काठमाडौं । तिहारमा काठमाडौं उपत्यकासहित देशभर लोडसेडिङ हुन नदिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन राष्ट्रिय प्रणालीबाट बाहिर रहे पनि तिहारको समयमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न सकिने प्राधिकरणको दाबी छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तिहारमा विद्युत् आपूर्तिमा समस्या नआउने गरी आवश्यक पूर्वतयारी भइरहेको बताए । उनका अनुसार तिहारमा घरायसी उपभोक्ताको विद्युत् खपत बढे पनि उद्योगहरू बन्द हुने भएकाले त्यसले माग व्यवस्थापनमा सहयोग पुग्नेछ ।
गत वर्षको तिहारमा विद्युतको उच्चतम माग करिब १ हजार ९०० मेगावाट पुगेको थियो । यस वर्ष पनि लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग २ हजार ८०० मेगावाटभन्दा बढी नहुने प्राधिकरणको अनुमान छ । तिहारमा उद्योग तथा कलकारखाना बन्द हुने भएकाले औद्योगिक क्षेत्रको खपत घट्ने र घरायसी खपत बढे पनि त्यसले समग्र मागमा ठूलो दबाब नपार्ने श्रेष्ठको भनाइ छ ।
‘तिहारमा घरायसी लोड केही बढ्छ । तर, उद्योगहरू नचल्ने भएकाले औद्योगिक क्षेत्रको लोड घट्छ । यसले घरायसी क्षेत्रमा बढेको मागलाई व्यवस्थापन गर्न सहयोग गर्छ,’ उनले विकासन्युजसँगको कुराकानीमा भने, ‘विद्युत् आपूर्तिमा समस्या नआओस् भनेर सबै आयोजना, क्षेत्रीय कार्यालय र वितरण केन्द्रलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएका छौं ।’
विशेषगरी काठमाडौं उपत्यकासहित ठूला सहरमा तिहारका बेला विद्युत् खपत बढ्ने प्राधिकरणको अनुमान छ । अहिले काठमाडौं उपत्यकामा करिब ४०० देखि ४५० मेगावाटसम्म विद्युत् माग भइरहेको छ । तिहारका बेला यो माग बढेर करिब ५०० मेगावाट पुग्न सक्ने भए पनि ५५० मेगावाट ननाघ्ने प्राधिकरणको आकलन छ । गत वर्षको तुलनामा उपत्यकाको विद्युत् माग केही बढ्ने देखिए पनि त्यसलाई व्यवस्थापन गर्न सकिने श्रेष्ठले बताए ।
गत भदौमा भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुग्दा राष्ट्रिय विद्युत् प्रणालीमा करिब ४३० मेगावाट उत्पादन क्षमता प्रभावित भएको छ । बाढी आएको समयमा नदीमा पानीको बहाव पर्याप्त भएकाले उक्त परिमाणको विद्युत् उत्पादन गुमेको प्राधिकरणको भनाइ छ । यद्यपि, हिउँद सुरु भएसँगै नदीमा पानीको बहाव घट्ने र त्यसअनुसार जलविद्युत् उत्पादन पनि घट्ने भएकाले बाढीका कारण गुमेको उत्पादन क्षमताको प्रभाव क्रमशः कम हुँदै जाने श्रेष्ठले बताए ।
यसैबीचमा राष्ट्रिय प्रणालीमा नयाँ आयोजनाबाट करिब ३०० देखि ४०० मेगावाट विद्युत् उत्पादन थपिएकाले पनि आपूर्ति व्यवस्थापनमा सहयोग पुगेको उनको भनाइ छ । तर, हिउँदमा नदीमा पानीको बहाव घट्दा आन्तरिक उत्पादनले मात्रै विद्युतको माग धान्न कठिन हुने भएकाले भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहने प्राधिकरणले जनाएको छ ।
श्रेष्ठका अनुसार पछिल्ला तीन/चार वर्षदेखि नै हिउँदको समयमा नेपालले भारतबाट विद्युत् आयात गर्दै आएको छ । यस वर्ष पनि विशेषगरी उच्च माग हुने समयमा भारतबाट थप विद्युत् खरिद गर्ने तयारी भइरहेको छ ।भारतबाट विद्युत् आयातका लागि द्विपक्षीय सम्झौता तथा विद्युत् एक्सचेन्ज बजार दुवै माध्यम प्रयोग गर्न सकिने उनले बताए । उनका अनुसार विद्युत् खरिद गर्न आर्थिक स्रोतभन्दा पनि आवश्यक परेको समयमा बजारमा विद्युत् उपलब्ध हुनु मुख्य विषय हो ।
अहिले ८,५६८ मेगावाट विद्युत् प्राधिकरणकै जलविद्युत गृहहरूबाट भएको उत्पादन भइरहेको छ । त्यस्तै, ८ हजार १२३ मेगावाट प्राधिकरणका सहायक कम्पनीहरूबाट उत्पादन भइरहेको छ । ४३ हजार ३२४ मेगावाट निजी क्षेत्र अर्थात् स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानबाट जोडिएको छ । १८ हजार ९०१ मेगावाट देश बाहिरबाट आयात गरिएको छ । देशभर जम्मा विद्युतको माग ६० हजार ०१४ मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणको व्यावसायिक सञ्चालनको अन्तिम मिति (आरसिओडी) का अनुसार ११८.०५ मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजनाहरू आगामी फागुन ३० गतेभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिसक्ने अपेक्षा गरिएको छ ।
तिहारमा उद्योगको विद्युत् कटौती गर्नुपर्ने अवस्था छैन
तिहारमा घरायसी उपभोक्तालाई विद्युत् उपलब्ध गराउन उद्योग तथा ठूला ग्राहकको विद्युत् कटौती गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणले स्पष्ट पारेको छ । लक्ष्मीपूजाका दिन उद्योगहरू बन्द हुने र व्यावसायिक गतिविधिसमेत सामान्य अवस्थामा भन्दा कम हुने भएकाले घरायसी क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ ।
‘तिहारमा उद्योग र अन्य ठूला ग्राहकको विद्युत् कटौती गरेर घरायसी उपभोक्तालाई दिनुपर्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘मिलिमिली बत्ती बाल्दा पनि केही फरक पर्दैन । विद्युत् आपूर्तिमा समस्या हुँदैन ।’ पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा केही समय विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको विषयमा पनि प्राधिकरणले स्पष्टीकरण दिएको छ । श्रेष्ठका अनुसार उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली (अन्डरग्राउन्ड केबल) विस्तारको काम भइरहेको छ ।
बिछ्याइसकिएका केबललाई सबस्टेसनमा जोड्न तथा आवश्यक उपकरण र ब्रेकर जडान गर्न केही समय विद्युत् आपूर्ति बन्द गर्नुपर्ने हुन्छ । त्यसका लागि प्राधिकरणले पूर्वसूचना दिएर निर्धारित समयका लागि विद्युत् कटौती गर्दै आएको उनले बताए । यस्तो कटौती विद्युत् उत्पादन वा आपूर्ति नपुगेका कारण नभई वितरण प्रणाली सुधार तथा मर्मतसम्भारका लागि गरिएको उनको भनाइ छ ।
‘केबल बिछ्याइसकेपछि त्यसलाई सबस्टेसनमा जोड्नुपर्छ । त्यसका लागि केही समय सटडाउन लिनुपर्ने हुन्छ । हामीले सेड्युल मेन्टेनेन्स सटडाउन भनेर पूर्वजानकारीसहित विद्युत् कटौती गरेका हुन्छौं,’ उनले भने, ‘यो लोड नपुगेर काटिएको होइन । वितरण प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउन गरिएको काम हो ।’
बाढी प्रभावित आयोजनाको पुनःस्थापनाको काम अघि बढ्दै
भोटेकोशी क्षेत्रमा बाढीले क्षति पु¥याएका जलविद्युत् आयोजनाको पुनःस्थापनाका लागि पनि काम अघि बढाइएको प्राधिकरणले जनाएको छ । बाढीबाट प्रभावित आयोजनाहरूको पुनःस्थापनाका लागि प्रारम्भिक रूपमा डेब्रिस (ढुंगा, माटो तथा गेग्रान) हटाउने, फोहोर सफा गर्ने र क्षतिको विस्तृत मूल्यांकन गर्ने काम भइरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार आयोजनाको वास्तविक क्षति पहिचान गरी पुनःस्थापनाका लागि आवश्यक विस्तृत लागत अनुमान (डिटेल्ड एस्टिमेट) तयार गर्ने प्रक्रिया अघि बढाइएको छ ।
प्राधिकरणले आगामी दिनमा विद्युत् आपूर्तिलाई नियमित बनाउनेसँगै गुणस्तरीय र भरपर्दो विद्युत् वितरणलाई प्राथमिकतामा राखेको पनि जनाएको छ । विशेषगरी सहरी क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रमा समेत वितरण लाइनको क्षमता र गुणस्तर सुधार गर्न लगानी बढाउने प्राधिकरणको योजना छ । सामान्य वर्षा, हावाहुरी वा अन्य कारणले पटकपटक विद्युत् अवरुद्ध हुने समस्या कम गर्दै निरन्तर र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य रहेको श्रेष्ठले बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीपहिरोका कारण त्रिशूली-३ ए लगायतका ३० मेगावाट क्षमताका विभिन्न आयोजनामा भएको क्षतिको अझै यकिन तथ्यांक आउन सकेको छैन । वर्षायाम र दसैं-तिहारका कारण समयमै तथ्यांक संकलन हुन नसकेको र तिहारपछि मात्रै स्थलगत अध्ययन तथा पुनर्निर्माणका कामहरू सुरु हुने देखिएको छ ।
ऊर्जा क्षेत्रमा देखिएका विविध आयामबारे चर्चा गर्दै इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले उत्पादनमा आएको उतारचढावबारे स्पष्ट पारेका छन् । उनका अनुसार सुख्खायाममा प्रणालीमा पिकिङको समस्या हुने र करिब ५०० देखि ६०० मेगावाट ड्राइ इनर्जी उपलब्ध भए पनि अझै २ महिना जति भारतबाटै बिजुली आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
निर्याततर्फ गत वर्ष ४० करोडको हाराहारीमा निर्यात हुने अपेक्षा गरिए पनि सोचेजस्तो हुन नसकेको र यसले समग्र राष्ट्रिय अर्थतन्त्र तथा सम्बद्ध डेभलपरहरूको राजस्वमा ठूलो असर पुर्याएको उनले बताए । हाल प्रसारण लाइनमार्फत बाहिर पठाइने विद्युत क्षमता करिब ७९ मेगावाटको हाराहारीमा रहेको र यसमा विभिन्न आयोजनाहरू जोडिएको जानकारी दिइएको छ ।
यस्तै, इप्पानका महासचिव टीएन आचार्यले प्राधिकरण र निजी क्षेत्रबीचको समन्वय तथा संकटको समयमा अपनाइनुपर्ने नीतिगत स्पष्टताको अभावमा तीव्र असन्तुष्टि व्यक्त गरे ।
उनका अनुसार संकटको यो घडीमा क्षतिग्रस्त आयोजनाहरूलाई सहुलियत दिनुपर्ने, छिटो काम सक्न प्रोत्साहन गर्ने वा विशेष प्याकेज ल्याउनुपर्नेमा नेपाल विद्युत प्राधिकरण पुरानै ढर्रामा चलेको छ ।
नयाँ विद्युत खरिद सम्झौता (पीपीए) को प्रक्रिया रोकिएको र पुराना प्रक्रियाहरू पनि झन्झटिलो हुँदा पीडित जलविद्युत प्रवर्द्धकहरू थप मारमा परेका छन् । विपद्बाट तहसनहस भएका आयोजनाहरूलाई उकास्न र राष्ट्रिय ऊर्जा सुरक्षालाई बलियो बनाउन सरकार र प्राधिकरणले विशेष नीतिगत हस्तक्षेप गर्नुपर्ने माग निजी क्षेत्रले जोडदार रूपमा उठाइरहेको छ ।