काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त भएका छन् । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि अर्थमन्त्री वाग्लेले थापालाई बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन् ।
गोरखाको नरेश्वरमा जन्मिएका थापा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (ईडी) का रूपमा कार्यरत थिए । करिब तीन दशक नेपालको वित्तीय क्षेत्रमा बिताएका उनी आगामी चैतमा अनिवार्य अवकाशमा जाने तयारीमा थिए । तर, अवकाश हुनुअघि नै उनी बीमा क्षेत्रको नियामक निकायको नेतृत्वमा पुगेका छन् ।
सन् १९९७ अर्थात् २०५४ सालमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थापाले २९ वर्षभन्दा बढी समय केन्द्रीय बैंकमा बिताएका छन् । यस अवधिमा उनले सहायक निर्देशक, उपनिर्देशक, निर्देशक हुँदै कार्यकारी निर्देशकसम्मको जिम्मेवारी सम्हालेका छन् ।
थापासँग बीमा क्षेत्रसँग सम्बन्धित संस्थागत नेतृत्व र सञ्चालक तहको अनुभव पनि छ । उनी निक्षेप तथा कर्जा सुरक्षण कोष र राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक रूपमा काम गरेको अनुभव छ ।
व्यवस्थापन सङ्घ नेपालको प्रथम उपाध्यक्षसमेत रहेका त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा एमफिल गरेका छन् । त्यस्तै, पाटन बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर र शङ्करदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका उनले वाणिज्यशास्त्रमा स्नातकसमेत गरेका छन् ।

उनले भारतको सिङ्घानिया विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका छन् । नेपाली बैंकहरूमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभाव उनको विद्यावारिधि अनुसन्धानको मुख्य विषय हो । उक्त उपाधिको समकक्षता हाल त्रिभुवन विश्वविद्यालयबाट मूल्याङ्कनको प्रक्रियामा रहेको छ ।
थापासँग व्यवस्थापन शिक्षण क्षेत्रमा पनि एक दशकभन्दा बढीको अनुभव छ । उनले विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्नुका साथै बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित तालिम कार्यक्रममा स्रोत व्यक्तिका रूपमा काम गरेका छन् । बैंकिङ, व्यवस्थापन र संस्थागत सुशासनसम्बन्धी पुस्तकसमेत प्रकाशित गरेका उनका अनुसन्धानमूलक लेख तथा एक सयभन्दा बढी समसामयिक र विश्लेषणात्मक लेख विभिन्न प्रकाशन तथा पत्रपत्रिकामा प्रकाशित छन् ।
उनले सन् २००८ मा प्रकाशित ‘प्रिन्सिपल्स एन्ड प्राक्टिसेज अफ नेपालीज बैंकिङ’ पुस्तकका सहलेखकका रूपमा काम गरेका छन् । त्यस्तै, सन् २०१० मा ‘प्रिन्सिपल्स अफ म्यानेजमेन्ट’ नामक पुस्तक पनि प्रकाशित गरेका छन् । दक्षिण एसियामा सुशासनका चुनौती तथा नेपाली बैंकिङ प्रणालीमा संस्थागत सुशासनको आवश्यकता र महत्वलगायत विषयमा उनले अन्तर्राष्ट्रिय सम्मेलनमा अनुसन्धानपत्र प्रस्तुत गरेका छन् ।
वित्तीय स्थायित्व, बैंकिङ नियमन, बेसल ढाँचा, जोखिम व्यवस्थापन तथा केन्द्रीय बैंकिङसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय तालिम र गोष्ठीमा सहभागी भएका थापाले अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, मलेसिया, जापान, भारतलगायत विभिन्न देशमा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन् । उनले अन्तर्राष्ट्रिय नियामकीय अभ्यास तथा वित्तीय स्थायित्वसम्बन्धी अनुभवसमेत हासिल गरेका छन् ।
जो बसको खलासी हुँदै राष्ट्र बैंकको ईडी बने