काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गरेको हो ।
गुल्मीको धुर्कोट-६ मा २०२८ साल मङ्सिर १९ गते जन्मिएका भण्डारी अर्थतन्त्र, मौद्रिक नीति तथा बैंक तथा वित्तीय क्षेत्रका अनुभवी हुन् । उनले नेपालको केन्द्रीय बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेका छन् । मौद्रिक नीति निर्माण, वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षण, आर्थिक अनुसन्धान र संस्थागत व्यवस्थापनमा उनको लामो अनुभव छ ।
भण्डारीले राष्ट्र बैंकमा सन् २०१८ अप्रिलदेखि २०२५ अप्रिलसम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । राष्ट्र बैंकमा रहँदा उनले गैरबैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभाग, मौद्रिक व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरीवेक्षण विभाग, जनशक्ति व्यवस्थापन विभाग तथा संस्थागत योजना र जोखिम व्यवस्थापन विभागको नेतृत्व गरेका थिए ।
त्यसअघि उनले आर्थिक अनुसन्धान विभागमा निर्देशकका रूपमा काम गरेका थिए । त्यस्तै, राष्ट्र बैंकको जनकपुर र नेपालगञ्ज कार्यालयमा व्यवस्थापक तथा उपव्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए । विभिन्न विभागमा उपनिर्देशक र सहायक निर्देशकका रूपमा काम गर्दा उनले मौद्रिक नीति, पुँजी बजार, वैदेशिक व्यापार तथा भुक्तानी सन्तुलनका क्षेत्रमा अनुभव हासिल गरेका थिए ।
केन्द्रीय बैंकिङ अनुभवका अतिरिक्त भण्डारीसँग विभिन्न वित्तीय संस्थाको सञ्चालक तथा नीतिगत तहमा काम गरेको अनुभव पनि छ । उनले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्म सदस्यका रूपमा काम गरेका थिए ।
त्यस्तै, सन् २०१९ देखि २०२० सम्म निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक रहेका उनी नेपाल ग्रामीण विकास बैंकको सञ्चालकसमेत भएका थिए । पाँचवटा क्षेत्रीय ग्रामीण विकास बैंकको संयुक्त मर्जर समितिमा पनि उनले सदस्यका रूपमा काम गरेका थिए ।
सन् १९९६ मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएका उनले महेन्द्र विद्याभूषण 'ख’, तारापद चौधरी स्वर्ण पदक (गोल्ड मेडल) र खगेन्द्रमान सिंह प्रधान स्वर्ण पदक (गोल्ड मेडल) प्राप्त गरेका थिए ।
त्यसपछि उनले बेलायतको ब्राडफोर्ड विश्वविद्यालयबाट सन् २००६ मा अन्तर्राष्ट्रिय अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । यसअघि सन् १९९८ देखि २००० सम्म पाटन बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकका रूपमा अध्यापनसमेत गरेका थिए ।
भण्डारीले अन्तर्राष्ट्रिय मुद्रा कोष, फेडरल रिजर्भ बैंक अफ न्यूयोर्क, एसियाली विकास बैंक तथा स्विस नेसनल बैंकलगायतका अन्तर्राष्ट्रिय संस्थाबाट मौद्रिक नीति, वित्तीय अनुशासन र बृहत् सावधानीसम्बन्धी नीतिमा उच्चस्तरीय तालिम लिएका छन् । अन्तर्राष्ट्रिय वित्तीय संस्थाका तालिम तथा कार्यक्रमबाट उनले मौद्रिक व्यवस्थापन र वित्तीय स्थायित्वसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासको अनुभव हासिल गरेका छन् ।
उनका नेपालको सम्भाव्य उत्पादन, उत्पादन अन्तर तथा लगानीसम्बन्धी खोजमूलक अनुसन्धानपत्रसमेत प्रकाशित छन् । अर्थतन्त्रको संरचना, मौद्रिक नीति र वित्तीय क्षेत्रसँग सम्बन्धित अनुसन्धानमा उनको विशेष रुचि रहेको छ ।