काठमाडौं । सञ्चालनमा आएको करिब डेढ वर्षमै कजारिया रमेश टाइल्स लिमिटेडले ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीले १८ महिनामै ३ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेको हो ।
कम्पनीका अनुसार उत्पादन सुरु भएयता आम्दानी र नाफा मार्जिन सन्तोषजनक रूपमा वृद्धि भइरहेको छ । यस अवधिमा सञ्चालन नाफा मार्जिन करिब १८.३ प्रतिशत रहेको छ, जुन प्रारम्भिक सञ्चालन चरणका लागि सकारात्मक मानिएको छ ।
नवलपरासी जिल्लाको बर्दघाटमा रहेको कम्पनीको उत्पादन प्लान्टले २०२४ सेप्टेम्बर ७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । जनवरी २०२३ मा स्थापना भएको कम्पनीले नेपालमा भित्ते तथा भुइँमा प्रयोग हुने गुणस्तरीय टाइल उत्पादन गर्दै आएको छ । कम्पनी भारतको कजारिया सिरामिक्स लिमिटेड र नेपालको रमेश कर्प समूहबीच ५०-५० प्रतिशत साझेदारीमा स्थापित संयुक्त उद्योग हो ।
उद्योगको वार्षिक उत्पादन क्षमता ५ करोड ४९ लाख वर्गफुट रहेको छ । जसमा २ करोड ५६ लाख वर्गफुट ग्लेज्ड भिट्रिफाइड टाइल (भुइँमा प्रयोग हुने) र २ करोड ९३ लाख वर्गफुट भित्ते टाइल उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले उत्पादन गर्ने सबै टाइल ‘कजारिया’ ब्रान्ड नामबाट नेपाली बजारमा बिक्री भइरहेको छ।
कजारिया सिरामिक्स लिमिटेडले भारतमा ३७ वर्षभन्दा बढी समयदेखि सिरेमिक टाइल उत्पादन गर्दै आएको छ । साथै, नेपालसहित विभिन्न मुलुकमा ‘कजारिया’ ब्रान्डमार्फत निर्यात अनुभव रहेको कम्पनीले जनाएको छ । कजारिया सिरामिक्सको प्राविधिक दक्षता तथा उत्पादन व्यवस्थापन अनुभवले कम्पनीको सञ्चालन दक्षता बढाउने अपेक्षा गरिएको छ । साथै, नेपालमा पहिलेदेखि नै स्थापित ‘कजारिया’ ब्रान्ड, तयार डिलर सञ्जाल तथा रमेश कर्प समूहको वितरण क्षमताले बजार विस्तारमा सहयोग पुगेको कम्पनीको भनाइ छ ।
सरकारले स्वदेशी टाइल उत्पादकलाई दिएको उच्च भन्सार संरक्षणका कारण सस्तो आयातित टाइलसँगको प्रतिस्पर्धाबाट केही हदसम्म सुरक्षा मिलेको कम्पनीले जनाएको छ । केही वर्षअघिसम्म नेपाली बजार पूर्ण रूपमा आयातित टाइलमा निर्भर थियो । तर स्वदेशी उत्पादन सुरु भएपछि सरकारले आयातित तयारी टाइलमा भन्सार महसुल ४० प्रतिशत पुर्याएको छ भने कच्चा पदार्थमा ५ प्रतिशत मात्र कायम गरिएको छ । यसअघि तयारी टाइलमा करिब ३० प्रतिशत भन्सार लाग्ने गरेको थियो ।
कम्पनीका अनुसार नेपालमा बढ्दो सहरीकरण र आधुनिक निर्माण प्रविधिको प्रयोग विस्तारसँगै भुइँ तथा भित्तामा प्रयोग हुने टाइलको माग निरन्तर बढिरहेको छ । विशेषगरी शहरी क्षेत्रमा टाइलको प्रयोग बढ्दै जाँदा स्वदेशी उत्पादकहरूको दीर्घकालीन व्यावसायिक सम्भावना सकारात्मक देखिएको कम्पनीले जनाएको छ ।
तर पछिल्लो समय स्वदेशमै टाइल उद्योगहरूको संख्या बढ्दै जाँदा प्रतिस्पर्धा तीव्र बनेको छ, जसले मूल्य प्रतिस्पर्धा बढाएको कम्पनीको भनाइ छ । साथै, भविष्यमा सरकारी नीतिमा परिवर्तन भई भन्सार संरचनामा कुनै प्रतिकूल संशोधन भएमा उद्योगले नियामकीय जोखिम सामना गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरिएको छ ।
साथै, कम्पनीको माग निर्माण तथा रियल इस्टेट क्षेत्रको समग्र अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको छ। हाल निर्माण क्षेत्र अपेक्षाकृत सुस्त र अनिश्चित अवस्थामै रहेकाले मागमा उतारचढाव देखिने गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ६० करोड रुपैयाँ अल्पकालीन गरी कुल ४ अर्ब २९ करोड ३६ लाख रुपैयाँ ऋण लिएको छ ।