शव व्यवस्थापनमा नेपाल प्रहरी सक्रिय, लुटपाटमा संलग्न ३० भन्दा बढी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले रसुवा बाढीले प्रभावितको खोजतलास, उद्धार र राहत वितरणका साथै शव व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिबार कुरा गर्दै विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सङ्गठन अहोरात्र खटिएको बताएका हुन् । प्रहरीका अनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ । बेपत्ता व्यक्तिहरूको खोजीका लागि अनलाइन माध्यमबाट निवेदन लिने व्यवस्था मिलाइएको र घाइतेहरूको विवरण प्रहरीको फेसबुक पेजमार्फत नियमित अद्यावधिक भइरहेको छ । हराइरहेका व्यक्तिको हुलिया र तीनपुस्ते विवरणका आधारमा अस्पतालहरूमा समन्वय गरी पहिचान गर्ने कार्य भइरहेको डीआईजी काफ्लेले बताए । यसैगरी, सम्पर्कविहीन विदेशी पर्यटकहरूको खोजी र विवरण संकलनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा पर्यटक प्रहरी परिचालन गरिएको छ । नेपाल टेलिकमसँगको समन्वयमा बेपत्ता व्यक्तिहरूको अन्तिम लोकेसन ‘ट्याली’ गरी खोजी कार्यलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ । विपद्को मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कडा निगरानी राखेको छ । चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै, बाढीले बगाएर ल्याएको बैंकको भल्ट (सेफ) फोडेर चोरी गर्न खोज्ने २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताए । सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काफ्लेले उल्लेख गरे । अवरुद्ध भएका मुख्य राजमार्गहरू खुलाउन प्रहरी टोली निरन्तर खटिएको र धादिङ लगायतका स्थानमा सडक सुचारु गराइएको पनि जानकारी दिए । नदी किनारमा रहेका शवहरूको पहिचानका लागि ड्रोन प्रयोग गरी खोजी कार्य भइरहेको उनले बताए । काठमाडौँको टिचिङ अस्पताल, पोखरा र चितवन लगायतका स्थानमा शव व्यवस्थापन र हस्तान्तरणको प्रक्रिया सुरु गरिएको छ । पहिचान हुन नसकेका शवहरूको हकमा नयाँ पारित कार्यविधिअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ । उद्धार र खोजी कार्यमा केही प्राविधिक र भौतिक चुनौती रहेको प्रहरीले जनाएको छ । खोला किनारको दलदलमा हिँड्न सहज हुने विशेष प्रकारका बुट, वायरलेस ट्रयाकिङ डिभाइस र कम्तीमा १०० केजी तौल बोक्न सक्ने क्षमताका ड्रोनहरू आवश्यक रहेको प्रवक्ता काफ्लेले बताए । प्रभावित क्षेत्रमा थप फरेन्सिक चिकित्सकहरूको आवश्यकता रहेको र शवलाई सुरक्षित राख्न ‘रेफ्रिजिरेटिङ कन्टेनर’ का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय भइरहेको उनले जानकारी दिए। हाल जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा शव व्यवस्थापनका लागि स्थान पहिचान गर्ने कार्य समेत भइरहेको काफ्लेले बताए ।
नुवाकोटका देवचन्द्र रिजाल सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह
काठमाडौं । रसुवा गएका नुवाकोट विदुर नगरपालिका–२ निवासी देवचन्द्र रिजाल सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार रिजालसँग भदौ ९ गते राति करिब ८ देखि ९ बजेसम्म सम्पर्क भएको थियो। भदौ १० गतेदेखि उनीसँग कुनै पनि सम्पर्क हुन नसकेको परिवारले जनाएका छन्। परिवारका अनुसार बुधबार दिउँसो करिब १ बजेपछि उनको मोबाइल फोन बन्द भएको थियो। त्यसयता उनको अवस्था तथा उनी कहाँ छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। बुधबार रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध भइरहेका बेला रिजालसँग पनि सम्पर्क विच्छेद भएको परिवारजनले बताएका छन्। उनलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी हुने व्यक्तिलाई परिवारजन तथा सम्बन्धित निकायलाई जानकारी गराइदिन परिवारले आग्रह गरेका छन्।
बाढीपीडितका लागि ग्यास उद्योग संघले १२ सय बढी सिलिन्डर सहयोग गर्ने
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगममार्फत लक्षित वर्गलाई ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । संघका अनुसार प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न र बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाउन सबै पक्षसँग अपिल गरिएको छ । संघले विपद् कुनै एक व्यक्ति वा संस्थाको मात्र समस्या नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई सम्बोधन गर्न ग्यास सहयोग गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले बाढी प्रभावित परिवारसम्म राहत सामग्री छिटो र प्रभावकारी रूपमा पुर्याउन संघ प्रतिबद्ध रहेको बताएका छन्।
प्रहरीले बेवारिसे शवको व्यवस्थापन कसरी गर्दैछ ?
काठमाडौं । नेपाल प्रहरीले बेवारिसे तथा पहिचान नखुलेका शव एवम् शरीरका अंगहरूको व्यवस्थापनको कार्यलाई अगाडि बढाएको छ । प्रहरीले संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शव गृहको अभावका कारण शवहरू सड्न सुरू भएको जनाएको छ । रोगको सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रिएर दुर्गन्ध फैलने भएकाले सामूहिक शव व्यवस्थापन प्रक्रियालाई तीव्रता दिएको हो । चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन गर्ने प्रक्रिया प्रहरीले अघि बढाइसकेको छ । अन्य जिल्लामा समेत सोही अनुरूप शव व्यवस्थापनको कार्यलाई अवलम्बन गरिएको प्रहरीले बताएको छ । हालसम्म रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४९ जना, चितवनमा २ सय ४८ जना, गोरखामा ५४ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिममा ७५ जनाको गरी जम्मा ६ सय ६९ जनाको शव फेला परेको छ । विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा आंशिक अंगहरु आवश्यक सावधानीपूर्वक संकलन गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ । शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा डेड बडी ब्यागमा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार फरेन्सिक डाक्टरको उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरीन्छ । पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग र चिन्हहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा आवश्यक पोस्टमार्टम परीक्षण हुन्छ । पोस्टमार्टम पश्‍चात शवहरूलाई पहिचानका लागि सुरक्षित रूपमा राखिएको तथा सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको छ । प्रहरीले फोटो वा अन्य माध्यमबाट शव पहिचान भएको जानकारी प्राप्त भई नागरिकहरू हेल्प डेस्कमा आएमा उपलब्ध शवका थप फोटो, हुलिया, कपडा तथा घटनास्थल लास जाँच मुचुल्कामा उल्लेखित विवरणका आधारमा आवश्यक सनाखत तथा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई शव बुझाउने गरेको छ । पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेतरकोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा भविष्यमा आवश्यक परेमा पहिचान गर्न सकिने गरी डीएनए नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको प्रहरीले बताएको छ । पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवहरूको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गरिएको जानकारी दिएको छ । शवलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको संकेतरकोड नम्बरसहित शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेसन फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको छ। जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डीएनए नमूना, संकेत नम्बर, हुलिया, सनाखत सम्बन्धी विवरण, पोस्टमार्टम रिपोर्ट, लासजाँच मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिने प्रहरीले बताएको छ । भविष्यमा कुनै परिवार र आफन्तले आफ्नो सदस्यको रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्ने प्रहरीले जानकारी दिएको छ । बेवारिसे तथा पहिचान नखुलेका शवहरूको विवरण नेपाल प्रहरीको अफिसियल बेवसाइट राखिएको पहिचान नखुलेको शवहरूको विवरण आइकनबाट हेर्न सकिनेछ ।
एनसेलले बढायो निःशुल्क सञ्चार सेवा, १८ मोबाइल टावर पुनः सञ्चालनमा
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ। शनिबारदेखि लागू हुने गरी सेवा अवधि थपिएसँगै प्रभावित क्षेत्रका ग्राहकले थप एक सातासम्म यी सेवा निःशुल्क प्रयोग गर्न पाउने भएका छन्। यसअघि कम्पनीले बाढी प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, सबै नेटवर्कमा भ्वाइस कल र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त अवधि शुक्रबार सकिने भएपछि सेवा निरन्तरता दिँदै थप सात दिन विस्तार गरिएको एनसेलले जनाएको छ। कम्पनीका अनुसार विपद्को समयमा सञ्चार सेवा सूचना आदानप्रदान, उद्धार तथा राहत वितरण र आपसी समन्वयका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले प्रभावित समुदायलाई परिवार, आफन्त र उद्धार टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको हो। एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कठिन परिस्थितिमा सञ्चार पहुँच कायम राखेर प्रभावित समुदायलाई सहयोग पुर्याउने प्रयास जारी रहने बताए। उनले यसले परिवारसँग सम्पर्क कायम राख्न र उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरे। १८ मोबाइल टावर पुनः सञ्चालनमा बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका १८ वटा मोबाइल टावर एनसेलले पुनः सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार अझै प्रभावित रहेका अन्य ९ वटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको छ। यसअघि एनसेल फाउन्डेसनमार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग पनि उपलब्ध गराएको थियो। साथै बाढी प्रभावित क्षेत्रमा सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न एसएमएस र सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गरिरहेको जनाएको छ।
चिनियाँ सुरुङ विज्ञ रसुवा पुगे, टनेलमा फसेका कामदारको उद्धार गर्ने
काठमाडौं । चिनियाँ सुरुङसम्बन्धी विज्ञहरूको टोली उद्धार गर्न रसुवामा पुगेका छन् । उनीहरूले जल विद्युतको आयोजनामा फसेका कामदारलाई उद्धार गर्ने छन् । अहिले पनि जलविद्युतको सुरुङभित्र सयौँको संख्यामा फसेको बताइएको छ। उनीहरूले सुरुङ भित्र फसेका कामदारलाई बाहिर निकाल्ने छन् । नेपाली सुरक्षाकर्मीसँगको समन्वयमा चिनियाँ सुरुङसम्बन्धी विज्ञहरूले काम गर्ने छन् । बुधबार बिहान आएको रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ६ सय भन्दा बढी मानिसको शव फेला परेको छ । सयौँको संख्यामा काठमाडौं लगायतका रसुवा र नुवाकोटका अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
जगन्नाथदेवल कारागारबाट फरार जबरजस्ती करणीका दोषी रुपन्देहीमा पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार कैदीलाई नेपाल प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–४ का २९ वर्षीय पुरुषोत्तम पहारीलाई शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बुद्धचोकबाट पक्राउ गरिएको हो । उनी २०७५ असोज १४ गतेदेखि काठमाडौंको जगन्नाथदेवलस्थित कारागार कार्यालयमा कैद भुक्तान गरिरहेका थिए । तर २०८२ भदौ २४ गते भएको ‘आन्दोलन’ का क्रममा कारागारबाट फरार भएका थिए । त्यसबेला उनको १७ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । फरार भएपछि रुपन्देहीमा लुकीछिपी बस्दै आएका पहारीलाई प्रहरी टोलीले खोजी गरी पक्राउ गरेको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न कारागार कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्यानले दियो ३० लाख रुपैयाँ
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै क्यानले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै प्रभावित परिवार र समुदायप्रति समवेदना प्रकट गर्दै उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सधैं प्रतिबद्ध रहने जनाएको छ । क्यानका अनुसार अस्ट्रेलियामा जारी टप इन्ड टी–२० प्रतियोगिताअन्तर्गत शनिबार नेपाल ‘ए’ र हैदराबाद किंग्समेन एकेडेमीबीचको खेल सुरु हुनुअघि दुवै टोलीका खेलाडीले नेपालमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै एक मिनेट मौनधारण गरेका थिए । प्रतियोगिताका क्रममा बाढीपीडितको सहयोगका लागि ‘फन्ड राइजिङ’ अभियान पनि सञ्चालन भइरहेको क्यानले जनाएको छ ।