण गरे । फोटोन कम्पनीका  यी गाडीहरू विशेष गरी ललितपुरका पुराना र साँघुरा गल्लीहरूमा सहजै जानसक्ने गरी डिजाइन गरिएका छन् । ४.९ मिटरको टर्निङ रेडियस भएका यी गाडीहरूले महानगरको फोहोर व्यवस्थापनमा क्रान्तिकारी सुधार ल्याउने विश्वास गरिएको छ ।  उनले उपलब्ध भएसम्म अब पेट्रोल र डिजेलबाट चल्ने गाडी नचल्ने बताए । महानगरकाअनुसार यी गाडीहरूमा ‘इलेक्ट्रिक बुम’ जडान गरिएको छ, जसले गर्दा फोहोर खन्याउन थप जनशक्तिको आवश्यकता पर्दैन । साथै, सबै गाडीहरूमा जडान गरिएको छ, जसले गर्दा गाडीको अवस्था र रुटको रियल–टाइम अनुगमन गर्न सकिनेछ ।   उनले भने, ‘हामीले एउटा नीति बनाएका छौं, जहाँसम्म उपलब्ध हुन्छ, हामी पेट्रोल र डिजेलबाट चल्ने गाडी किन्दैनौं । यो हाम्रो नगर सभाबाट अनुमोदन भएको नीति हो । ललितपुरलाई उज्यालो र हरियाली सहर बनाउने हाम्रो साझा प्रयासमा यो नयाँ अध्याय थपिएको छ ।’  यो पहलले वातावरण संरक्षण मात्र नभई महानगरको खर्चमा पनि ठूलो कटौती गर्ने उनको विश्वास छ । डिजेल गाडीको तुलनामा विद्युतीय गाडी सञ्चालन गर्दा वार्षिक करिव ७० लाख रुपैयाँ वचत हुने महानगरको प्राविधिक अध्ययनले देखाएको छ ।    

कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धिका लागि नयाँ वर्ष २०८३ को अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ । उक्त कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली ले अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरता केवल सूचना दिने प्रक्रिया मात्र नभई व्यवहार परिवर्तन गराउने माध्यम भएको उल्लेख गर्दै कथा तथा भिडियो सामग्रीले त्यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्‍याउने विश्वास व्यक्त गरेको छ । बैंकका अनुसार कथा संग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्त्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग तथा आर्थिक योजना जस्ता विषयलाई सरल, रोचक र सन्देशमूलक कथामार्फत समेटिएको छ । यो कथा संग्रह देशभरका विभिन्न विद्यालयमा वितरण गरिने बैंकले जनाएको छ। यसबाट विद्यार्थीहरूमा प्रारम्भिक उमेरदेखि नै वित्तीय अनुशासन, बचत गर्ने बानी तथा जिम्मेवार खर्च गर्ने व्यवहार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, बैंकले आफ्ना नयाँ ग्राहकलाई खाता खोल्दा प्रोत्साहनस्वरूप खुत्रुकेसँगै उक्त कथा संग्रह समेत उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ । यसले बचत व्यवस्थापनलाई व्यवहारिक रूपमा प्रवर्द्धन गर्ने विश्वास बैंकको छ । अभियानअन्तर्गत कथा संग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण समेत गरिएको छ । भिडियो सामग्रीमा कथाका पात्रलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै वित्तीय सन्देशलाई अझ प्रभावकारी ढंगले समेटिएको बैंकले जनाएको छ । बैंकका अनुसार यी भिडियो विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको हो, जसले वित्तीय साक्षरतालाई मनोरञ्जनात्मक र सहज माध्यमबाट बुझ्न मद्दत गर्नेछ । कथा संग्रहसँग सम्बन्धित भिडियो सामग्री प्रत्येक हप्तामा दुई दिन बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । बैंकले यस अभियानमार्फत समुदायस्तरमा वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ ।

एलएस अटोको नयाँ विद्युतीय एसयूभी ‘एलईभी एक्स’ सार्वजनिक, यस्ता छन् फिचर्स

काठमाडौं । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक ब्लु कर्पोरेसन प्रालिले आफ्नो नयाँ मोडल एलईभी एक्स अल ह्वील ड्राइभ इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ गाडी सार्वजनिकसँगै कम्पनीले काठमाडौंको ज्ञानेश्वरमा नयाँ शोरुमसमेत सञ्चालनमा ल्याएको छ । विगत २५ वर्षदेखि अटोमोबाइल डिजाइन र इन्जिनियरिङमा विश्वकै ठूलो डिजाइन हाउसमध्येको एक ‘सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी’ अन्तर्गतको एलएस अटोले आफ्नै ब्राण्डमा इभी उत्पादन गरी विश्व बजारमा विस्तार गरिरहेको छ । नेपाली बजारमा यसअघि नै एलईभी-०१ बिक्री गर्दै आएको ब्लु कर्पोरेसनले अब यसको परिष्कृत र शक्तिशाली भर्सन एलईभी एक्स भित्र्याएको हो ।  एलईभी एक्समा ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५५० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । त्यस्तै, एलईभी ०१ ले ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । एलईभी एक्समा फ्रन्ट र रियर गरी १९८ किलोवाटको मोटर जडान गरिएको छ, जसले यसलाई फोर ह्वील ड्राइभको शक्ति प्रदान गर्दछ । यसमा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा आधारित लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशत बढी दक्ष मानिन्छ । यसको ग्राउण्ड क्लियरेन्स २२१ एमएम रहेको छ । यस गाडीमा प्रिमियम डिजाइनका साथै आधुनिक सुविधाहरूमा ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, प्यानोरामिक मुनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टीकलर एम्बियन्ट लाइट र लेदरेट सिट छ । सुरक्षाका लागि १० वटा एयरब्याग, एबीएस ईबीडी हिल असिस्ट र क्रूज कन्ट्रोल जस्ता फिचर छन् । यो गाडीले युरो एनक्याप बाट ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । नयाँ शोरुम उद्घाटन र नयाँ वर्षको अवसरमा कम्पनीले विशेष एक्सचेन्ज क्याम्प र अफरहरू सार्वजनिक गरेको छ । कम्पनीका महाप्रबन्धक नबिन फुयालका अनुसार शोरुममा आएर टेस्ट-ड्राइभ गर्ने ग्राहकलाई आकर्षक गिफ्ट ह्याम्पर र गाडी बुकिङ गरी डेलिभरी लिने ग्राहकलाई चीन भ्रमण गराइनेछ । नेपाली बजारमा यसको मूल्य ५९ लाख  ९५ हजार रुपैयाँ तोकिएको छ । यस्तै, एलईभी ०१ को मूल्य ६४ हजार ९५ हजार रुपैयाँ तथा एलईभी एक्स ८४ लाख ९५ हजार रुपैयाँ रहेको छ ।  कम्पनीले मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी दिएको छ । काठमाडौंको कालोपुलमा कम्पनीको आफ्नै सर्भिस सेन्टर सञ्चालनमा आइसकेको छ भने देशभर चार्जिङ स्टेसन विस्तार गर्ने योजना रहेको छ ।

नयाँ वर्ष लक्षित महालक्ष्मी विकास बैंकका आकर्षक योजना सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना अनुरूप ग्राहककेन्द्रित कार्यक्रम ल्याएको जनाएको छ । बैंकका अनुसार मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने तीन जना ग्राहकलाई गोलाप्रथाबाट आकर्षक भ्रमण प्याकेज प्रदान गरिनेछ । विजेता तीन जनाले आन्तरिक पर्यटनअन्तर्गत आफ्नो जोडीसहित पोखरा, चितवन र मनकामना भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । यस्तै, डिजिटल बैंकिङलाई थप प्रोत्साहन गर्न बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न डिजिटल कारोबारबापत प्रदान गरिने रिवार्ड पोइन्ट प्रणालीलाई थप प्रवर्द्धन गर्ने जनाएको छ । ग्राहकले प्राप्त गर्ने रिवार्ड पोइन्ट ‘लभ पोइन्ट्स रिवार्ड्स’ एपमा जम्मा हुनेछन्, जुन प्ले स्टोर तथा एप स्टोरमार्फत डाउनलोड गर्न सकिनेछ । उक्त रिवार्ड पोइन्ट ग्राहकले निश्चित सर्तअनुसार विभिन्न सामान खरिद तथा अन्य प्रयोजनमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यसैगरी, नयाँ वर्ष २०८३ को अवसरमा बैंकले सुलभ ब्याजदरमा महालक्ष्मी घर कर्जा योजना समेत सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत आवासीय तथा व्यापारिक घर-जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, घर थप, पुनर्निर्माण तथा मर्मतसम्भारका लागि न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्षसम्मको कर्जा उपलब्ध गराइनेछ । उक्त कर्जामा ७ वर्षसम्म स्थिर ब्याजदरको सुविधा समेत रहने बैंकले जनाएको छ । ‘सबल बैंक, सफल सहकार्य’ नारालाई आत्मसात गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने बैंकसँग ८ लाख ५० हजारभन्दा बढी ग्राहक आबद्ध छन् ।