नाका र राजमार्ग युद्धस्तरमा खुलाउन सांसद अधिकारीको माग

फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले बाढी–पहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सीमा नाकाहरू तत्काल युद्धस्तरमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले सडक तथा नाका अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको भन्दै अन्तरमन्त्रालय समन्वय गरेर आपूर्ति व्यवस्था तत्काल सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

भोटेकोशीमा आएको बाढीले नागरिकको बाँच्ने आधार र वर्षौंको मेहनतबाट बनेका संरचनामा गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै उनले विपद्का कारण जनजीवन थप संकटमा पर्न नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताइन् ।

अधिकारीका अनुसार तातोपानी र रसुवागढी नाका बन्द हुँदा ठूलो परिमाणमा आयात–निर्यात प्रभावित भएको छ । त्यस्तै, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध हुँदा अर्बौं रुपैयाँ बराबरका सामान बाटोमै रोकिएका छन् ।

उनले सडक र नाका लामो समय अवरुद्ध रहँदा बजारमा वस्तुको अभाव र मूल्यवृद्धिको जोखिम बढ्ने भन्दै त्यसको प्रत्यक्ष मार नागरिकमाथि पर्ने बताइन् ।

‘जनता विपत्तिमा छन्। नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन सरकारले तत्काल कदम चालोस्,’ उनले भनिन् ।

अधिकारीले उद्धार तथा राहतसँगै अवरुद्ध पूर्वाधार पुनः सञ्चालन र आपूर्ति प्रणालीलाई नियमित बनाउन सरकारको प्राथमिकता केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

Share News