काठमाडौं । भोटेकोशीको बाढीबाट प्रभावित भएका बालबालिका तथा महिलाहरू बेचबिखनमा पर्ने जोखिम बढेको छ ।
द्रुत लेखाजोखा अध्ययन समितिले पनि बाल विवाह, बाल श्रम तथा महिला र बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिम बढ्ने औंल्याएको छ ।
'विपद्को अवस्थालाई अवसरका रूपमा प्रयोग गरी अपरिचित व्यक्तिले राम्रो काम, शिक्षा वा सुरक्षित बसोबासको प्रलोभन देखाएर बालबालिका तथा किशोरीलाई अन्यत्र लैजान सक्ने जोखिम रहेको छ,’ प्रतिवेदनमा भनिएको छ,’ मानव बेचबिखनको जोखिममा रहेका रसुवा तथा नुवाकोट जिल्लामा बाढीपछिको विस्थापन तथा कमजोर पारिवारिक अवस्थाका कारण थप जोखिम हुन सक्ने छ ।'
घरबारविहीनता, परिवारको आर्थिक संकट, अभिभावकको मृत्यु वा छुट्टिनु तथा विद्यालय सञ्चालनमा आएको अवरोधले थुप्रै सामाजिक समस्या आउनसक्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।
बालबालिकाको सामाजिक तथा आर्थिक अवस्थालाई समेत रसुवामा आएको बाढीले प्रभाव पारेको प्रतिवेदनले औल्याएको छ । 'बाल विवाह, बाल श्रम, बालबालिका बेचविखन तथा ओसारपसारको जोखिम बढ्न सक्नेछ,’ लेखाजोखा प्रतिवेदनमा बताइएको छ ।
विद्यालय नियमित सञ्चालनमा नआउँदा बालबालिकाको दिनचर्यामा ठूलो परिवर्तन प्रतिवेदनको भनाइ छ । अस्थायी आश्रयस्थलमा लामो समयसम्म बस्नुपर्ने, नियमित सिकाइबाट टाढा रहनुपर्ने तथा परिवारको जीविकोपार्जनमा संकट आउने हुनाले भविष्यमा बालबालिका बाल श्रममा संलग्न हुनसक्ने आउने प्रतिवेदनमा लेखिएको छ ।
रसुवामा भदौँ १० गते आएको बाढीपछि सरकारले महिला तथा बालबालिकाको जोखिम बुझ्न द्रुत लेखाजोखा अध्ययन समिति बनाएको थियो ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लाका बाढी प्रभावित बालबालिकाको अवस्था र तत्कालको आवश्यकता, बाल संरक्षण सम्बन्धी जोखिम, अत्यावश्यक सेवामा पहुँच स्वास्थ्य, शिक्षा, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, लैंगिक हिंसा, सुरक्षित आश्रयस्थल तथा स्थानीय संरक्षण तथा सिफारिस संयन्त्रको अवस्था पहिचान गर्न द्रुत लेखाजोखा अध्ययन गर्न समिति बनेको थियो ।
विशेषगरी समितिले अपांगता भएका बालबालिका, परिवार गुमाएका, विछोडिएका वा आफन्त गुमाएका, साथमा कोही आफन्त नभएका बालबालिका महिला तथा किशोरी गर्भवती तथा सुत्केरी महिला तथा अन्य जोखिममा रहेका समूहको आवश्यकता तथा प्राथमिकतामा विशेष ध्यान दिएर अध्ययन गरेको छ ।
अध्ययन समितिले भेदौँ १५ गतेदेखि १९ गतेसम्म अध्ययन सिमितिले लेखाजोखा गरेको थियो । प्रतिवेदन तयार गर्न प्रतिवेदन तयार गर्न संयोजक रामबहादुर चन्द अधिकृत, राष्ट्रिय बाल अधिकार परिषद् , सह-संयोजक रामप्रसाद गौतम, बाल संरक्षण अधिकृत युनिसेफ नेपाल , सदस्य सरोज केसी, सल्लाहकार, बाल संरक्षण तथा बाल अधिकार शासन, सेभ द चिल्ड्रेन , सदस्य निरिजना भट्ट, कार्यक्रम व्यवस्थापक, सिविन नेपाल, सदस्य अन्जु पोखरेल, बरिष्ठ कार्यक्रम संयोजक, युथ एलायन्स फर इन्भारोमेण्ट र कार्यक्रम व्यवस्थापक, कन्सोर्टियम नेपाल सदस्य सचिव गौरव के। सी रहेका थिए ।